ढकमक्क घोडेपानी

ढकमक्क घोडेपानी
सुन्नुहोस्

बेनी : म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी जंगलमा गुराँस फुलेर राताम्मे बनेको छ। एकै ठाउँमा फूलेका रंगिविरंगी गुराँसको सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ।

वनैभरी राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल निकै मनमोहक र आकर्षक बनेको छ। ढकमक्क गुराँस फुलेर रंगिएको घोडेपानीको जंगल पर्यटकको पर्खाइमा रहेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन्। ‘यसपालि गुराँस राम्रोसँग फुलेको छ,’ उनले भनिन् ‘चराको आवाज, शान्त वातावरणको जंगलका लालीगुराँसले पर्यटकलाई स्वागत गर्न आतुर छौ।’
ले भरिएको 

जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन सकिन्छ। बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौं लगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारीहरू समूह बनाएर घोडेपानी भ्रमणमा आउन थालेका छन्। 

दैनिक १५० देखि २०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने व्यवसायीले बताएका छन्। चैत–वैशाख गुराँस फुल्ने याम हो। समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङखलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जंगल छ। 

यहाँ रातो, सेतो, चिमाली, सिमाली लगायत जातका गुराँस पाइन्छ। पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ। 

विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ। नेपालमा ३२ प्रजातिका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ। लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो। 

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको दाबी अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुन दाबी गर्छन्। अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फूलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, दुरलेक, बेनी नगरपालिकाको स्वर्गाश्रम, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको ठूला जंगल छन्। 

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले ‘गुराँस पार्क’ निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारको ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर गत साल पार्क बनाइएको थियो। डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। ‘उद्यान बनाउन डिभिजन वन कार्यालय, म्याग्दीले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो,’ उनले भने ‘ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको छ।’ 

घना गुराँसे जंगलबीचमा रहेको पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष सुशील पुनले बताए। ‘पार्कभित्र ढुंगा बिछ्याएर पदमार्ग बनाइएको छ,’ उनले भने ‘पार्कबाट गुराँसको जंगलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ।’

पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ। अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइकलिङ ट्रेल र वर्ड वाचिङ पोइन्ट बनाइएको थियो। घोडेपानी–पुनहिल भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउनका लागि गुराँसपार्क सहयोगी बन्ने डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए। घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जंगलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ।

पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जंगलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ। फर्कंदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ। घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खराकोबाट तलो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन्। प्यारीवराहदेखि घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ।

प्रदेश सरकारले अघिल्लो वर्ष २५ लाख रुपैयाँ खर्चेर घोडेपानीदेखि कालीसार (गुराँस पार्क) हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोडेपानी फर्कन करिब ७ किमी साइकल लेन, हर्स राइडिङ ट्रेल र प्यारीवराह ताल फन्को लगाउने पैदल मार्ग बनाएको थियो। 

डिभिजन वन कार्यालयले ३ वर्षअघि पनि अन्नपूर्ण–७ रिमा गाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँस पार्क बनाएको थियो। फूलबारीमा १० लाख ७० हजार रुपैयाँमा पार्क क्षेत्रलाई तारबार गरी छुट्याउने, गुराँस पार्क क्षेत्रमा एउटा गोलघर बनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.