होला कांग्रेसमा आमूल परिवर्तन ?

होला कांग्रेसमा आमूल परिवर्तन ?

सिद्धान्तहीन गठबन्धन गर्नुहुन्न भन्ने आमकार्यकर्ताको आवाज भए पनि सत्ताकेन्द्रित गठबन्धनले सोचेजस्तो परिणाम दिन सकेन।

पार्टीमा योगदान र कामका आधारमा मूल्यांकन हुनुपर्छ। ‘गुटका आधारमा होइन कि उसले कति काम गरेको छ ? त्यसका आधारमा मूल्यांकन गर्ने प्रणालीको व्यवस्था गर्न जरुरी छ। कुनै पनि पदीय जिम्मेवारी दिँदा पनि व्यक्तिको अनुहार हेरेर होइन, उसको दक्षता र क्षमताका आधारमा दिनुपर्छ। ‘कसैलाई काखा र कसैलाई पाखा नगरौं’, ‘व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज र नेता होइन, नीतिको मूल मर्म र आदर्श’मा आधारित नैतिक मूल्यमान्यता सहितको राजनीतिको सुरुआत गर्न नेपाली कांग्रेसले ढिलो गर्नुहुन्न। पार्टीमा विकृति, विसंगतिको अन्त्य गरी विधि, नियम, प्रक्रिया र सामूहिकताको आधारमा चल्नुपर्छ।

देश भ्रष्टाचारले आक्रान्त छ। जतासुकै भ्रष्टाचारका काण्डले जनतामा निकै आक्रोश बढेको छ। भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेसले नै अगुवाइ गरेर पञ्चायतकालदेखि गणतन्त्रसम्म सार्वजनिक पदमा बसेका नेतादेखि कर्मचारीसम्मका सम्पत्ति छानबिन पहल र प्रयास गरेको हो। रोजगारीको अभावमा लाखौं युवा बिदेसिन बाध्य छन्। युवाको भविष्य, बेरोजगारी र देशमा युवा जनशक्तिको अभावका विषयमा पार्टीले गम्भीर रूपले छलफल गर्नुपर्छ। अहिले कांग्रेस सरकारमा छ, त्यसैले कांग्रेसको विशेष पहलमा हजारौं रोजगारीको सिर्जना गरौं र युवालाई स्वदेशमै बस्ने वातावरण बनाऔं। विश्वको जुनसुकै कुनामा पुगेका नेपालीको सुरक्षा, संरक्षण र उनीहरूको सफल भविष्यका लागि विशेष संयन्त्र खडा गरी राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। विदेशमा गएर नेपालीले आर्जन गरेको अनुभव, पुँजी, ज्ञान र सीप नेपालमा भिœयाएर समृद्ध राष्ट्र बनाउन कांग्रेसले विशेष पहल गर्नुपर्छ।

उद्यमशीलताको विकास गरी युवालाई नवप्रवर्तनमा जोडिन हौसला, प्रेरणा, पुँजीमा पहुँच, कानुनी सहजीकरण र व्यावसायिक वातावरण निर्माणका लागि कांग्रेसले विशेष अग्रसरता लिनुपर्छ। कोरोना महामारी र अहिलेको आर्थिक संकटको कारण रोजगारी गुमाएका मजदुर र अप्ठ्यारोमा परेका तथा मिटरब्याजपीडित, साना व्यापारी, उद्योगी र व्यवसायीका लागि तत्काल राहत प्याकेज घोषणाका लागि सरकारलाई दबाब सिर्जना गर्नुपर्छ। अर्थतन्त्र मजबुत बनाउने विशेष कार्यक्रमहरू सञ्चालन गर्न सरकारलाई दबाब दिनुपर्छ। कांग्रेसले नै आर्थिक समृद्धिको नेतृत्व लिन सक्नेगरी अगाडि बढ्नुपर्छ।

पार्टीलाई सत्ता केन्द्रित होइन, नागरिक केन्द्रित बनाउनु पर्छ। नेताको अर्जुनदृष्टि कुर्सीमा हुनुभन्दा जनताको समस्यामा अर्जुनदृष्टि हुनु पर्‍यो। पार्टी सत्ताा, शक्ति र कुर्सी केन्द्रित हुनु भएन।

अहिलेको मिश्रित निर्वाचन प्रणालीले अस्थिरता सिर्जना मात्रै गर्‍यो। प्रधानमन्त्रीको ध्यान देशको विकास र समृद्धिभन्दा पद जोगाउनतिर गयो। गठबन्धनका सर्तहरू मानेर संसद्मा बहुमत जुटाउनमै सम्पूर्ण समय खेर गएको देखिन्छ। वर्ष–वर्षमा सरकार परिवर्तनको खेल चलिराख्दा जनपेक्षित काम सरकारले गर्न सकेको छैन। एउटा प्रधानमन्त्रीले सोचविचार, भिजन र योजनाअनुसार काम सुरु गर्न नपाउँदै सरकार ढल्ने अवस्था आउँछ। त्यसैले स्थिर सरकार, तीव्र विकास, भ्रष्टाचार नियन्त्रण र बलियो सरकार निर्माणका लागि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्थाका विषयमा पनि छलफल गर्नुपर्ने आवश्यकता छ। ‘पाँच वर्ष ढुक्कसँग आफ्नो भिजन र योजनाअनुसार काम गर्न कार्यकारी प्रधानमन्त्री व्यवस्था पो उपयुक्त हो कि ? छलफल गरौं।’

प्रतिनिधिसभाको निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक देखिन्छ। अब प्रतिनिधिसभाको निर्वाचनमा सबै सिट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न जरुरी छ। अनि राष्ट्रियसभामा समानुपातिक र समावेशी गरौं। पार्टीभित्र कुनै पनि अवसरको समान र न्यायोचित वितरण हुनुपर्छ। सधैं एउटै व्यक्तिले मात्रै अवसर पाउने, ‘एकै मानिस सधैं मन्त्री र सांसद हुने, सीमित मान्छेको मात्रै हालिमुहाली हुने, दु : ख संघर्ष सबैले गर्नुपर्ने तर नेताबाट पुरस्कृत हुने चाहिँ सधैं उही एउटै अनुहार हुने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ। अब एकजना मानिस तीन पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरौं। सीमित मानिसको हालिमुहाली हुन रोकौं। प्रधानमन्त्री र मन्त्री पनि दुई पटकमात्रै हुन पाउने व्यवस्था गरौं। कांग्रेसमा जनताको आकर्षण र युवाको सहभागिता बढाउन अब नयाँ अनुहारलाई पनि संसद्मा आउने र देशको नेतृत्व गर्ने मौका दिनुपर्छ।

आमचुनावको मुखैमा पार्टीको महाधिवेशन गर्दा पार्टीको आन्तरिक विवादले आमचुनावमा असर भएको देखिन्छ। पार्टीको महाधिवेशनमा भएको खिचातानी, वादविवाद र आन्तरिक निर्वाचनको कारणले आपसी मनमुटाव भइरहेको बेला तत्काल आमचुनावमा जानुपर्दा त्यसको असर गम्भीर पर्ने देखिन्छ। त्यसैले आम निर्वाचनलाई असर नगर्ने गरी ‘आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्नेगरी विधानमै व्यवस्था गरिनुपर्छ। आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गरेर एकताबद्ध रूपमा तत्काल राष्ट्रिय निर्वाचनको तयारीमा जुट्नु पर्छ।
पार्टी संगठनको ढाँचा पनि केही परिवर्तन गर्नुपर्ने देखिन्छ। पार्टीको वडा अधिवेशन दुई वर्षको अन्तरालमा गर्दा नेतृत्व विकास र चलायमान हुन्छ।

केन्द्रीय महाधिवेशन सम्पन्न गर्न देशैभरिका प्रतिनिधि भेला हुन समय लाग्ला, तयारी गर्नुपर्ला त्यो ठीकै हो, तर एउटा वडाको अधिवेशनका लागि पाँच पाँच वर्ष कुरेर संगठनलाई जाम गरेर राख्नुभन्दा दुई–दुई वर्षमा वडा अधिवेशन गर्दा वडाको संगठन गतिशील हुनुका साथै नयाँ र ऊर्जाशील नेत्तृत्वले समुदाय तहमा पार्टीलाई सशक्त, बलियो र प्रभावकारी बनाउन विशेष भूमिका निर्वाह गर्छन्। केन्द्रीय महाधिवेशन हुने वर्षमात्रै क्षेत्रीय प्रतिनिधि छान्ने र महाधिवेशन नहुने वर्ष वडा सभापति र वडा कार्यसमितिको मात्र चयन गर्दा पार्टी चलायमान र स्थानीय तहमा नेतृत्व विकास गर्ने अवसर प्राप्त हुन्छ। जसले गर्दा पार्टीको मेरुदण्डको रूपमा रहेको स्थानीय तहको संगठन बलियो हुने वातावरण तयार हुन्छ।

जात र धर्मका नाममा राजनीति गर्ने र जातीय धार्मिक विवादमा कांग्रेस फस्ने काम गर्नु हुँदैन। कुनै पनि विवादमा पर्ने विषयमा कांग्रेस गम्भीर बन्नुपर्छ। धर्म भनेको मान्छेको आस्था र विश्वासको कुरा हो। त्यसैले धर्मको राजनीतीकरणबाट कांग्रेसलाई मुक्त राख्नु पर्छ। तर बहुसंख्यक जनताको भावनामाथि कांग्रेसले चोट पुर्‍याउने काम कदापि गर्नु हुँदैन। पार्टीलाई सत्ता केन्द्रित होइन, नागरिक केन्द्रित बनाउनु पर्छ। नेताको अर्जुनदृष्टि कुर्सीमा हुनुभन्दा जनताको समस्यामा अर्जुनदृष्टि हुनु पर्‍यो। पार्टी सत्ता, शक्ति र कुर्सी केन्द्रित हुनु भएन। नागरिकका सबालमा पार्टी खरो ढंगबाट अघि बढ्नुपर्छ।

आज नागरिकले महँगी र मूल्यवृद्धिको मार खेपिरहनु परेको छ। किसानले मल नपाउने, विद्यार्थीले पुस्तक नपाउने, युवाले रोजगारी नपाउने अनि नागरिकता लिनेदेखि पासपोर्ट बनाउने ठाउँ र कर बुझाउनसम्म कष्टपूर्ण लाइन बस्नुपर्छ। नागरिकको यो अवस्थाको अन्त्य कहिले हुन्छ ? हाम्रो पार्टी अहिले सरकारमा भएर पनि प्रभावकारी भूमिका निर्वाह गर्न सकेको देखिन्न। नागरिकको दैनिक जीवनयापन सरल र सहज बनाउन विशेष ध्यान दिनुपर्छ। साथै पार्टी शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला र गाउँ तहसम्म सिद्धान्त र एजेन्डामा वैचारिक जागरण अभियान 
सुरु गर्न जरुरी छ।

भ्रातृसंस्थाहरू कांग्रेसका मेरुदण्ड हुन्। कांग्रेसका नर्सरी र संगठनका मूलआधार हुन्। तर अहिले महाधिवेशन नगरेर तदर्थवादबाट चलाउन खोज्दा संगठन कमजोर बन्न पुगेको छ। त्यसैले तत्काल भ्रातृसंस्थाहरूको महाधिवेशन गरेर पदधिकारीसहित गतिशील, ऊर्जाशील र कर्मशील नेत्तृत्व चयन गर्न ढिलो गर्नु हुन्न। सिद्धान्तहीन, विचारहीन, गठबन्धन गर्नुहुन्न भन्ने आमकार्यकर्ताको आवाज हुँदाहुँदै पनि सत्तालाई मात्रै ध्यान दिएर बनेको बृहत् गठबन्धनले सोचेजस्तो परिणाम आउन सकेन। त्यसैले निर्वाचन समीक्षाका लागि टालटुले पारामा होइन, गहिराइमा पुगेर छलफल गर्नु जरुरी छ। अब आइन्दा अरूको बैसाखी नटेकी आफ्नै बलमा निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ। सहिद परिवार तथा द्वन्द्वपीडित परिवारलाई उच्च सम्मान, पार्टीमा अवसर र उचित स्थानको सुनिश्चितता गरिनुपर्छ।

समानुपातिकबाट एक पटक सांसद बनेकालाई कुनै पनि हालतमा दोहोर्‍याउनु हुँदैन। पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ। साथै एउटै व्यक्ति बारम्बार एउटै पदमा दोहोरिने अवस्थाको अन्त्य गर्नुपर्छ। एउटै व्यक्तिलाई भएभरको जिम्मेवारी दिएर हुँदैन, कामको बाँडफाँट हुनुपर्छ। अब पार्टीमा ‘एक व्यक्ति एक जिम्मेवारी’ हुनुपर्छ। निर्वाचनमा टिकट वितरण गर्दा अनैतिक चलखेल नगरी केन्द्रको हस्तक्षेप पूर्णत :  बन्द गर्नुपर्छ। स्थानीय तहको टिकट जिल्ला समितिले, प्रदेश सांसदको प्रदेश समितिले र संघीय सांसदको टिकट केन्द्रले दिने व्यवस्था गर्नुपर्छ। युवाको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ। नेपाली कांग्रेसलाई युवामैत्री पार्टी बनाउनुपर्छ।

शाही नेपाली कांग्रेसका युवानेता हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.