कोशी अस्पतालमा मेडिकल अधिकृतको भर्ना स्थगित

कोशी अस्पतालमा मेडिकल अधिकृतको भर्ना स्थगित
सुन्नुहोस्

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा ३ जना मेडिकल अधिकृत भर्नाका लागि स्वार्थपूर्ण र विवादास्पद हिसाबले गरिएको विज्ञापन स्थगित गरिएको छ। 

आठौं तहको फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्ट नियुक्त गर्न फागुन ४ गते विज्ञापन गर्दै ७ दिनको छोटो समय दिएर दरखास्त आह्वान गरिएको थियो। भर्ना प्रक्रिया स्थगित गरिएसँगै आफूनिकटलाई करारमा अस्पताल भित्राउन गरिएको चलेखल असफल भएको छ। विज्ञापन गरिएको पदमा दरखास्त लिएर अन्तर्वार्ताका भरमा ३ जनालाई सरकारी अस्पतालमा फागुन ११ गते चिकित्सक नियुक्त गर्ने तयारी भएपछि चौतर्फी विरोध भएको थियो। 

विकास समितिको निर्णय र विभागीय प्रमुखको राय एवं परामर्शबिना नै अन्तर्वार्तामार्फत मेडिकल अधिकृतमा सुटुक्क आफ्ना मान्छेलाई नियुक्ति दिने हिसाबले अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालगायतको मिलेमतोमा विज्ञापन गरिएको हो। अन्तर्वार्ताको मिति र समय फागुन ११ गते बिहान ११ बजेलाई तोकिएको थियो। एउटै सूचनामा ३ वटा अलगअलग विज्ञापन नम्बर राखेर शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएपछि सरोकारवालाले आश्चर्य व्यक्त गरेका थिए।   

प्राविधिक कारणले अन्तर्वार्ता तत्काललाई स्थागित गरिएको भन्दै अस्पताल प्रशासनले बुधबार सूचना सार्वजनिक गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाको हस्ताक्षर रहेको सूचनामा अन्तर्वार्ताको नयाँ मिति र समय अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उल्लेख छ। ‘मिति २०८०-११-११ गते हुने भनिएको विज्ञापन नं ०७-२०८०-८१, ०८-२०८०-८१ र ०९-२०८०-८१ मेडिकल अधिकृत आठौं तहको अन्तर्वार्ता प्राविधिक कारणले गर्दा हाललाई स्थागित गरिएको व्यहोरा अनुरोध छ। सो सम्बन्धमा अन्तर्वार्ताको नयाँ मिति र समय अर्को सूचना प्रकाशन गरी जानकारी गराइने छ,’ सूचनामा भनिएको छ।

null

अन्नपूर्ण अनलाइनमा मंगलबार ‘कोशी अस्पतालमा रोकिएन मनोमानी, चिकित्सक नियुक्त गर्न अर्को चलखेल’ शीर्षकमा समाचारसमेत प्रकाशन भएको थियो। समाचार सार्वजनिक भएपछि चिकित्सक, कर्मचारी तथा सरोकारवालाको विरोधसँगै मनोमानी हिसाबले गर्न लागिएको मेडिकल अधिकृतको नियुक्ति प्रक्रिया स्थगित गर्न अस्पताल प्रशासन बाध्य भएको हो। स्रोतका अनुसार ‘सेटिङ’ मिलाउँदै आर्थिक चलखेल गरेर स्वार्थपूर्ण हिसाबबाट खुला प्रतिस्पर्धाबिना नै आठौं तहका चिकित्सक नियुक्त गर्न खोजिएको थियो। 

अस्पतालले यसअघि माघ ४ गते २१ दिनको म्याद दिँदै आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको १ जना नर्सिङ अधिकृत, पाँचौं तहको ३० जना स्टाफ नर्स, २ जना बायोमेडिकल टेक्निसियन र ७ जना फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमध्ये मेडिकल अधिकृतमा ५८, नर्सिङ अधिकृतमा ४३, स्टाफ नर्समा ३ सय ९६, बायोमेडिकल टेक्निसियनमा ७ र फार्मेसी सहायकमा १ सय ४९ जनाको दरखास्त परेको छ।

तर, भर्ना प्रक्रियाका लागि परीक्षाको अलगअलग मापदण्ड बनाउँदै अस्पतालले गरेको विज्ञापन रद्ध गर्नुपर्ने आवाज उठिरहेको छ। त्यतिबेला पाँचौं तहलाई लिखित र अन्तर्वार्ता दुवै लिने तथा त्योभन्दा माथिको सातौं तहलाई अन्तर्वार्तामात्रै लिएर नियुक्ति दिने गरी विज्ञापन गरिएको थियो। यद्यपि, यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन एवं अनुसन्धान भइरहेको छ। 

पहिलो विज्ञापन विवादमा तानिएर छानबिनमा परेका बेला फेरि त्यसको ठीक १ महिनापछि मेडिकल अधिकृतलाई अन्तर्वार्तामार्फत मात्रै नियुक्ति दिने भनेर विज्ञापन गरिएको हो। अस्पतालले दरखास्तका लागि २१ दिनको म्याद दिएर लिखित र अन्तर्वार्ता दुवैमार्फत १० जना मेडिकल अधिकृतलाई नियुक्त गर्ने गरी माघ ४ गते विज्ञापन गरेको थियो। 

तर, अहिले अर्को विज्ञापनमार्फत ७ दिनको मात्रै म्याद दिएर सिधै अन्तर्वार्ताका भरमा ३ जना मेडिकल अधिकृत राख्न खोजिएसँगै विकास समिति र अस्पताल प्रशासनको कामकारबाहीमाथि प्रश्न उठेको हो। मनोमानी हिसाबले अध्यक्ष र मेसुको मिलेमतोमा एउटै पदका लागि १ महिनाबीचमा अलगअलग विज्ञापन गरेर परीक्षाको मापदण्ड पनि फरकफरक तोकिएपछि अस्पताल प्रशासन तथा समितिले गलत नियम राखेर काम गरिरहेको प्रष्ट भएको थियो। 

कर्मचारी युनियनले गर्‍यो आन्दोलनको तयारी  
कोशी अस्पताल विकास समिति कर्मचारी युनियनले सरकारी अस्पतालमा बढ्दो बेथिति र नियमविपरीत भइरहेका कामकारबाहीविरुद्ध आन्दोलनको तयारी गरेको छ। अस्पताल प्रशासन र विकास समितिका नाममा स्वार्थपूर्ण हिसाबले भइरहेका बेथिति रोक्नुपर्नेलगायतका माग राखेर १७ बुँदे ज्ञापनपत्र बुझाउँदै युनियनले मंगलबार अस्पताल प्रशासनको ध्यानआकर्षण गराएको थियो। 

ध्यानआकर्षणका विषयमा अस्पताल प्रशासनले कुनै प्रतिक्रिया नजनाएर मागलाई बेवास्ता गरेको भन्दै कर्मचारी युनियनले आन्दोलनको तयारी गरेको हो। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा नियमविपरीत र निन्दनीय कार्य भइरहेको ठहर गर्दै युनियनले बुधबार अस्पताल प्रशासनलाई पत्र पठाएर जायज मागको सम्बोधन नहुने हो भने ‘अस्पताल बचाउ अभियान’का लागि चरणबद्ध अन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ। 

पत्रमार्फत युनियनले माग पूरा गर्नका लागि बिहीबार साँझ ५ बजेसम्मको अल्टिमेटमसमेत दिएको छ। अस्पताल प्रशासनले माग पूरा नगरेमा सेवाग्राहीलाई असर नपर्ने गरी शुक्रबारबाट चरणबद्ध आन्दोलन सुरु गरिने युनियनका अध्यक्ष डा. रोशन खड्काले बताए। उनका अनुसार मापदण्डविपरीत कर्मचारी पदपूर्तिका लागि गरिएको तयारी रोक्नुपर्ने, अस्पतालका सबै कामकारबाही नियमसंगत हुनुपर्ने, यसअघि कोरोना महामारीमा दुःख गरेकाहरुलाई चिकित्सक एवं कर्मचारी भर्नामा समेट्नुपर्नेलगायतका माग राखिएको छ। 

त्यस्तै, कर्मचारी नियुक्तिका विषयमा विभागीय प्रमुखसँग सल्लाह गर्नुपर्ने, कर्मचारी भर्नाको मापदण्डमा एकरूपता हुनुपर्ने, दरबन्दीबिना जथाभावी कर्मचारी नियुक्ति गर्ने परिपाटी रोक्नुपर्ने र प्रभावकारी सेवा सञ्चालनमा ध्यान दिनुपर्नेलगायतका मागहरु राखिएको छ। अस्पतालको सेवालाई व्यवस्थित बनाएर आईसीयू, एनआईसीयू तथा एचडीसीयू सञ्चालन गर्नुपर्ने, गुरुयोजनाका आधारमा अस्पतालमा निर्माण तथा मर्मतको काम गर्नुपर्ने, विकास समितिका बैठकहरुमा कर्मचारी युनियनका अध्यक्षको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग आफूहरुले राखेको डा. खड्काले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.