अस्पतालको शौचालयमा सालनालसहितको शिशु मृत फेला
विराटनगर : विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा मंगलबार राति सालनालसहितको शिशुलाई मृत फेला पारिएको छ।
आकस्मिक कक्षको महिला शौचालयमा राति ११ बजेतिर शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार अन्दाजी ५-६ महिनाको जस्तो देखिने शिशु छोरा हुनसक्छ।
शिशुलाई कसले जन्माएर शौचालयमा फ्यालेको हो भन्ने खुल्न बाँकी छ। अवैध गर्भबाट जन्मिएको शिशुलाई शौचालयमा फ्यालेको हुनसक्ने दाहालले बताए।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाउने तयारी भइरहेको छ। शिशु जन्माएर फ्याल्ने महिलाको खोजी थालेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।