कोशीमा मन्त्रीमण्डल विस्तार हुँदै, आजै शपथ
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार (आज) सरकालाई पूर्णता दिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले सहकर्मी दलहरूसँग छलफल गरेर सरकार विस्तार गर्ने तयारी गरेका हुन्।
गत असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले प्रदेशको नेतृत्व सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिन आँटेका हुन् ।
कार्कीले सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थालेको स्रोतले जनाएको छ । उनका अनुसार माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्ने भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । कांग्रेसकी इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्री कार्कीको तयारी छ ।
बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालय पाउने भएक छन् । कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्य मन्त्रालय पाउने छन् । स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ । कांग्रेसकी इन्दिरा थापा स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले पाउने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले अन्नपूर्ण पोष्टलाई जानकारी दिए ।
उनका अनुसार दिउँसो ३ बजे मन्त्रीमण्डल विस्तार हुनेछ भने नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने राईको भनाइ छ ।
नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका ईन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व सम्हालेका थिए । कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । असोज २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिए । उनलाई राप्रपाका ६ सांसदबाहेक सबैले विश्वासको मत दिएका थिए ।
आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिनपछि कार्कीले कात्तिक १७ गते माओवादीबाट गणेशप्रसाद उप्रेती ‘सुशील’ र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबगुलाई मन्त्री पदमा नियुक्त गरे ।
उनीहरूलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए । एमालेबाट मगरले राजीनामा दिएसँगै मन्त्रीमण्डल चार सदस्यमा सीमित भयो ।
नियुक्त भएका मन्त्रीहरू राई, जबेगु र उप्रेतीले पनि लामो समय बिनाविभागीय बस्नु परेको थियो । कार्कीले उनीहरूलाई मंसिर १७ गते जिम्मेवारी दिए ।
जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून, जबेगुलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।