कोशीमा अपराधको नयाँ स्वरूप, अनुसन्धान चुनौतीपूर्ण

कोशीमा अपराधको नयाँ स्वरूप, अनुसन्धान चुनौतीपूर्ण

विराटनगर : अपराधको स्वरूप बदलिँदै जाँदा कोशी प्रदेशको अनुसन्धान प्रणालीमाथि नयाँ–नयाँ चुनौती थपिएको निष्कर्ष प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ ले निकालेको छ।
 
सूचना प्रविधिको विस्तारसँगै साइबर अपराध, डिजिटल ठगी, वित्तीय अपराध, मानव बेचबिखन, लागुऔषध कारोबार तथा संगठित अपराधका घटनाहरू बढ्दै जाँदा परम्परागत अनुसन्धान पद्धति प्रभावहीन बन्दै गएको भन्दै अनुसन्धानलाई वैज्ञानिक, प्रविधिमैत्री र व्यावसायिक बनाउनुपर्नेमा अधिकारीहरुले जोड दिएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा आइतबार सम्पन्न गोष्ठीमा सार्वजनिक गरिएको तथ्यांकले प्रदेशको अनुसन्धान प्रणालीमाथि ठूलो चाप रहेको देखाउँछ। 

चालु आर्थिक वर्षको हालसम्म कोशी प्रदेशमा ९ हजार ५ सय ९९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ हजार १ सय ७ वटा मात्र फर्स्यौट भएका छन्। पुराना ‘पेन्डिङ’ मुद्दा ६ हजार ५ सय १५ वटा छन्। यद्यपि, पुराना मुद्दामध्ये २ हजार ८८ वटा फर्स्यौट गरिएको जानकारी पनि कार्यक्रममा दिइयो। 

अपराध अनुसन्धान विभागका एसएसपी मुकुन्द मरासिनीले प्रदेशको अपराध अनुसन्धान अवस्थाका बारेमा जानकारी दिँदै चालु आर्थिक वर्षमा २ हजार १ सय ८८ जना फरार प्रतिवादी पक्राउ गरिएको बताए। तर, विभिन्न अपराधमा संलग्न ९ हजार २ सय ६८ जना प्रतिवादी अझै फरार रहेको तथ्यांक प्रस्तुत गर्दै उनले कानुन कार्यान्वयनका क्षेत्रमा चुनौती गम्भीर रहेको उल्लेख गरे। 

मरासिनीका अनुसार अहिलेको प्रमुख चुनौती अपराधको बदलिँदो स्वरूप हो। सूचना प्रविधिको प्रयोगसँगै अपराधीहरूले नयाँ माध्यम अपनाउन थालेका छन्। विशेषगरी साइबर अपराध र डिजिटल ठगीका घटनामा उल्लेखनीय वृद्धि भएको उनले बताए। नेपालबाट डिजिटल अपराधमार्फत प्रत्येक वर्ष दुई अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको उनले उल्लेख गरे। यस्तो अवस्थालाई नियन्त्रण गर्न प्रदेशस्तरमै अत्याधुनिक डिजिटल फरेन्सिक प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता उनले औंल्याए। 

एसएसपी मरासिनीले अनुसन्धानको उद्देश्य अपराधी पत्ता लगाउनु मात्र नभई सत्यको खोजी गर्नु पनि भएको बताए। अनुसन्धान निष्पक्ष, प्रमाणमा आधारित र पीडितमैत्री हुनुपर्नेमा जोड दिँदै उनले पीडितले न्यायको अनुभूति गर्न नसके अनुसन्धानको सार्थकता समाप्त हुने धारणा व्यक्त गरे। 

अपराध अनुसन्धान विभाग प्रमुख एवं एआईजी सुशीलसिंह राठौरले प्रविधिको दुरुपयोगसँगै अपराधको प्रकृति परिवर्तन भएको बताए। साइबर तथा डिजिटल अपराध अनुसन्धानका लागि नयाँ सिप, आधुनिक उपकरण र उन्नत अनुसन्धान विधि अपरिहार्य बन्दै गएको उनको भनाइ थियो। प्रमाणको वैज्ञानिक परीक्षण र वस्तुगत विश्लेषणबिना प्रभावकारी अनुसन्धान सम्भव नहुने उल्लेख गर्दै उनले अनुसन्धान अधिकारी र अभियोजनकर्ताबीच साझा दृष्टिकोण तथा समन्वय विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
 
एआईजी राठौरले कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा अपराध अनुसन्धानलाई परिणामुखी बनाउन बनाउन अनुसन्धान र अभियोजन निकायबीच एकरूपता आवश्यक रहेको बताए। गोष्ठीबाट प्राप्त सुझावहरूले अनुसन्धान प्रणाली सुधारमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.