मोरङमा शौचालय गएकी बालिकाको हत्यामा संलग्न पक्राउ

मोरङमा शौचालय गएकी बालिकाको हत्यामा संलग्न पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी बालिकाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो। हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरिएको दाहालले बताए। 

उनका अनुसार चौधरीले बालिकाको हत्या गर्नुको कारण खुल्न बाँकी छ। उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका-६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो। ज्ञानमति पथरीशनिश्चरे नगरपालिका-७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे-१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्। ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्। २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको डीएसपी दाहालले बताए। बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको उनको भनाइ छ। 

दाहालका अनुसार सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०:३० बजेतिर चौधरीले धारिलो हतियार प्रहार गरेर बालिकाको वीभत्स तरिकाले हत्या गरेको पाइएको छ। ‘पटक-पटक हतियार प्रहार गरेर निर्मम तरिकाले बालिकाको हत्या गरिएको छ। एकदमै वीभत्स अवस्थामा घरको परिसरमा शव भेटिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ। घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि खुल्छ।’

हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी दाहालले दिए। ‘घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ। चिच्याएको आवाज आएपछि हेर्दा बहिनीको ढुकढुकी मात्रै थियो भनेर दाजु विनोदले भनेका छन्,’ उनले भने, ‘दाजुले घटना थाहा पाएको केहीबेरमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उपचारका लागि अस्पतालसमेत लैजान भ्याएनछन्।’ 

घटना हुँदा दाजु-भाउजू भने सुतिसकेको पाइएको उनको भनाइ छ। घटनाको अनुसन्धान र हत्यामा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं फिल्डमा खटिएका थिए। प्रहरीले घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो। डीएसपी दाहालले मिहिन ढंगले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको बताए। प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिसकेको छ। 

डीएसपी दाहालले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने बताए। उनका अनुसार घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाण लगायतलाई केलाएर अनुसन्धान अघि बढाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.