नवयुवाहरूका उत्पीडनको कथा

नवयुवाहरूका उत्पीडनको कथा

सुन्दर भाषा, परिपक्व शिल्प, सलल बगेको मर्मस्पर्शी कथामार्फत् किशोरवस्थाका नवयुवाहरूलाई लक्षित गरेर लेखिएको हरिहर तिमिल्सिनाको पहिलो उपन्यास हो ‘कखरा’। लामो समयदेखि शिक्षण पेसामा आबद्ध तिमिल्सिनाको भोगाइ, देखाइ र अनुभवलाई आधार बनाएर कथा बुनिएको छ। उपन्यासमा तपाईँ आफ्नै कथा, छोराछोरीका कथा र विद्यालयमा पढ्दै गरेका लाखौँलाख बालबालिकाले विभिन्न विद्यालयमा भोगिरहेको व्यथा महशुस गर्न सक्नुहुन्छ। शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट प्राप्त गरिनुपर्ने सिकाइ कुनै एकको अस्तित्व बिना धरापमा पर्न सक्छ। शिक्षक परिवर्तनका संवाहकमात्र होइनन्, औजारसमेत हुन्। नम्बरले बालबालिकाको दिमाग नाप्ने होइन, बरु जीवनोपयोगी सिप सिकाउने र मूल्यांकन पद्धति परिवर्तन गर्नुपर्ने बहस उपन्यासले औंल्याउँछ। 

समाजमा वर्गीय विभेद् छ, खाडल छ। सरकार आफैंले दुई खालको शिक्षा सञ्चालनमा ल्याएको छ। सामुदायिक र संस्थागत विद्यालयका नाममा दिइने शिक्षा। लेखकले यी दुवैथरी सरकारी र निजी विद्यालयका कमजोरी र अवगुणलाई गहिरो गरी खोतल्नुका साथै एक आदर्श विद्यालयको कल्पना गरेका छन्। 'विद्यालयहरू दुईथरी हुँदा रहेछन्, एकथरी स्कुल जागिर खान र खुवाउनका लागि खोलिएका छन् भने अर्कोथरी स्कुल पैसा कमाउन' उपन्यासमा भनिएको छ। 
लेखकले उपन्यासमा शिक्षण पद्धतिमा नयाँ दृष्टिकोण दिने प्रयास गरेका छन्। फरक-फरक तीन विद्यालयका भोगाइ प्रस्तुत गरिएको छ। उपन्यासमा ‘पुस्तक’को सुन्दर बिम्ब प्रयोग गरिएको छ। हास्यरसको भरपुर प्रयोग गरिएको छ। उपन्यास पढेर सकेपछि लाग्छ, जिज्ञासा र उत्साहले भरिपूर्ण बालमनोविज्ञानको अध्ययन गरेर धैर्यपूर्वक मनभित्र पसी पीडा, मर्म बुझ्न न अभिभावकले खोज्छन्, न शिक्षकले। उपन्यासको बाहिरी आवरण नियाल्दा घर विद्यालय सबैतिरबाट दिइने अर्ती, उपदेश, गाली, अनुशासनका नियम कानुनबाट प्रताडित किशोर पीडाको भारीले किचिएर चिन्ताको गहिरो खाडलमा डुबिरहेको भान हुन्छ।

कथावस्तु
उपन्यासमा एक विद्यार्थीलाई (सफल) नम्बर कम ल्याएको निहुँमा सरकारी स्कुलबाट बोर्डिङ स्कूल पठाइन्छ। बोर्डिङ स्कुलको होस्टलमा सम्पन्न अभिभावक मिठामिठा खानेकुरा, खेलौना लिएर हरेक शनिबार भेटन आउँछन्। तर, सफलका बाआमा न भेट्न आउँछन्, न बिदामा लिन। ऊ मनमनै कल्पिन्छ 'यो पापी शनिबार कहिल्यै नआइदियोस।' विद्यार्थीलाई होस्टलको डे बोर्डस्, टुर, विभिन्न कार्यक्रम आदिले गर्दा अतिरिक्त आर्थिक र मानसिक भार पर्ने देखाइएको छ। जब विद्यालयहरू सेवामूलक नभएर व्यापारमूलक हुन्छन्। सफलजस्ता पिँध वर्गका, गरिब, निमुखा बालबालिकाहरू झनै पीडित बन्छन्। 

हरेक अभिभावकले आफ्ना सन्तानको उज्वल भविष्यको सपना देखेर विद्यालय पठाउँछन्। विद्यालयको वातावरण अनुरुप उमेरसँगै सन्तानले शिक्षा लिँदै जान्छन्। नेपाली समाज पढने पढाउने कुरालाई अत्यन्त ठूलो मान्ने समाज हो। अझै पनि छोराछोरीहरू डाक्टर, इन्जिनियर बनून भन्ने सोचाई आम अभिभावकको छ। आमाबाबुको इच्छा, आकांक्षा पूरा गर्न बालबालिकालाई माध्यम बनाइनु राम्रो होइन। उनीहरूलाई पढाई बाहेकका अतिरिक्त रुचीमा ध्यान दिइँदैन। चेस खेल्न मन पराउने सफल खेलाडी पनि बन्नसक्थ्यो। शिक्षकसँग निर्धक्क साथीको जस्तो व्यवहार गरेर बोल्न सक्दैनन्। सफल र उसका साथीहरू घरीघरी अभिभावक र शिक्षकसँग प्रश्न गरिरहन्छन्। प्रश्न सोध्दा उल्टै बकबक गरेको, जान्ने पल्टेको उपमा लगाइन्छ। अझैपनि हाम्रो समाजमा अंग्रेजी शासकको शासन गर्ने तरिका (spare the rod, spoil the child) डर, धाक, धम्कीबाट विद्यार्थीलाई अनुशासित बनाउन खोजिन्छ। बालबालिकासँग मित्रवत् व्यवहार गरेर सौहार्दपूर्ण सम्बन्ध राख्दा पुलपुलिन्छन भन्ने मान्यता छ। उपन्यासमा परंपरागत ‘सुगारटाइ’बाट अबको सिकाइ परिवर्तन गर्नुपर्ने सुझाइएको छ। परीक्षा एउटा वार्षिक प्रक्रिया हो भन्ने कुरालाई सामान्य तरिकाले परिभाषित नगरेर विद्यार्थीलाई परिक्षाको डर र त्रासबाट मुक्त गर्नुपर्ने कुरा उठाइएको छ। 

विद्यार्थीको पढाई कमजोर हुनु भनेको शिक्षक र विदयार्थी दुर्व दोषी हुनु हो। विद्यालयको कडा डयुटी, रुटिन, अनुशासनको नियम कानुनले विद्यार्थीको सिर्जनात्मक क्षमता ह्रास आइरहेको त छैन? कतै उनीहरूलाई किताबको किरोमात्र बनाइएको त छैन? मानिसलाई शिक्षाले सिप, संस्कार प्रदान गरेर आत्मनिर्भर, उत्पादनशिल नागरिक बनाउनुपर्ने हो। तर, हामी झनै परनिर्भर, पराश्रित हुनुको कारण कतै हाम्रै शिक्षा त होइन? पुस्तकले अनेकौं जिज्ञासा उत्पन्न गराउँछ। सफललाई सरकारी विद्यालयबाट शिविर स्कुल पुर्‍याइँदा व्यवस्था फेरिए पनि अवस्था उस्तै हुन्छ। शिविर स्कुल छाडेर प्रेम शिविर सम्म पुग्दाको सफलको यात्रा संघर्षपूर्ण छ। ‘पढेरमात्र होइन परेर पनि सिकिन्छ’ भन्ने उक्ति यहाँ पुष्टि भएको छ। प्रेम शिविरलाइ एक आर्दश विद्यालयका रूपमा देखाइएको छ। सबैले सबैलाई सम्मान र समान  व्यवहार गर्छन्। विद्यार्थी आफैंले सिप सिकेर उत्पादनमूलक कार्यमा सहभागी हुन पाइने। जहाँ दिमागलाई अंक र अक्षरद्वारा नापिँदैन। अरूलाई देखाउन, खुसी पार्न, पुरस्कार जित्न पढिँदैन। गाली होइन, हौसला दिइन्छ। कसैको कसैसँग तुलना गरिँदैन। मायाको, सहयोगको र सिकाइको वातावरण छ। जहाँ सफलले स्नातक तहसम्म अध्ययन गर्‍यो। शिक्षाको र जीवनकै कखरा सिक्यो। जीवनको नयाँ सुरुवात त्यही पढाएर गर्‍यो। देशका अन्य स्थानमा पनि शाखाहरू खोल्यो। देशको युवा जनशक्ति वैदेशिक रोजगारमा आकर्षित भइरहेको समयमा सफललाई देशमै सेवा गरेको देखाइएको छ। उपन्यासको प्रारम्भ कौतुहलताबाट सुरु भएको छ, अनि कौतुहलतामा गएर टुंगिएको छ। 

पात्रहरू
आख्यानलाई जीवन्तता दिने माध्यम नै पात्रहरू हुन्। यस उपन्यासका घटना वा वस्तुरचनाका माध्यम पस्किने अधिकांश पात्रहरू नवयुवा छन्। हरेक पात्रको उपस्थिति आ-आफ्नो भूमिका निर्वाहमा न्याय गरेका छन्।

सफल
मूल पात्र सफलका जीवनका उतार चढाव, घटना र मोडहरूले उपन्यासलाई रोचक र सशक्त बनाएको छ। सफल भन्छ, 'किन सानाको दुःख कसैले नसुनिदिने, हामीले ठुलाको दुःख मात्र सुन्नुपर्ने।' सफललाई कोर्स इतरका पुस्तक पढ्न, चेस खेल्नमा रुचि छ। कोर्सबुक नरटेर अन्य पुस्तक पढ्दा ऊ र उसका साथीहरू घर विद्यालय जहीँतहीँ मानसिक, शारीरिक दुर्व्यवहार भोग्न बाध्य छन्। फरक विद्यालयमा फरक अनुभव, अनुशासनका नियम कानुन, सिकाइ, भिन्न भिन्न शिक्षकका भिन्न व्यवहार, अलग साथीहरूबीच कथा घुमिरहन्छ। ऊ स्कुल पढदै गरेका आम नेपाली युवाहरुको प्रतिनिधि पात्र हो।

प्रेमसर अर्थात् प्रेकुरा
उपन्यासमा प्रेमसर मुख्य पात्रको उद्देश्य प्राप्तिका निम्ती उदाएका छन्। विद्यार्थीलाई साथीजस्तो व्यवहार गर्ने, प्रश्न गर्न प्रेरित गरिरहने उदाहरणीय शिक्षक। जसको बोली र व्यवहारले विद्यार्थीहरूलाई मोहनी लगाउँछ, नयाँ जीवन दिन्छ। उनी भन्छन्, 'सिप, संस्कार र स्वावलम्बन नसिकाउने शिक्षाको काम छैन। जीवनमा जे गरिन्छ, त्यो अरुलाई देखाउन होइन, आफूलाई खुसी पार्न मेहनत गर्नुपर्छ। कर्म नै सबैभन्दा ठूलो परीक्षा हो। बालबालिकालाई अनावश्यक बोझ, अर्ती, उपदेश र अनुशासनका नाउँमा थोपरिएका विभिन्न ढर्रा हटाउनुपर्छ। 

मोनिका
वर्तमान समयकी सांसद्। एक सशक्त जुझारु नारी पात्र। उसको कथाभित्र थुप्रै उपकथाहरू जोडिएका छन्। जनयुद्धको प्रभावबाट पीडित परिवार। वर्गविहीन समाज निर्माणको यात्रामा, परिवर्तनको आशा लिएर अन्याय, अत्याचार र शोषण हटाउन छापामार युद्धमा लागेको बाबु युद्धमा मारिएपछि ऊ बाल विवाहको शिकार हुन्छे। पढाइ बिग्रन्छ। स्कुल छाड्न बाध्य हुन्छे। सत्ता र शक्तिमा रहेका शासक वर्गले सोझा साझा जनतामाथि कसरी शासन गर्छन् र सर्वसाधारण जनता अत्याचार र अन्यायको थिचोमिचोमा कति सजिलै पर्न बाध्य पारिन्छन् भन्ने ज्वलन्त उदाहरण हुन् मोनी र उसका साथीहरू। आम नारी पात्रभन्दा फरक भूमिकामा मोनिकालाई प्रस्तुत गरिएको छ। 

सिपियु
सफलको स्कुले जीवनमा भेटिएको भिलेन पात्र। सन्तानका लागि जवानी बेच्न विवश आमा र पसिना बेच्न बिदेसिएको बाबुको सन्तान। जो दृष्टि गुमाएर घर फिर्छ। विखण्डित पारिवारिक माहौलबीच स्कुल जाने अवसर त पाउँछ जीवनपर्यन्त एक्लो जीवन बाँच्न विवश छ। उसको दर्दनाक कथाले जोसुकैका आँखा रसाउँछन्। कथाको अन्त्यतिर स्कुल देख्यो कि जलाइदिन्छु, भत्काइदिन्छु मात्र भनी बस्छ। यस्ता पात्र समाजमा विरलै देख्न सकिन्छ।

घनु काका
माया नपाएर एक्लिएको सनकी पात्र। भित्र नरम, बाहिर कडा। बालबालिकालाई अनावश्यक दुःख दिइरहने। केटाकेटीलाई जिस्काएर, थर्काएर हैरान बनाउने। हेपेर बोल्ने। 'ए बाख्रीका पोइ कता हिँडिस्?'जस्ता संवाद बोल्ने। दाह्री दलेर हैरान बनाउने। घनु काकाजस्ता पात्र तपार्इँ हामीबीच यतैकतै हुन सक्छन्, जसले बालबालिकालाई अनावश्यक टर्चर दिइरहन्छन्। 

बाआमा
निम्नवर्गीय नेपाली समाजका एक जोडी किसान परिवार। आफ्ना इच्छा आकांक्षा, सपना सन्तानबाट पूरा गराउन दुनियाँका अगाडि घरखेत बेचेरै छोरो बोर्डिङ स्कुल पठाउँछन्। पितृसत्ताको जाँतोमा पिल्सिएकी आमा। पितृसत्ताकै आडमा हुर्केको बाबु। उनीहरूले बाँचेको समाजमा हिंसा सबैको साझा भोगाइ हुन्छ। बिना दुर्व्यवहार बाँच्न पाउने हकसहितको मान्छे म हुँ भन्नेसम्म थाहा हुँदैन। सन्तानले जसरी हुन्छ नम्बर ल्याउन्, डाक्टर, इन्जिनियर बनुन् भन्ठान्ने आम अभिभावकका मनोवृत्ति बोकेका पात्र।

केही शक्ति केही सीमा
समग्रमा उपन्यास पढिसकेपछि पाठकलाई शिक्षासँग सम्बन्धित अनेकन प्रश्न मनमस्तिष्कमा उब्जन सक्छन्। विद्यार्थी जीवनका यावत कुरा समेटिएको छ उपन्यासमा। यति हुँदाहुँदै पनि मेरो पाठकीय बुझाइमा केही पक्षहरू कताकति अमिल्दा लागिरहे। सफलका बाआमाको छोरालाई शिविर स्कुल पढाउँदाको रुवाबासी अलि बढी नाटकीय लाग्छ। उसलाई अलि बढी दार्शनिकरूपमा प्रस्तुत गरिएको छ। ऊ मोनीसँग भन्छ, 'भोक खान्छु, आँसु पिउँछु, बाआमा, साथीहरू अनि तिम्रो यादहरू ओढेर सुत्छु।' सफललाई शिक्षा शिविरबाट निस्केर प्रेमपुर पुग्न महिना दिन बढी लाग्छ। पुस्तकमा जनयुद्धबारे जम्माजम्मी एक शीर्षक छ।

इतिहासको कालखण्डमा जनयुद्धले छाडेको प्रभाव र घटनाक्रमबारे बताउन अरू एक दुई शीर्षक बढी लम्ब्याउन सकिन्थ्यो। पाठयक्रमका कोर्सका पुस्तकलाई अलि कम महत्त्व दिइएको छ। उपन्यासमा अभिभावक, शिक्षक र विद्यालयप्रति प्रश्न उठाइएको छ तर प्रशासनिक पक्ष, शिक्षा नीति, शिक्षामा बजेट लगानीका कुरा उल्लेख छैनन्। त्यस्तै विद्यार्थीलाई प्रेमपत्र लेख्न सिकाइन्छ, प्रेम गर्न उत्सुक बनाइन्छ तर किशोरवयका विद्यार्थीका लागि यौन शिक्षाका कुरा उल्लेख छैनन्। 

निष्कर्ष
अन्ततः नेपाली साहित्यमा किशोरवस्थाका बालबालिकाहरूको मनोविज्ञान अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्। एक आर्दश विद्यालयको परिकल्पना यहाँ गरिएको छ। उपन्यासले हाम्रो देशको शिक्षाको समग्र विकृति विसंगतितर्फ इंगित गर्दै सुधारका सम्भावनासमेत देखाएको छ। शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढनैपर्ने पुस्तकको सूचीमा कखरालाई राख्न सकिन्छ। यस उपन्यासलाई नेपाली आख्यानका क्षेत्रमा आख्यानका दृष्टिले मात्र नभई शिक्षामा सुधार गर्ने दस्तावेजका रूपमा समेत महत्व राख्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.