मोरङमा आमा-छोरीमाथि खुकुरी प्रहार, पेस्तोलसहित एकजना पक्राउ

मोरङमा आमा-छोरीमाथि खुकुरी प्रहार, पेस्तोलसहित एकजना पक्राउ
तस्बिर : अन्नपूर्ण

 विराटनगर : मोरङको केराबारीमा आमा- छोरीमाथि बिहीबार बिहान खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राई घाइते भएका छन् । खुकुरी प्रहारबाट दुवैजनाको टाउको,अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनीहरुलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । 

आमा-छोरीमाथि लेटाङ नगरपालिका–१ का अन्दाजी ५२ वर्षीय नीरकुमार राईले बिहान ९:३० बजेतिर खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार खुकुरी हान्ने नीरकुमार जमुनादेवीका भान्जा हुन् । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

‘नीरकुमारसँग सम्बन्ध विच्छेद गरेर श्रीमतीले दोस्रो बिहे गरिछन् । आफूबाट अलग बनाएर श्रीमतीको दोस्रो बिहे गराइदिएको आरोप उनले माइजूलाई लगाउँदै आएको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘माइजूलाई आक्रमण गर्नका लागि नीरकुमार खुकुरी र पेस्तोल बोकेर घरमै पुगेका थिए । घरमै पुगेर पेस्तोल ताक्दै खुकुरीले प्रहार गरेको पाइयो ।’ 

पेस्तोल भने प्रहार नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरुमा उनले माइजू जमुनादेवीलाई खुकुरीले हानेका थिए । त्यसपछि छुट्याउन गएकी रेणुकालाई पनि प्रहार गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार हुन थालेपछि जमुनादेवीका परिवारले प्रतिकार गरेका थिए । प्रतिकारबाट नीरकुमारसमेत घाइते भएको प्रहरीको भनाइ छ । 

अनुहारमा चोट लागेका उनलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीले उपचारका लागि नगर अस्पताल बेलबारीमा भर्ना गरेको छ । प्रहरी नियन्त्रणमा उपचार गराइरहेका उनी बोल्न सक्ने अवस्थामा छैनन् । माइजू र बहिनी (माइजूकी छोरी) लाई खुकुरी हानेका आरोपीको साथबाट एउटा सक्कली र अर्को नक्कली पेस्तोलसमेत फेला परेको छ । 

एसपी पोखरेलका अनुसार नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको उनले बताए । सक्कली र नक्कली पेस्तोल तथा घटनामा प्रयोग गरिएको खुकुरीसहित नीरकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.