जलविद्युत आयोजना निर्माणका क्रममा म्याग्दीमा पाँच वर्षमा २२ मजदुरको मृत्यु्
![जलविद्युत आयोजना निर्माणका क्रममा म्याग्दीमा पाँच वर्षमा २२ मजदुरको मृत्यु्](https://annapurnapost.prixacdn.net/media/albums/Nilgiri-Hydro-powerhouse1_20211108065410_H1G7OB5brw_L0bONtMMFf.jpg)
सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन ११० मेगावाट क्षमताको निलगिरीखोला जलविद्युत आयोजनामा १२ जना मजदुरको मृत्यु भएको छ ।
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा करेन्ट लागेर जलविद्युत आयोजनाका एकजना मजदुरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । योसँगै म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा पछिल्लो ५ वर्षयता ज्यान गुमाउने मजदुरको संख्या २२ र घाइते हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार चिमखोलामा निर्माणाधिन राहुघाट मंगले जलविद्युत आयोजनाको ठेकेदार कम्पनी रामेछाप कन्ट्रक्सनमा कार्यरत सल्यानको बागचौर नगरपालिका–८ का ३२ वर्षीय कमल योगीको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका योगीलाई बेनी अस्पतालमा उपचारको क्रममा बुधबार चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक कुमार गुरुङले बताए । योगीलाई बचाउने क्रममा करेन्ट लागेर घाइते भएका २४ वर्षीय प्रविण थापाको बेनी अस्पतालमा उपचार भइरहेको उनले बताए ।
घाइते थापाको स्वास्थ्य अवस्था सामान्य र सुधारको क्रममा रहेको छ । मृतकको शव बेनी अस्पतालको शव गृहमा राखिएको छ । परिवारलाई घटनाको बारेमा जानकारी गराएको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गुरुङले बताए ।
आर्थिक वर्ष २०७५/७६ देखि २०८०/०८१ को हालसम्म म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत योगीसहित २२ जना मजदुरले ज्यान गुमाएका र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क छ ।
प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन ११० मेगावाट क्षमताको निलगिरीखोला जलविद्युत आयोजनामा १२ जनाको मृत्यु भएको छ ।
रघुगंगा गाउँपालिकामा तुण्दी पावरद्धारा निर्माणाधिन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत आयोजनामा ६,अन्नपूर्ण गाउँपालिकाको घारखोला जलविद्युत आयोजनाका २, रघुगंगाको ठूलोखोला र राहुघाट जलविद्युत आयोजनामा १/१ जना मजदुरको ज्यान गएको प्रनाउ कुँवरले बताए ।
म्याग्दीमा २८१ मेगावाट क्षमताका १० वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । विद्युत विकास विभागका अनुसार १३५ मेगावाट क्षमताका चारवटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।
कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीनवटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।
‘आयोजना स्थलमा लडेर,चिप्लिएर,करेन्ट लागेर तथा डोजर, ब्याकुहोलोडर, ट्याक्टर, जिप दुर्घटना हुँदा ज्यान गुमाएको देखिन्छ,’ उनले भने ‘जलविद्युत आयोजनामा हुने दुर्घटना र मजदुर सुरक्षा चुनौति बनेको छ ।’
अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का म्याग्दी जिल्ला अध्यक्ष बालादेवी राईले जलविद्युत आयोजनामा ज्यान गुमाएका अधिकांश मजदुरका आफन्तहरु बिमा, क्षतिपुर्तिबाट समेत बञ्चित भएका बताइन् ।
‘श्रम ऐन अनुसार आयोजनामा काम गर्ने मजदुरहरुको सामुहिक दुर्घटना बिमा गर्नुपर्ने व्यवस्था धेरै मजदुरलाई थाहा छैन,’ उनले भनिन् ‘हामीले सूचना पाएपछि निलगिरि जलविद्युत आयोजनाका दुईजना मृतक मजदुरका परिवारलाई सात/सात लाखका दरले क्षतिपुर्ति दिलाएका थियौं ।’
ज्यान गुमाएका मजदुरका आफन्तलाई बिमा,राहत र क्षतिपुर्तिका विषयलाई लिएर आयोजना, निर्माण कम्पनी पन्छिन चलखेल गर्ने गरेका मजदुरहरुले गुनासो गरेका छन् । कार्यस्थलमा सुरक्षा सामग्री नभएको, निर्माण व्यवसायीले सुरक्षाका सामग्री मजदुरले प्रयोग नगरेका र कम्पनीहरुले पनि सुरक्षाका सामग्री प्रयोगमा अनिवार्य नगरेका कारण मजदुरहररूले ज्यान गुमाएका राईको भनाइ छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलले जलविद्युत आयोजनामा लापरवाही र असावधानिका कारण मजदुरको ज्यान जाने गरेको बताए । मजदुरको सुरक्षाको विषयमा जलविद्युत आयोजना,निर्माण कम्पनीका सञ्चालकहरुलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ ।
म्याग्दीका जलविद्युत आयोजनाहरूमा मजदुरहरूको ज्यान गएको विषयमा उर्जा,जलस्रोत तथा सिचाई मन्त्रालयले गत कात्तिक महिनामा स्थलगत अध्ययन गरि सुझाव दिएको थियो ।
गत कात्तिक ४ गते रघुगंगा गाउँपालिका–७ गौडामुनीमा टुण्डी हाइड्रोपावरद्धारा सञ्चालित मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङमा काम गरेर फर्कने क्रममा सुरुङ भित्र ढुङ्गाहरु खसेर घाइते भएका रामेछाप कन्ट्रक्सनका मजदुर प्रकाश गोलेको मृत्यु भएको थियो । अर्का मजदुर विवेक कुमार शाह घाइते भएका थिए ।
गत कात्तिक १५ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको निलगिरिखोला जलविद्युत आयोजनाको अडिट नं.२ को आई.एस. १ को काम गरि फर्कने क्रममा दाङका ३७ वर्षीय डोणबहादुर बुढामगरको सुरुङमा चिप्लिएर लड्दा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मा भएको दुईवटा दुर्घटनामा दुईजनाको मृत्यु र एकजना घाइते भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा २ जना, २०७६/०७७ मा तीन, २०७७/०७८मा ३ जना, २०७८/७९ मा पाँच जना, २०७९/०८० मा ६ र २०८०/०८१ के हालसम्म ३ जना मजदुरहरुको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)