१५ वर्षपछि जागेको न्यायको आशा

१५ वर्षपछि जागेको न्यायको आशा
श्रीमान् रामहरी श्रेष्ठको हत्या आरोपी कालीबहादुर खामलाई अदालतमा उपस्थित गराउँदा अदालतमा भावुक भएर रुँदै रमिला श्रेष्ठ । तस्बिर : अनिल ढकाल।

चितवन : श्रीमान्को हत्याको मुख्य योजनाकार मानिएका कालीबहादुर खामलाई अदालतमा पेस गरिरहँदा रमिला श्रेष्ठका आँखा ओभानो थिएन। अदालत परिसरमा प्रहरीको नियन्त्रणमा खाम देखिए। त्यसको केही पर रहेकी रमिला श्रीमान् सम्झिँदै भक्कानिँदै थिइन्। अदालतमा उपस्थित गराउँदा पक्राउ परेपछि रमिला श्रेष्ठको ध्यान चितवन जिल्ला अदालतको आदेश के होला भन्नेमा थियो। 

श्रीमान् हत्याका मुख्य योजनाकार मानिएका जनमुक्ति सेनाका पूर्वकमाण्डर खामलाई अदालतमा बुझाउने खबर पाएकी रमिला बिहानै चितवन जिल्ला अदालत पुगेकी थिइन्। दिनभर उनी अदालत कुरेर बसिन्। प्रहरीले उनलाई खबर गरेको थियो। 

सोधपुछका लागि भन्दै माओवादीले अपहरण गरेका श्रीमान् रामहरी श्रेष्ठ फर्किएनन्। उल्टै झन्डै एक महिनापछि शव फेला परेको खबर पाइन्। श्रीमान् त फर्किएनन्, तर न्याय फर्किएला भन्ने आशा रमिलामा छ। श्रीमान्को हत्याले बिछिप्त बनेकी रमिलाले न्यायका लागि भौतारिँदा पाएको कष्ट सम्झेर भावुक बनिन्। सर्वोच्चबाट मिसिल मगाउने भनेपछि उनी पर्खेर बसेकी थिइन्।  

श्रीमान्का हत्या आरोपी १५ वर्षपछि पक्राउ परेपछि उनलाई न्यायको आशा जागेको छ। रमिला ढिलै भए पनि न्याय पाउनेमा विश्वस्त थिइन्। ‘म पीडितले न्याय पाम्। मैले मेरो श्रीमान् त फर्काउन सक्दिनँ। मैले चित्त बुझाउने भनेको न्याय पाए भने राहत हुन्थ्यो भन्ने हो’, रमिलाले भनिन्, ‘अहिलेको गृहमन्त्रीले जस्तोसुकै जोसुकै भए पनि छोड्दिन भन्नु भएको हुँदा न्याय पाउँछु कि भन्ने आश छ। तर। प्रधानमन्त्री माओवादीको भएकोले डर लागेको छ। जुन पार्टीको भए पनि प्रधानमन्त्री, गृहमन्त्री सबैको हो। कानुनबमोजिम कारबाही गरेर हामीजस्तो पीडितले न्याय पाउनुप¥यो।’ 

चितवन जिल्ला अलालतमा बुधबार उनी दिनभर बसिन्। मिसिलको सक्कल झिकाउने आदेश भएपछि खामलाई प्रहरीले हिरासतमा राखेको छ। 

श्रीमान्को हत्या हुँदा रमिला ३२ वर्षकी थिइन्। त्यसबेला छोरा रोम १२ र छोरी स्मृति ७ वर्षकी थिइन्। न्यायका लागि रमिला धेरै भौतारिइन्। त्यसबेला खामले फोन गरेर बोलाएको रमिला सम्झिन्छिन्।  द्वन्द्वकालका घटनामा मारिएकाहरू सहिद घोषणा भए। रमिलालाई सहिद घोषणा होइन न्याय चाहिएको छ। ‘मैले क्षतिपूर्ति लेउ, छोराछोरी पढाइदेऊ, हाम्रो परिवारको जिम्मा लेउ भनेर केही भनेको छैन। मलाई चाहिएको न्याय मात्रै हो, अरू केही चाहिएको छैन’, उनले भनिन्।

खामको मुद्दामा चितवन जिल्ला अदालतले सक्कल मिसिल मगाएको छ। सर्वोच्च अदालतमा रहेको मिसिलको सक्कल झिकाउन न्यायाधीश दयाराम ढकालले आदेश दिएका हुन्। सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन आदेश भएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए। 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई काठमाडौंंको ठमेलबाट पक्राउ परेका खामलाई प्रहरीले मंगलबार राति चितवन ल्याएको हो। लामो समयदेखि मुल्तबिमा रहेको मुद्दा अगाडि बढेको छ। 

कोटेश्वरका व्यापारी श्रेष्ठ २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए। चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनको सम्पर्क कार्यालय श्रेष्ठकै घरमा थियो। २०६४ चैत १४ गते राति उक्त कार्यालयबाट १७ लाख रूपैयाँ र एउटा पेस्तोल चोरी भएको घटना छानबिनका लागि भन्दै गोबिन्दबहादुर बटालासहितको टोलीले तेस्रो डिभिजन ल्याएका थिए। कुटपिटका क्रममा श्रेष्ठको मृत्यु भएपछि ढाकछोपको प्रयास गरे पनि घटना बाहिर आएको थियो।  पूर्वीरुकुम तथा उत्तरगंगा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय खामको निर्देशनमा अपहरण र कुटपिटबाट श्रेष्ठको मृत्यु भएको आरोप छ। श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा भेटिएको थियो। श्रेष्ठको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु टाउकोमा धारिलो हतियारको चोटका कारण भएको देखिएको थियो। 

मुद्दा दर्ता भएको पन्ध्र वर्षपछि खामलाई पक्राउ गरेर अदालतमा पेस गरिएको हो। अर्का आरोपी गोबिन्दबहादुर बटाला अदालतबाट सफाइ पाएका थिए। रमिलाले खाम र बटालाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। २०६८ जेठ १७ गते जिल्ला अदालत चितवनको भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला गरेको थियो। सर्वोच्च अदालतले बटालालाई पुनरावेदन अदालतको फैसला उल्ट्याएर सफाइ दिएको थियो। ‘बटालालाई जस्तै खामलाई पनि छुटाउँछन् कि भन्ने शंका छ,’ रमिलाले भनिन्, ‘आरोपीलाई कानुन अनुसार कारबाही होस् भन्ने माग हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.