सरी बुवा, त्यो तपाईं हुुनु हुँदो रहेछ !

सरी बुवा, त्यो तपाईं हुुनु हुँदो रहेछ !

अन्नपूर्ण पोस्ट्का बैतडी संवाददाता कृष्ण विष्ट दुर्घटनास्थल गए, तस्बिर खिचे । फर्किएपछि मात्र थाहा भयो– पहिचान खुल्न नसक्ने गरी निधन भएका आफ्नै बुवा रहेछन् ।

धनगढी : कृष्ण विष्ट अन्नपूर्ण पोस्ट् र र एपीवान टेलिभिजनका बैतडी संवाददाता हुन् । उनी बैतडीको सूचनामा दक्खल राख्ने पत्रकार पनि हुन् । स्थानीय सेभेन स्टार रेडियोमा उनी समाचार प्रमुख हुन् । रेडियोको बिहानको समाचार तयार पार्ने र वाचन गर्ने ड्युटी उनकै हुन्छ । 

शुक्रबार एकाबिहानै उनी रेडियोमा पुगे । खोडपेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको खबर आयो । उनले प्रहरीसँग त्यसको सम्पूर्ण विवरण मागे । प्रहरीले ट्याक्टर दुर्घटनाको सबै जानकारी दियो । प्रहरीले दिएको सूचनामा ट्याक्टर चालक राजेश चौधरी र एक जना सनाखत हुन नसकेको व्यक्तिको मृत्युको खबर उनले आफैं लेखे पनि ।

त्यो खबर आफ्नै रेडियोमा पढे । अन्नपूर्ण पोस्ट्को अनलाइनमा पनि पठाए । एपीवान टेलिभिजनको जिल्ला ब्युरोको फेसबुक ग्रुपमा उनले उपलब्ध फोटो भिडियो पठाए । समाचार अनलाइनमा प्रकाशन भयो । एपीवान टेलिभिजनमा पनि प्रसारण भयो । तर कृष्णको पत्रकारिताको सक्रियता त्यत्तिमै सकिएन । उनले घटनास्थल जाने निधो गरे ।

उनले घटनास्थल गएर त्यहाँको फोटो भिडियो खिच्ने निधो गरे । घटनाको प्रारम्भिक खबर सबैतिर फैलिसकेको थियो । उनले घटनाको फोटो, भिडियो र विस्तृत विवरणका लागि मोटरसाइकल समाते । र, घटनास्थलतिर लम्किए । 

उनी घटनास्थल नजिकैको खोडपे बजारमा बस्छन् । उनले काम गर्ने स्थानीय रेडियोको कार्यालय पनि खोडपे बजारमै छ । खोडपेबाट झन्डै ६÷७ किलोमिटरको दूरीमा रहेको दुर्घटनास्थल झौलेक मोडमा उनी पुुगे । 

उनले दुर्घटनाग्रस्त ट्याक्टरको तस्बिर खिचे । चालक र नजिकैको रुखमा अँगालो हालेर रक्ताम्य भएका सनाखत हुन नसकेको भनिएका व्यक्तिको पनि उनले तस्बिर खिचे । दुर्घटनामा घाइते भएकाले उनले गुहार माग्दै रुखलाई अँगालो हालेको अनुमान गर्न सकिन्छ । घटनास्थल रक्ताम्मे थियो ।  कम्मर र पेटमा गहिरो चोट लागेको थियो । सायद उनी खसिसकेपछि ट्याक्टर उनीमाथि बज्रिएको हुनुपर्छ । त्यो रक्ताम्य शरीर बुवाको हुन सक्ने भनेर कृष्णले कल्पनासमेत गरेका थिएनन् । किनकि उनका बुवा काठको ठेक्कापट्टाको काम गर्छन् । बुवा केही दिनदेखि त्यही काममा व्यस्त थिए । घर आउने पक्की सडकमा दुर्घटना भएको थियो । बुवाले घर आउँदै गरेको खबर पनि परिवारलाई गरेका थिएनन् ।

कृष्ण तस्बिर खिचेर झन्डै दुई सय मिटर तल रहेको खोलाबाट माथि सडकमा उक्लिए । उक्त ट्याक्टर सुर्नयाबाट खोडपेतिर आइरहेको थियो । 

कृष्णसँगै रहेका प्रहरीले ट्याक्टरमा ज्यापुबाट को चढेको थियो भन्ने सोधी खोजी गरे । जब पत्ता लाग्यो, उनी बेहोस भए । सनाखत हुन नसकेका ट्याक्टरका यात्रु कृष्णकै बुवा मन्धीर विष्ट (नागरिकताको नाम मानबहादुर विष्ट) रहेछन् । 

दुर्घटनामा निधन भएका आफ्नै बुवाको तस्बिर खिचे तर अनुहार छोपिएको कारण चिन्न सकेनन् उनले । सडकमा आइसकेपछि मात्र  त्यो तस्बिर बुवाको नै रहेको थाहा पाए ।

घटनास्थलमा रहेका अर्का पत्रकार सीपी लोहिया भन्छन्, ‘आफैंले रिपोर्टिङ गरेर सडकमा आएपछि सनाखत हुन नसकेका व्यक्ति बुवा हुन् भन्ने उनलाई थाहा भयो । अनि उनी (कृष्ण) सडकमै ढले । सम्हाल्न गाह्रो भइरहेको छ ।’

कृष्णका बुवाको उमेर ५२ वर्षमात्रै हो । उनी खोडपे आसपासको वन र सामुदायिक वनमा काठको काम गर्छन् । कहिले घर त कहिले वनतिर हुने भएकाले घर आउने जाने उनको ठेगान नै हुँदैनथियो । ‘घर आउने खबर गरेको भए सायद दुर्घटनाको जानकारी राति नै आउने थियो कि ? खोजबिन गर्दा घाइते भएका बुवा बचाउन सकिन्थ्यो कि ?’ पत्रकार लोहियाले भने, ‘पत्रकार आफैंले बुवाको शवको रिपोर्टिङ गरे ।’

दुर्घटना भएको ठाउँ एकदमै साँघुरो छ । दुर्घटनास्थल नजिकको भित्तातिर गाडी घस्रिएको निसान रहेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले पनि कुनै गाडीलाई साइड दिने बेलामा किनारातिर रहेको ट्याक्टर खसेको अनुमान लगाएको छ । 

सुर्नयाबाट खोडपे गइरहेको से२त ३६७८ नम्बरको ट्याक्टर बिहीबार राति ११ बजेतिर जयपृथ्वीसिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.