प्रधानमन्त्रीलाई अल्लोको टोपी उपहार, स्थानीय उत्पादनलाई बजारीकरण गरिदिन आग्रह
![प्रधानमन्त्रीलाई अल्लोको टोपी उपहार, स्थानीय उत्पादनलाई बजारीकरण गरिदिन आग्रह](https://annapurnapost.prixacdn.net/media/albums/prachand1_hXoH97fEDb_zcIkXdwQhO.jpg)
कालिकोट : अल्लो खेती गर्ने उद्यमीहरू यतिबेला खुशी छन् । आफूहरूले उत्पादन गरेका अल्लोका टोपी,खादा,दोसल्ला,कोट,दौरा सुरुवाल सिलाउने काचो कपडाबाट बनेका सामानहरूको स्थानीय सरकारले राष्ट्रियरुपमै प्रचार-प्रसार तथा प्रवर्द्धनमा जोड दिएपछि उनीहरू खुशी भएका हुन् । नरहरीनाथ गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू यतिबेला अल्लोको प्रचार गर्न काठमाडौंमा केन्द्रित छन् । उनीहरूले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटघाट गरेका छन्।
सोही क्रममा गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अल्लोबाट बनेको टोपी र दोसल्ला उपहार दिए। प्रधानमन्त्रीलाई उपहार दिँदै अध्यक्ष विष्टले भने,' हाम्रा किसानले उत्पादन गरेका सामानहरूको बजारीकरण गरिदिन भेट्न आएका हौं ।'
प्रधानमन्त्री दाहालले आफ्नो शिरको टोपी झिकेर अल्लोको टोपी लगाउँदै भने,' म खुशी छु । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको अल्लोको कपडाले बुनेको टोपी,खादा नासोको रुपमा देशको प्रधानमन्त्रीकहाँ पुग्नु मेरा लागि गौरवको विषय हो । मैले कालीकोटको नरहरीनाथमा रहेको सुनथराली बिमानस्थलमा प्लेन लिएर आफैं जान खोजेको हो । अब योभन्दा अगाडि ढाँटेजस्तो भएपनि फागुन महिनामै प्लेन लिएर आउनेछु, ढुक्क रहनुहोला ।'
प्रधानमन्त्रीले सरकारकातर्फबाट गरिने गौरवका आयोजनामा कुनै कमी हुन नदिने आश्वासन दिए। उनले स्थानीय सरकारले आफूलाई जनमुखी र लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीसँगको भेटमा जनप्रतिनिधिहरूले अल्लोबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा विस्तार गर्न सके रोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने बताए। नरहरीनाथ गाउँपालिकाले आयातित वस्तुमा बन्देज लगाउँदै स्थानीयस्तरबाट उत्पादित सामानको प्रयोगमा जोड दिएको छ।
गाउँपालिकाका उपाध्यक्ष कमल विक्रम शाहले भने बजारका खादा खरिद गर्दा प्रत्येक वर्ष गाउँपालिकाको लाखौं बजेट खर्च हुने गरेको बताए। 'स्थानीयस्तरमा उत्पादित सामानको प्रयोग हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएका नरहरीनाथ गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले अल्लोको टोपी,फेटा,कोट,दौरा सुरुवाल, स्टकोट लगाएर एकै पहिरनको पोशाकमा गाउँपालिकाको परिचय दिएका छौं । 'उनले स्थानीय तहमा आयोजना हुने हरेक कार्यक्रममा प्रयोग हुने सामानहरु स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको बताए।
गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जिल्लामा सडक निर्माण,जलविद्युत ,अस्पताललगायत अति आवश्यक विषयमा छलफल गर्न गाउँपालिकाको टोली राजधानी काठमाडौं गएको बताए। उनले भने,'निर्माण भइसकेको एयरपोर्टमा चिलगाडी बसाल्ने, लालिघाट, कोटबाडा, कुमालगाउ, रुप्सा, माल्कोट, लालुहुँदै खुलालु जोड्ने रिंगरोड निर्माणका लागि बजेट व्यवस्थापन गर्नुका साथै सडक निर्माणमा लाग्ने बिस्फोट पदार्थको टुंगो लगाउन, मान्म कोटदरवार कोटवाडा जोड्ने केवलकार,१५ शैह्याको अस्पताल निमार्णका विषयमा घचघचाउने,अन्तरप्रदेशिय सडक निर्माणका विषयमा बजेटको व्यवस्थापन गर्ने,तीन वर्ष अगाडि शिलान्यास भएको धाँचुखोला जलविद्युत निर्माणको कार्य सञ्चालन गर्ने लगायतका विषयहरूमा छलफल तथा भेटघाट गर्न गाउँपालिकाको टोली प्रत्येक मन्त्रालय पुगेको छ।'
आर्थिक वर्ष २०७९/८० का लागि उपभोक्ता हित संरक्षण कार्यालय कालीकोटले तालिम सञ्चालन गर्न एक लाख पचास हजार अल्लो उद्यमीहरूलाई आर्थिक सहयोग गरेको उद्योग विकास शाखा प्रमुख दिपेन्द्र विष्टले बताए । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् नरहरीनाथ गाउँपालिकाअन्तरर्गत उद्योग विकास शाखाको वार्षिक कार्यक्रम अनुसार नरहरीनाथ गाउँपालिका वडा नं.४ भाटगाउँमा रहेको नन्दामाता अल्लो प्रशोधन लघुउद्यमी समूहलार्ई गाउँपालिकाले अनुदानमा अल्लो प्रशोधन मेसिन लगाउतका सामानहरू उपलब्ध गराएको छ।
स्थानीय किरण विष्टका अनुसार उत्पादन गरेका अल्लोका सामानहरू गाउँपालिकाले खरिद गरेर रोजगारीको सृजना समेत गरेको बताए। यस्तै अन्य ठाउँमा पनि गाउँपालिकाले बेरोजगार युवाहरूको समूह गठन गरि कार्यक्रमहरू उपलब्ध गराएको खण्डमा युवा पलायन रोक्न सकिने बताए। चालु आर्थिक वर्षमा करिब एक हजार टोपी,एक हजार पाँच सय खादा,दोसल्ला,काचो कपडा उत्पादन भएका छन् । पछिल्लो समय अल्लोका टोपी,खादा अन्य जिल्लामा पनि माग भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)