मोरङको बेलबारीमा टिपर, बस र बोलेरो ठोक्कियो : २ जनाको मृत्यु, ३ घाइते

मोरङको बेलबारीमा टिपर, बस र बोलेरो ठोक्कियो : २ जनाको मृत्यु, ३ घाइते

विराटनगर : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान ठूलो दुर्घटना भएको छ। 

प्रहरीका अनुसार टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान ६:३० बजेतिर भयानक दुर्घटना भएको हो। 

दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृतक र घाइते बोलेरो जीपमा सवार थिए। बोलेरोमा ५ जना सवार थिए। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो। 

बोलेरो बसको पछिपछि आउँदै थियो। प्रहरीका अनुसार दुर्घटनामा परेर बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी महिलाको मृत्यु भएको छ। दुवै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। 

मृतकमध्ये अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथमा बोकेको मतदाता परिचयपत्रका आधारमा मृतकमध्ये भट्टराईको पहिचान खुलेको प्रहरीको भनाइ छ। मृतक महिलाको साथमा गायत्री भट्टराई नाम लेखेको मतदाता परिचयपत्र फेला परेको छ। तर, उक्त परिचयपत्र मृतकको नभएको प्रहरीको भनाइ छ। 

कमल गाउँपालिका–२ की ५० वर्षीया गायत्री भट्टराईको घाइते अवस्थामा विराटनगरकै न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गायत्रीसहित ३ जना घाइते भएका छन्। दुर्घटनाका घाइते गायत्रीसहित कमल गाउँपालिका–२ का ५५ वर्षीय हरि खनाल र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुषको न्युरोमै उपचार भइरहेको छ। 

पहिचान नखुलेका पुरुष बोलेरो चालक हुनसक्ने प्रहरीको अनुमान छ। घाइतेमध्ये ती पुरुष र हरि खनालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गायत्रीको अवस्था सामान्य छ। घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पठाएको थियो। घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको हो। २ जना सिकिस्त छन्। 

दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ। टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ। बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। बसमा सवार सबै जना सकुशल रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुर्घटनास्थलमै रहेका सवारीसाधनलाई सडकबाट हटाउने प्रयास भइरहेको छ। 

दुर्घटनालगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.