कालीकोटका चार स्थानीय तहमा जनयुद्धका नाममा सार्वजनिक बिदा
![कालीकोटका चार स्थानीय तहमा जनयुद्धका नाममा सार्वजनिक बिदा](https://annapurnapost.prixacdn.net/media/albums/Janayuddha_OW4XLh13lC_D03TNbQyts.jpg)
कालीकोट : कालीकोटको चारवटा स्थानीय तहले पनि सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
जिल्लाको पँलाता गाउँपालिका, राष्कोट नगरपालिका, पँचालझरना गाउँपालिका र महावै गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि आलोचना हुन थालेको छ। पलाँता गाउँपालिका-५ का वडाध्यक्ष तिलक बमले सर्वोच्च आदेश नमानेर बिदा दिनु उचित नभएको बताए। उनले पालिकाले बिदा दिएको भए पनि वडाका कार्यालय बन्द नहुने बताए। पँचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही अग्नीले कार्यपालिकाको बैठक बसेर बिदा दिने निर्णय गरिएको बताए।
यसअघि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश दिएको थियो।
जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत पुस १३ गते आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)