१०० किलो सुन काण्डका नाइके दावा छिरिङको नागरिकता सनाखत गर्ने तत्कालीन सुब्बा पक्राउ
काभ्रे : बागमती प्रदेश सभा सचिवालय हेटौंडा मकवानपुरमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले अर्याललाई हेटौडाबाट पक्राउ गरेर काभ्रे ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
काभ्रेबाट दोहोरो नागरिकता लिएका हाल १०० किलो सुन काण्डमा जेलमा रहेका दावा छिरिङ (निमा) लामाको नागरिकता सनाखत गरेको उनीमाथि आरोप छ। लामालाई काभ्रेबाट दोहोरो नागरिकता दिने समयमा श्रेष्ठ जिल्ला प्रशासन कार्यालयमा सुब्बा थिए।
दावा छिरिङले काभ्रेबाट के -कसरी नागरिकता लिए भन्ने विषयमा अनुसन्धान जारी रहेको र थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । बुधबार हेटौडाबाट पक्राउ गरेर काभ्रे जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन सुरू भएको डीएसपी श्रेष्ठले जानकारी दिए।
सुन काण्डका नाइके लामाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०७४ साल पुस २० गते नेपाली नगरिकता लिएको देखिन्छ । ३०–०१–७४–११८६८ नम्बरको नगरिकता दावा छिरिङ लामाले काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका -११ ठेगाना राखेर नगरिकता लिएको बुझिएको छ।
बाबु पेमा तामाङको नाम राखेर बंशजको अधारमा नगरिकता लिएको डड्डामा सनाखत देखिन्छ । नगरिकता लिएको समयमा पेश गरिएको कुनैपनि कागजात जिल्ला प्रशासन कार्यालयमा छैन । दावाले काभ्रे जिल्ला बाट लिएको नागरिकताको अधारमा पासपोर्ट समेत लिएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा दावा छिरिङको नागरिकता सनाखात गर्ने सुब्बा अर्याल ललितपुर महालक्ष्मी नगरपालिका- ५ का स्थानीय हुन् । उनी हाल बागमती प्रदेश सभा सचिवालय हेटौंडा मकवानपुरमा अधिकृत छैठौंको रुपमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस !