मोरङमा सहकारीको मुख्य र शाखा कार्यालयबाट झण्डै १३ लाख चोरी

मोरङमा सहकारीको मुख्य र शाखा कार्यालयबाट झण्डै १३ लाख चोरी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङमा रहेको एउटा सहकारीको मुख्य कार्यालय र शाखा कार्यालयमा एकैरात चोरी भएको छ । सरकारीको झण्डै १३ लाख रूपैयाँ मंगलबार राति चोरी भएको हो ।  प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फँडानीमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको छ । 

मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । उनका अनुसार मुख्य कार्यालय र शाखा कार्यालयबाट गरेर १२ लाख ८१ हजार ३० रुपैयाँ चोरी भएको छ । 

सहकारीमा चोरी भएको समय खुल्न नसकेको र बुधबार बिहान मात्रै घटनाका बारेमा थाहा भएको अध्यक्ष भट्टराईको भनाइ छ । ‘सहकारीको पर्खाल नाघेर चोरीमा संलग्न भित्र छिरेको पाइयो । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो,’ उनले भने, ‘सबै गेटको ताला तोड्दै भित्र छिरेर ‘सेफ’ भएको ठाउँमा पुगेको देखिन्छ । ‘सेफ’को लक तोडेर रकम लगेको पाइयो । चोरीमा संलग्नले ताला नै लिएर गएको थाहा भयो ।’

 उनका अनुसार सहकारी प्रवेश गर्ने मुख्यसहित ४ वटा गेट थिए । तर, मुख्य गेट छाडेर चोरीमा संलग्न पर्खाल नाघेर सहकारीमा छिरेको र ३ वटा गेट भने तोडेको पाइएको भट्टराईले बताए । ‘एउटामा ४ वटासम्म ताला लगाएर गेटलाई दह्रो बनाइएको थियो । तर, ती सबै ताला तोडेर चोरी गरेको पाइएको छ,’ उनी भन्छन्, ‘घटना निक्कै शंकास्पद छ । अनुसन्धान गरेर चोरीमा संलग्न पत्ता लगाउनका लागि प्रहरीलाई भनिसकेका छौं ।’ 

सहकारीको पछाडि साइरनसहितको ताला भएको गेट पनि थियो । चोरीमा संलग्नले उक्त गेटलाई भने नचलाएको अध्यक्ष भट्टराईको भनाइ छ । उनका अनुसार शाखा कार्यालयमा  भने ताला तोडेर मुल ढोका तथा चेन गेट फोड्दै भित्र छिरेर चोरी गरेको पाइएको छ । सहकारीमा गत वर्ष पनि चोरीको प्रयास भएको जानकारी उनले दिए । 

सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ । पहिचान गरेर चोरीमा संलग्नलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । 

घटनाको प्रकृति हेर्दा सहकारीका बारेमा सबै जानकारी राख्नेले नै चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.