एकैठाउँ ५ हजारको ध्यान

एकैठाउँ ५ हजारको ध्यान

काठमाडौं : लुम्बिनीमा पाँच हजारले एकैठाउँमा एक साता चक्र विज्ञान कार्यक्रमअन्तर्गत ध्यान गरेका छन्। जीवन विज्ञान नामक आध्यात्मिक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम विश्वमै पहिलोपटक भएको आयोजकको दाबी छ। चैत १७ गतेदेखि सुरु भएको उक्त ध्यान शुक्रबार सम्पन्न हुँदै छ।

‘मेचीदेखि महाकाली अनि हिमालदेखि तराईका सबै पेसा, व्यवसाय अनि जातजाति र भाषाभाषीलाई एउटै थलोमा समेट्न मन थियो, जुन पूरा भएको छ’, जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ रमेश नेपालले अन्नपूर्णसँग भने, ‘साताव्यापी विराट चक्र विज्ञानमा हुने ध्यानले नेपालमात्र होइन, विश्वमै एउटा तरंग फैलिएको छ। पाँच हजार एकले ध्यान गर्ने भने पनि झन्डै ६ हजारको संख्या छ। सहभागी सबैले परिवार र आफन्तलाई जोड्ने उत्साह लिनु नै कार्यक्रमको अर्को सफलता हो।’ उनका अनुसार, चक्र विज्ञानमार्फत विशुद्ध मानवीय हित गरेको छ। मानव कल्याणका लागि यो ध्यानले काम गर्ने बताउँदै उनले सातवटा चक्र जगाएर हरकोहीले जीवनलाई चाहेजस्तो बनाउन सक्ने बताए।

चक्र विज्ञानमा सहभागी हुन लुम्बिनी पुगेका सुनसरी हरिनगर गाउँपालिका–१ का अध्यक्ष प्रवीणप्रसाद गुप्ता अब क्रमशः वडाका झन्डै १० हजार बासिन्दालाई चक्र विज्ञानमार्फत ऊर्जावान् बनाउने बताउँछन्। ‘त्यसपछि सबै वडाका अध्यक्षसँग जीवन बदल्ने यो कलाबारे बताउँछु, बुझाउँछु र भन्छु आआफ्नो वडामा यो कार्यक्रम चलाएर जागरुक र ऊर्जावान् बनाऔं’, उनले भने, ‘रामदेव बाबाको योग टेलिभिजनमा हेरेर अलिअलि गर्थें, जीवन विज्ञान छ, नेपालमै यति राम्रो कार्यक्रम छ भन्ने थाहा थिएन।’ उनले जीवन स्वस्थ्य भएर बाँच्ने कला सिकेको बताए। भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका लेखाअधिकृत हरिकृष्ण तिमिल्सिनाले चक्रको ज्ञान पाएपछि तिनलाई चलायमान गरे मानिस अनुशासित हुने बताए। 

‘शासन बिग्रिए कुशासन सुरु हुने भन्दै गुरुहरूले त्यस्तो कर्मबाट मानिसलाई पोल्न थाल्ने र मानिसको सुख, शान्ति अनि समृद्धि हराउँदै जाने यथार्थ अनुभूति भयो’, उनी थप्छन्, ‘सात चक्रको ज्ञान लिएपछि जीवन ऊर्जा नै ऊर्जाले भरिएको रहेछ, अनेक सम्भावना देखिने रहेछ भन्ने भयो। जीवन जिउने कला सिकेँ। जीवन र जगत्का अनेक आयाम बुझ्ने अवसर पाएँ।’

झन्डै ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी ७४ वर्षीया लक्ष्मी अर्याल नेपाल आएको बखत पहिलोपटक चक्र विज्ञानमा सहभागी हुन लुम्बिनी पुगिन्। अमेरिका बस्दा पनि बेलाबखत दैनिक योगध्यानको कक्षा अनलाइनबाट सहभागी हुने उनी साताव्यापी चक्र जागरणको कोर्समा बस्न पाउँदा अत्यन्तै खुसी मिलेको बताउँछिन्। 

भन्छिन्, ‘शरीरभित्रका सातवटा चक्र चलायमान गर्ने कला सिकेपछि लाग्यो– नेपालका सबै कर्मचारी, नेताहरू, विद्यार्थी र शिक्षकले अनिवार्य लिनुपर्ने बोध भयो।’ गीत–संगीतसँगै नाचगान, योग र ध्यान हुने भएकाले बिहान साढे सातदेखि साँझ पाँच बजेसम्मको साढे ९ घण्टा बितेको पत्तो नहुने उनको भनाइ छ। उदयपुरबाट लुम्बिनी पुगेका १२ वर्षीय सुदिन राई पनि चक्र विज्ञानमा रमाएका छन्। भन्छन्, ‘यो कार्यक्रमले पढाइमा सहयोग पुग्ने रहेछ।’ कार्यक्रममा १२ देखि ७८ वर्ष उमेरका मानिस सहभागी छन्। ३५ देखि ४५ वर्षका मानिसको सहभागिता बढी छ भने पुरुषभन्दा महिलाको संख्या बढी छ।

उच्च अदालतका पूर्वन्यायाधीश भीमकुमार ओझा जीवन विज्ञानका कार्यक्रम रेडियो, टेलिभिजनमा सुन्ने र हेर्ने अनि पत्रपत्रिकामा पढ्ने गर्थे। ‘कार्यक्रममै सहभागी भएर प्रत्यक्ष बुझ्दा र भोग्दा अत्यन्तै गजब पाएँ’, उनले भने, ‘सबै कुरो आफैंमा रहेछ, मै हुँ मभित्रै छ भन्ने चेत पाइने रहेछ। मलाई मैले जगाउनुको विकल्प छैन भन्ने बुझेँ।’ हरेक बालबालिकामा चक्र विज्ञानको बिज रोप्नुपर्ने बताउँदै उनले विद्यालय तहमा पाठ्यक्रम बनाएर अध्यापन र अभ्यास गर्नुपर्नेमा जोड दिए। मायादेवी गाउँपालिका, रुपन्देहीका अध्यक्ष ध्रुवनारायण चौधरीले देशभरका जनप्रतिनिधिलाई यो ज्ञान दिन सके विकास र परिवर्तनले छिटो सार्थकरूप लिने बताए। ‘मायादेवी गाउँपालिकाले शरीरका सात चक्र जगाएर मानव स्रोत परिचालन गरे हरेक नागरिकमा परिवर्तन आउने भएकाले अत्यावश्यक सम्झेर नीति तथा कार्यक्रममा राख्नेछ’, उनले भने, ‘जनप्रतिनिधि दिनभर तनावमा हुन्छन्, यसको व्यवस्थापन कला यसले दिनेरहेछ। व्यवस्थित हुन र समयमा सेवासुविधा दिन यसले सिकाउने रहेछ।’

सरकारका पूर्वसहसचिव पुरुषोत्तम नेपाल चक्र विज्ञानमा दोस्रोपटक सहभागी हुँदै छन्। परिवार र आफन्त गरी सातजनाको टोली लिएर भक्तपुरबाट लुम्बिनी पुगेका उनी भन्छन्, ‘मानिसलाई परिवारप्रति विश्वास छैन, युवालाई देशप्रति विश्वास छैन, नेपालमै कमाउँछु वा नेपालमा भविष्य सुरक्षित छ भन्नेमा विश्वास छैन। यस्तो अवस्थामा चक्र विज्ञानले आत्मविश्वास र आत्मसम्मान जगाउँछ। सकारात्मक सोचको विकास गरी केही गर्छु हुन्छ भन्ने सिकाउँछ।’ उनले मानिसभित्र सम्पूर्ण छ भन्ने बुझाउन चक्र विज्ञान उपयुक्त भएको बताए। उनका अनुसार, कार्यक्रममा गीतका हरेक श्लोक जोड्दै गुरुहरूबाट जीवनका अनेक सम्भावना खोतल्ने काम भएको छ। ‘सेवानिवृत्त हुनुअघिसम्म सरकारी सेवा जे जति गरें, विवेकले गरेँ’, नेपाल भन्छन्, ‘समयमै चक्र विज्ञान लिएको भए दोब्बर  गर्न सक्ने रहेछु। किन बेलैमा यो लिइनँ भन्ने लागेको छ।’

काठमाडौंबाट लुम्बिनी पुगेका ६५ वर्षीय भवानीशंकर सुवेदीले अधिकांश हामी चेतनाहीन जस्तै रहेको र चक्र विज्ञानले चेतना फैलाउने काम गरेको निष्कर्ष निकाले। उनले भने, ‘आत्मचेतना र आत्मविश्वासको कमीले हामीले जीवनमा धेरै कुरा गुमाएका रहेछौं, बेलैमा बुझेनछौं जीवन।’ स्याङ्जा वालिङका विवश पाठक थप्छन्, ‘जीवनमा जे सिक्नुपर्ने थियो, चक्र विज्ञान नलिएर त्यसबाट वञ्चित भएको पाएँ। बेलैमा यो बुद्धि पुगेको भए मेरो जीवन अर्कै हुनेरैछ।’ कमला तिवारीलाई चक्र विज्ञानले जीवन बदल्ने सूत्र दिएको अनुभूति भएको छ। ‘अविस्मरणीय सिकाइ र अनुभव रह्यो, यति त सोचेकै थिइनँ’, उनी भन्छिन्, ‘हामीले जीवन बुझेकै रहेनछौं न जगत्। नजानेरै जीवन बिताएछौं भन्ने लागेको छ। अब चिनेजानेका आफन्त सबैलाई यो कोर्स लिन पठाउँछु।’

सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी पारिवारिक सम्बन्ध सुमधुर बनाउनदेखि समाज परिवर्तनसम्मका लागि चक्र विज्ञानले अहं भूमिका खेल्ने बताउँछन्। ‘विराट यो चक्र विज्ञान व्यावहारिक रहेछ जसमा मनोविज्ञान, भौतिक जगत् र अध्यात्म मिसिएको रहेछ’, उनी भन्छन्, ‘शिक्षकमा यसको बिज रोप्ने हो भने मुहानमा सङ्लो पानी बगेजस्तै हुनेछ, त्यसपछि सबैलाई यसले सङ्लो पार्दै लैजाने छ। कर्मचारी सबैले लिए सेवाप्रवाह चुस्तदुरुस्त हुनेमा शंका छैन। सेवाभाव पनि बढ्छ।’ सोही पालिकाका अधिकृत गणेशप्रसाद खनाल नकारात्मक पक्ष सुकाउने र सकारात्मक पक्ष फुकाउने चक्र विज्ञानले सकारात्मक सोच, सत्प्रयास र समृद्धिको बाटो देखाउने दाबी गर्छन्। नवलपरासी गैंडाकोटका ५४ वर्षीय रामचन्द्र चालिसे उमेर ढल्के पनि जीवनमा नयाँ ऊर्जा मिलेको बताउँछन्। भन्छन्, ‘बालक होस् वा वृद्ध, जीवनमा केही गर्ने सोच यसले जगाउँछ अनि सहज जीवन जिउन र क्षमता वृद्धि गर्न यो उपयोगी छ।’

जीवन विज्ञानकी संयोजक निर्मला केसीले चक्र विज्ञानमा सहभागी हुनेले प्रदेश प्रदेश र पालिका पालिकामा यो कार्यक्रम लैजान अनुरोध गरेको जानकारी दिइन्। जीवन विज्ञान ललितपुरका संयोजक एकनारायण काफ्ले चक्र विज्ञान सोचेभन्दा भव्य भएको बताउँछन्। ‘झन्डै ६ हजारले त लिनुभयो उहाँहरू अब सन्तान र आफन्तलाई पठाउनेमा पुग्नुभएको छ’, उनी भन्छन्, ‘अब नेपाली जाग्नेछन्, यसले विश्वलाई यही ऊर्जा दिएको छ।’ लुम्बिनीका संयोजक केशवप्रसाद खनालले व्यापार व्यवसायमा तनावग्रस्त बनेर विरक्तिएर आउने सयौं मित्रहरू यतिबेला शान्त भावमा देखिएको बताए। उनले भने, ‘उहाँहरूले जीवनलाई कसरी व्यवस्थित गर्ने र कसरी सहज जीवन ज्यूने भन्ने कला सिकेको बताउनुभएको छ। कसैले जीवन त थियो तर बोध बल्ल भयो भन्नुभएको छ त कसैले नवजीवन पाएको अनि कसैले जीवन व्यवस्थित बनाउन सिकेको बताउनुभएको छ। यति भए हामी पनि खुसी।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.