प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने, संसद सचिवालयमा पठाए पत्र

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने, संसद सचिवालयमा पठाए पत्र
फाइल तस्बिर।

सभामुखका प्रेस सल्लाहकार अधिकारीका अनुसार फागुन २९ गते कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ।

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको आगामी बुधबार बस्ने बैठकमा विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना आइतबार संसद्‌ सचिवालयमा पत्र आइपुगेको उनले बताए। ‘विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्का महासचिवलाई सम्बोधन गरेर संसदको कार्यसूचीमा राख्न पत्र आएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने सूचना महासचिवलाई दिनुभएको हो।’ अधिकारीले भने, ‘महासचिवज्यूले पत्र आएपछि उहाँले सभामुख देवराज घिमिरेलाई जानकारी गराउनु भएको छ।’

सभामुखका प्रेस सल्लाहकार अधिकारीका अनुसार फागुन २९ गते कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ। अधिकारीले भने,‘सभामुख ज्यूले २९ गते कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ। त्यहाँ छलफल हुन्छ। कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सम्भवतः प्रधानमन्त्रीले मागेकै दिन अर्थात् फागुन ३० गते बिहान ११ बजेलाई तोक्नुहुनेछ।’

प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। एमाले नेतृत्वमा बनेको तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए। उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिएका थिए।

 null

हाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए। दोस्रो पटक विश्वासको मत लिँदा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको  थियो। मत दिन्नमा एक मत खसेको थियो।

प्रचण्डले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै माओवादी केन्द्रले सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरेको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.