विश्व निर्वाचनको ऐतिहासिक वर्ष

विश्व निर्वाचनको ऐतिहासिक वर्ष

काठमाडौं : यस वर्ष विश्व निर्वाचनको वर्ष हो। विश्वका अधिकांश ठूला राष्ट्रहरूमा यसै वर्ष निर्वाचन तोकिएको छ। यसले गर्दा पनि सन् २०२४ लाई लोकतन्त्रको सबैभन्दा ठूलो वर्ष र निर्वाचनको ऐतिहासिक वर्षको रूपमा लिइएको छ।

विश्वका सबैभन्दा धेरै जनसंख्या भएका १० मध्ये आठ राष्ट्रमा यसै वर्ष निर्वाचन तोकिएको छ। अत्याधिक जनसंख्या भएका भारत, ब्राजिल, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, पाकिस्तान, रुस र मेक्सिकोमा यसै वर्ष निर्वाचन हुने तालिका छ। रुस, पाकिस्तान, इन्डोनेसिया र बंगलादेशमा भने निर्वाचन सम्पन्न भइसकेको छ। देशमा जारी युद्धका बाबजुद यस वर्ष युक्रेनमा पनि निर्वाचन हुने भनिए पनि हाल मार्सल कानुन लागू गरिएकाले निर्वाचन हुने निश्चित भइसकेको छैन। 

विश्वका झन्डै आधा जनसंख्याले यस वर्ष आफ्नो मताधिकार प्रयोग गर्दै छन्। बेलायत, संयुक्त राज्य अमेरिकादेखि रुस र युक्रेनसम्म, विश्वका करिव डेढ अर्बभन्दा बढी मानिसलाई चुनावी चहलपहल लागेको छ। कीर्तिमानी संख्यामा यस वर्ष विश्वका धेरै जनसंख्या राष्ट्रिय चुनावमा होमिँदैछन्। निर्वाचन परिणामहरूले २१औं शताब्दीको विश्वको प्रक्षेपण निर्धारण गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। 

कहाँ–कहाँ भइसके चुनाव ?

रुस

सत्तामा अझै ६ वर्ष टिक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दाउ अन्ततः पूरा भएको छ। रुसमा १५ देखि १७ मार्चसम्म सम्पन्न राष्ट्रपतीय निर्वाचनमा भारी मतान्तरका साथ उनी पाँचौंपटक राष्ट्रपतिमा विजयी भएका छन्। उनले झन्डै ८८ प्रतिशत मत ल्याएका थिए। कम्युनिस्ट उम्मेदवार निकोलाई खारिटोनोभ ४ प्रतिशतभन्दा पनि कम मतका साथ दोस्रो भए भने नवआगन्तुक भ्लादिस्लाव दाभान्कोभ तेस्रो भए। नतिजाअनुसार अब पुटिनले कम्तिमा सन् २०३० सम्म शासन गर्नेछन्। ७१ वर्षीय पुटिन सोभियत तानाशाह जोसेफ स्टालिनपछि रुसको सबैभन्दा लामो समय सेवा गर्ने नेता बन्नेछन्।   

ताइवान

गत जनवरी १३ मा ताइवानको नयाँ राष्ट्रपतीय चुनाव सम्पन्न भएको थियो। डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका विलियम लाईले चीनको धम्कीबाट ताइवानलाई जोगाउने बाचा गर्दै विजय हासिल गरेका थिए। ताइवानको २८ वर्षको लोकतान्त्रिक इतिहासमा पहिलो पटक लगातार तीनवटा चुनावमा उनकै पार्टीले राष्ट्रपति पद जितेको हो। जितपछि ताइवानको सडकमा हजारौं उत्साही समर्थकहरूलाई सम्बोधन गर्दै लाईले आफ्नो जितलाई लोकतन्त्रको विजय भनेका थिए। 

फिनल्यान्ड

फिनल्यान्डमा गत जनवरी २८ मा पहिलो चरण र गत फेब्रुअरी ११ मा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन भएको थियो। निर्वाचनमा राष्ट्रिय गठबन्धन पार्टीबाट एलेक्जेन्डर स्टबले आफ्ना प्रतिस्पर्धी ग्रिन पार्टीका पेक्का हाभिस्टोलाई पराजित गरेका थिए। निर्वाचनमा स्पष्ट बहुमत भने कसैले पाएनन्। स्टबले ५१.६ प्रतिशत मत प्राप्त गरेकामा उनका प्रतिद्वन्द्वी हाभिस्टोले ४८.४ प्रतिशत मत आफ्नो पोल्टामा पारे। फिनल्यान्ड नाटोमा सामेल भएयताको पहिलो चुनावमा स्टब देशको राष्ट्रपतिमा विजयी भएका हुन्। फिनल्यान्डमा विगत ४० वर्षको अवधिमा राष्ट्रपतिको अधिकार कटौती हुँदै गएको छ। तर, युक्रेनमा रुसको आक्रमणको प्रतिक्रियामा नाटोमा सामेल भएपछि देशको महत्व भने बढेको छ।

बंगलादेश 

बंगलादेशमा गत जनवरी ८ मा भएको विवादास्पद चुनावमा चौथो कार्यकालका लागि निर्वाचित हुँदै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कीर्तिमान कायम गरेकी छन्। विपक्षी बंगलादेश नेसनल पार्टी (बीएनपी)का नेता र समर्थकहरूको सामूहिक गिरफ्तारीपछि नतिजा आएको थियो। जसका कारण पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाइएको थियो। यतिबेला संयुक्त राज्य अमेरिकाले पनि चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा सार्वजनिक गरेको थियो। अमेरिकाको राज्य विभागले मतदानमा अनियमितता भएको भन्दै यसमा वासिङटन चिन्तित भएको र हिंसाको निन्दा गरेको जनाएको थियो। हसिनाको पार्टी अवामी लिग सन् २०१८ मा पुनः निर्वाचित हुँदा नै हिंसा र धाधलीले मात्र उनको भारी जित सम्भव भएको आरोप लागेको थियो।

भुटान 

भुटानमा गत जनवरी ९ मा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले सबैभन्दा बढी सिट जितेको थियो। सन् २००८ मा निरंकुश राजतन्त्रको अन्त्य भएर लोकतन्त्र स्थापना भएयता भुटानमा सम्पन्न यो चौथो निर्वाचन हो। 

कोमोरोस

अफ्रिकाको पूर्वी तटीय हिन्द महासागरमा अवस्थित एउटा सानो टापु कोमोरोसमा गत जनवरी १४ मा निर्वाचन सम्पन्न भयो। निर्वाचनमा राष्ट्रपति अजाली असुमानी चौथो कार्यकालका लागि पुनः निर्वाचित भए। विवादित निर्वाचनमा विपक्षीले धोकाधडी गर्दै जितेको आरोप लगाएका थिए। पूर्वसैन्य अधिकारी एवं अफ्रिकी संघका वर्तमान अध्यक्षसमेत रहेका असुमानीले ६३ प्रतिशत मत प्राप्त गरका थिए। विपक्षीको बहिस्कारकाबीच सम्पन्न मतदानमा जनसंख्याको जम्मा १६ प्रतिशत मात्र मतदानमा सहभागी भएका थिए। 

टुभालु

जम्मा ११ हजार दुई सय जनसंख्या रहेको टुभालुमा गत जनवरी २७ मा भएको निर्वाचमा पूर्वप्रधानमन्त्री सेभ पेनिउ निर्वाचित भए। त्यतिबेला ताइवान समर्थक नेता कौसिया नातनौ पेनिउसँग पराजित भएका थिए। त्यहाँको चुनावलाई ताइवान, चीन र अमेरिकाले नजिकबाट नियालेका थिए। त्यहाँको संसद् सबैभन्दा सानो रहेको र जम्मा १६ सिटका लागि प्रतिस्पर्धा भएको थियो। 

पाकिस्तान 

फेब्रुअरी ११ मा पाकिस्तानमा भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) सम्बद्ध स्वतन्त्र उम्मेदवारहरू विजयी भएका थिए। १९ सदस्यीय मन्त्रिमण्डलको नेतृत्व पाकिस्तानी प्रधानमन्त्री सेहेबाज सरिफले गरेका छन्। 

अजरबैजान

​​​​​​​अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले अर्को सात वर्षको कार्यकालको लागि जित हाँसिल गरेका छन्। ६१ वर्षीय यी तानाशाह दुई दशकभन्दा बढी समयदेखि सत्तामा छन्। अर्को वर्ष गरिने भनिएको चुनाव गत फेब्रुअरी ८ मै सम्पन्न भएको थियो। अजरबैजानको दुई प्रमुख विपक्षी दल मुसावट र पिपुल्स फ्रन्ट अफ अजरबैजानले मतदानमा भाग लिएनन्। 

इन्डोनेसिया

इन्डोनेसियामा गत फेब्रुअरी १४ मा विश्वको सबैभन्दा ठूलो एक दिवसिय चुनाव आयोजना गर्‍यो। इन्डोनेसियाले झन्डै साढे दुई लाख उम्मेदवारहरूबाट राष्ट्रिय, प्रान्तीय र जिल्ला संसद्हरूमा गरी झन्डै २० हजार प्रतिनिधिहरूसहित राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न निर्वाचन भएको हो। दक्षिण पूर्वी एसियाको सबैभन्दा बढी जनसंख्या भएको यस देशमा मतगणना जारी छ।

बेलारुस

रुसको कट्टर सहयोगी बेलारुसले सन् २०२० पछि गत फेब्रुअरी २५ मा चुनाव गरेको हो। राष्ट्रपतिको मतदानको नतिजालाई लिएर प्रदर्शन भड्किएपछि राष्ट्रपति अलक्जेन्डर लुकाशेन्कोले हजारौं विरोधीलाई देशबाट भगाए र कैयौंलाई कारागार पठाइयो। विपक्षी दलहरूप्रति प्रतिबन्ध लगाइएको थियो।

डोमिनिकन गणतन्त्र

फेब्रुअरी १८ मा नगरपालिकाको चुनाव सम्पन्न भएको यस क्यारिबियन राष्ट्रमा आगामी मे १९ मा राष्ट्रपति र कांग्रेसको चुनाव हुँदै छ।

इरान

इरानमा विधायिकाको चुनाव पहिलो चरणको लागि मार्च १ मा सुरु भइसकेको छ भने दोस्रो चरणका लागि मेमा राखिएको छ। सन् २०२० मा गठन भएको इरानको वर्तमान संसदमा कन्जरभेटिभको वर्चस्व छ। 

युक्रेन

​​​​​​​युक्रेनको संविधानअनुसार राष्ट्रपतिय चुनाव मार्च ३१ का लागि तय गरिएको थियो। जसले वर्तमान राष्ट्रपतिको कार्यकालको पाँचौं वर्षको मार्चको अन्तिम आइतबार चुनाव गराउने निर्देशन दिएको थियो। यद्यपि युक्रेनमा रुसी आक्रमणको प्रतिक्रिया स्वरुप २४ फेब्रुअरी २०२२ देखि युक्रेनी सरकारले मार्सल कनुन लागू गरेको छ। युक्रेनी कानुनले मार्सल कानुन लागू भएको बेला चुनाव गराउन अनुमति दिँदैन। गत वर्षको नोभेम्बरमा वर्तमान प्रधानमन्त्री भोलोडिमिर जेलेन्स्कीले यो चुनावका लागि सही समय नभएको बताएका थिए।

पोर्चुगल

​​​​​​​पोर्चुगलले १६औं विधायिकाका लागि १० मार्चमा निर्वाचन गर्‍यो। विधानसभाका सबै २३० सिटका लागि निर्वाचन भएको थियो।

एल साल्भाडोर 

मध्य अमेरिकी देश एल साल्भाडोरमा गत फेब्रुअरी ४ मा राष्ट्रपति, उपराष्ट्रपति र विधान सभाका सबै ६० प्रतिनिधिहरू चुन्न आम चुनाव भएको थियो। मार्च ३ मा भएको दोस्रो चरणको निर्वाचनमा मतदाताहरूले नगरपालिकाका सबै ४४ मेयर, नगर परिषद्हरू र एल साल्भाडोरका सबै २० प्रतिशत प्रतिनिधिलाई केन्द्रीय अमेरिकी संसद्मा निर्वाचित गरे।

विश्वलाई दिशा निर्देश गर्ने शक्तिराष्ट्रका चुनाव

विश्वमा एक शक्ति राष्ट्रको रूपमा उदाएको र विश्वकै सबैभन्दा बढी जनसंख्या भएको लोकतन्त्रिक मुलुक भारत आगामी महिना निर्वाचनमा जाँदै छ। त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८औं लोकसभा चुनाव १९ अप्रिलदेखि १ जुनसम्म गर्ने घोषणा गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदी र उनको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी) तेस्रो कार्यकालका लागि पनि निर्वाचित हुने आशामा छ। अन्य २८ दलको विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धनले मोदीको प्रयासलाई विफल पार्न प्रयास गरे पनि गाह्रो छ। प्रधानमन्त्री मोदीले सन् २०१४ मा पदभार ग्रहण गरेपछि भारत १०औं ठूलो अर्थतन्त्रबाट पाँचौं स्थानमा पुगेको छ। मोदीको शक्तिखेल यतिमा सिमित छैन। गत अगस्टमा रुस, अमेरिका र चीनपछि चन्द्रमामा मानवरहित यान अवतरण गर्ने भारत चौथो राष्ट्र बनेको छ।  सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने भारतको योजना छ।

निर्वाचनसम्बन्धी केही तथ्य
–    संयुक्त राज्य अमेरिका मतदाता सहभागितामा १७२ देशमध्ये १३९औं स्थानमा छ।
–    सन् १८९२ मा भएको मतदानमा पहिलो पटक मेसिन प्रयोग 
भएको थियो।
–    अस्पतालमा जन्मिएका पहिलो राष्ट्रपति जिमी कार्टर थिए।
–    जर्ज वासिंगटन एकमात्र राष्ट्रपति थिए जसले कुनै पनि राजनीतिक दलको प्रतिनिधित्व गरेका थिएनन्।
–    रोनाल्ड रेगन ६९ वर्षको उमेरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने सबैभन्दा वृद्ध व्यक्ति हुन्।
–    अमेरिकाको सबैभन्दा अग्लो राष्ट्रपति अब्राहम लिंकन ६ फिट ४ इन्च (१.९ मिटर)का थिए। 
–    पहिलो बायाँ हाते राष्ट्रपति जेम्स गारफिल्ड, २०औं राष्ट्रपति थिए।
–    फ्रान्स र स्विडेनका मानिसले चुनाव अगाडि मतदाता सूचीमा नाम दर्ता गर्ने चिन्ता लिनु पर्दैन। किनभने त्यहाँको सरकारले मतदाता योग्य भएपछि स्वत दर्ता गरिदिन्छ।
–    सन् १९८८ देखि ब्राजिलका नागिरकले १६ वर्षको उमेरमै मतदान गर्ने अधिकार पाएका हुन्। 
–    अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा सवार अमेरिकी अन्तरिक्ष यात्रीहरूले सन् १९९७ यता भोट हाल्न पाएका छन्। 
–    अमेरिकामा मतदाताहरू मंगलबार मतदानमा जान रुचाउने भए पनि बाँकी विश्वले आइतबार भोट हाल्न सुरक्षित ठान्छन्। 

विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकाले पनि आगामी नोभेम्बर ५ मा ६०औं अमेरिकी राष्ट्रपति चुनावको लागि तयारी गरिरहेको छ। डोनाल्ड ट्रम्पले जो बाइडेनविरुद्ध पुनः प्रतिस्पर्धा गर्नेछन्। वर्तमान राष्ट्रपति जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट र उनका पूर्ववर्ती डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट लगातार दोस्रोपटक चुनावमा भिँड्दैछन्। यदि ट्रम्पले जिते भने एक कार्यकालको अन्तरमा लगातार दुई कार्यकाल सेवा गर्ने उनी दोस्रो राष्ट्रपति बन्नेछन्। पहिलो ग्रोभर क्लिभल्यान्ड रहेका थिए। क्लिभल्यान्डले संयुक्त राज्यको २२औं र २४औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। ७७ वर्षीय ट्रम्प चार आपराधिक मुद्दाहरूमा प्रतिवादी छन्।  

८१ वर्षीय बाइडेन अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति हुन्। बाइडेन अर्को कार्यकालको अन्त्यमा ८६ वर्षको हुनेछन्। शंकास्पद मतदातालाई विश्वको सबैभन्दा महत्वपूर्ण काममा आफू शारीरिक र मानसिक रुपमा सक्षम छु भनेर आश्वस्त पार्ने काम उनले गरिरहेका छन्। यद्यपि दुवै दलका मतदाता उनको आप्रवासन र मुद्रास्फीतिको ‘ह््यान्डलिङ’बाट असन्तुष्ट छन्। गाजामा हमासविरुद्ध इजरायलको युद्ध रोक्न थप काम नगरेकोमा पनि केही मानिस उनीसँग आक्रोशित छन्। 

युरोपेली संसदको चुनाव ६ देखि ९ जुनमा हुने तय भएको छ। यो सन् १९७९ मा सम्पन्न पहिलो प्रत्यक्ष निर्वाचनपछि यो दसौं संसदीय चुनाव हो। ब्रेक्सिटपछि पहिलो युरोपेली संसदीय चुनाव हो। मेक्सिकोमा पहिलो महिला राष्ट्रपति हुने दौडमा छन्। राजधानीको एक वामपन्थी पूर्व मेयर र एक आदिवासी व्यवसायी महिला, यी दुवै देशको पहिलो महिला राष्ट्रपति बनेर यही जुनमा इतिहास रच्ने दौडधुपमा छन्। मेक्सिको सिटीका पूर्वमेयर क्लाउडिया शेनबाउम निवर्तमान राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको मोरेना पार्टीको तर्फबाट उम्मेदबार छिन्।

उनको प्रतिद्वन्द्वी छोचिल्ट गल्भेज विपक्षी गठबन्धन ब्रोड फ्रन्टबाट प्रतिनिधित्व गर्ने भएकी छन्। प्रारम्भिक मतगणनाले शेनबाउमले बलियो अग्रता पाएको देखाउँछ।

कुन महिना कहाँ चुनाव

त्यसैगरी मे महिनामा पानामा र लिथुवानिया, जुनमा बेल्जियम, मेक्सिको, आइसल्यान्ड, जुलाईमा रुवान्डा, सेप्टेम्बरमा अष्ट्रिया, क्रोयसिया, अक्टोबरमा मोजाम्बिक, नोभेम्बरमा ट्युनिसिया र डिसेम्बरमा दक्षिणी सुडान, अल्जेरिया, गानालगायतका देशमा निर्वाचन हुने तालिका छ। 

बेलायतले तोकेको छैन तिथि

आगामी वर्षको जनवरीसम्म पर्खन सक्ने कानुनी अधिकार हुँदाहुँदै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायतको अर्को आम निर्वाचन सन् २०२४ मा नै गर्न सुझाएका छन्। प्रधानमन्त्री सुनकले आगामी मे २ तारिखमा स्थानीय निर्वाचन भएकै दिन आमनिर्वाचन गराउन भने अस्विकार गरेका छन्। यसले यही बसन्तमा मतदान नहुने स्पष्ट संकेत गर्छ। त्यसैगरी यसै वर्ष चुनाव गर्ने तर मिति नतोक्नेमा दक्षिण अफ्रिका, सेनेगल, नामिबिया, टोगो, श्रीलंका, भेनेज्युयला, स्लोभाकिया छन्। 

स्वतन्त्र र निष्पक्ष चुनावमा ह्रास 

यस वर्ष थुप्रै देशहरू निर्वाचनमा जाने भए पनि धेरै चुनावहरू स्वतन्त्र र निष्पक्ष हुँदैनन्। यसले निश्चय पनि नयाँ बन्ने सरकारहरूमा अर्थपूर्ण प्रभाव पार्छ। सन् २०२३ मा लगातार १८ औं वर्षमा विश्वव्यापी स्वतन्त्रतामा गिरावट आएको एक अध्ययनले देखाएको छ। संयुक्त राज्य अमेरिकामा अवस्थित संस्था फ्रिडम हाउसको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार ५२ देशमा राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता घटेको र २१ देशमा मात्र सुधार भएको पाइयो।  

गत फेब्रुअरी महिनाको सुरुमा एल साल्भाडोरमा भएको निर्वाचनमा राष्ट्रपति नाइब बुकेले विजयी भए। विजयी भाषणमा बोल्दै उनले आफूले पाएको मतको संख्याले विश्वको समग्र लोकतान्त्रिक इतिहासमै किर्तिमान कायम गरेको दाबी गरेका थिए। चुनावी कानुनहरूको व्यापक हेरफेर गरेर मात्र उनको विजय सम्भव भएको थियो। बुकेलेले दोस्रो कार्यकाल सुरु गरे यता एल साल्भाडोरको स्वतन्त्रता खतरामा पर्दै आएको छ। बुकेलेले आपतकालीन अवस्थाको घोषणा गर्दा ६५ हजारभन्दा बढी मानिस मनोमानी ढंगमा नजरबन्दमा पारिएका छन्।

मतदानको अघिल्लो दिन चुनावी कानुनहरू परिवर्तन गर्नु चुनावी हेरफेरका रणनीतिमध्येको एक हो। एल साल्भाडोर र जिम्बाब्बे जस्ता देशहरूमा मतदानको नतिजामा ब्यापक हेरफेर हुनु भनेको त्यहाँको राजनीतिक अधिकार क्षय हुँदै गएको भन्ने बुझ्न सकिन्छ। हालै सम्पन्न रुसी निर्वाचनमा पुन पुटिनले भारी मतले जिते। तर संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत र अन्य राष्ट्रहरूले राजनीतिक विपक्षीहरूको कैद र सेन्सरका कारण मतदान स्वतन्त्र र निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन्।

चुनौतिकाबीच पनि आशाका किरण

गत वर्ष भएका निर्वाचनहरूमा धेरै चुनौतिहरूका बाबजुत केही आशाका किरण भने पलाएको देखिन्छ। संसारका हरेक देश र क्षेत्रहरूमा, स्वतन्त्रदेखि सबैभन्दा दमनकारीसम्म, मानवअधिकार रक्षकहरू, पत्रकारहरू, कार्यकर्ताहरू र आम मतदाताहरू स्वतन्त्रताको रक्षा र विस्तारका लागि अथक प्रयास गरिरहेका छन्।

लाइबेरियाको प्रतिस्पर्धात्मक, स्वतन्त्र एवं व्यवस्थित आमनिर्वाचनले पश्चिमी अफ्रिकाको लागि लोकतान्त्रिक आशाको क्षणलाई जगाएको छ। उक्त क्षेत्रमा सेनाद्वारा कू गरिएको छ। सन् २०२३ मा सबैभन्दा धेरै अंकले सुधार भएको फिजीले सन् २०२२ को उत्तरार्धमा चुनाव पछि सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्‍यो। एस्टोनिया र लाटभियामा समलिंगी विवाह र नागरिक संघलाई मान्यता दिइयो।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.