प्रवासमा निःशुल्क संगीत कक्षा, उत्पादन स्वदेशमा

प्रवासमा निःशुल्क संगीत कक्षा, उत्पादन स्वदेशमा
सुन्नुहोस्

काठमाडौं : नेपालीसांगीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ। ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ। तर गायक तथा संगीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ। उनले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई निःशुल्क संगीत पढाइरहेका छन्।

‘गीतसंगीत त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो। हामीले कक्षामा अङ्ग्रेजी बोल्न दिदैनौँ। यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ। विगतमा नेपाली भाषाकै लागि त्यहाँ आइपुग्नेले अहिले गीत, संगीतमै आफ्नो भविष्य देख्न थालिसकेका छन्। यो हाम्रा लागि ठूलो खुसीको कुरा पनि हो’, गायक पौडेलले भने। 

अमेरिकाको ओहायो सहरमा उनले गीतसंगीतको कक्षा सञ्चालन गरिरहनुभएको छ भने उनका अरु साथीहरूले नृत्य र यससँगै भाषाको पनि कक्षा सञ्चालन गरिरहेका छन्। उनका अनुसार सात सहरमा रहेका यस्ता कक्षाले नेपालीलाई आकर्षित पनि गरिरहेको छ। सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका नेपालीहरू कक्षामा सहभागी छन्। उनीहरूले समय व्यवस्थापन गरेका छन् र निकै चाखसित नेपाली गीतसंगीतमा रमाएका छन्। 

गीतसंगीत मन नपराउने मानिस कमै होलान्। अधिकांशलाई त गीत गाउने, बाजा बजाउने सोख नै हुन्छ, जुन स्वाभाविक पनि हो। अमेरिकास्थित संस्था इन्ट्रा फाउन्डेसनको व्यवस्थापनमा ओहायोमा रहेका नेपालीको यो संगीत कक्षा हेर्दा सहभागीहरू नेपालमा अधुरा रहेका सपना अमेरिकामा पूरा गर्ने अवसरका लागि तल्लीन देखिन्छन्। यहाँ समय नभएर या आर्थिक आदि कारणले आफ्नो गीत संगीतको भोक मेटाउन नसकेकाहरूले अहिले यसमा लागिपरेका छन्, पौडेलले भने। 

‘प्रवासमा आएर आफ्नो सपना पूरा गर्ने काममा अगाडि बढ्न पाउँदा सहभागीहरू खुसी मात्र हुनुहुन्न, उहाँहरू यस क्षेत्रको भविष्य पनि देख्ने गर्नुभएको छ। यी कक्षाका विद्यार्थीले गीतसंगीतमा आफूहरू लाग्ने तयारी नै थाल्नुभएको छ। म पनि प्रवासमा आएर आफ्नै पेसाको काममा लाग्न पाउँदा उहाँहरूभन्दा कम खुसी छैन, निकै नै उत्साहित छु’, गायक पौडेलले भने। 

नेपालमा आफ्ना दुईसहित फुटकर रुपमा तयार गरिएका २५ गीतिसङ्ग्रहमा स्वर र संगीत दिइसकेका गायक पौडेल अमेरिका पुगेर प्राविधिक शिक्षातर्फ आकर्षित भए। २०७६ सालमा अमेरिका पुगेपछि विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस महामारीले केही समय विश्राम लिनु परे पनि पनि गायक पौडेल पछि इन्ट्रा फाउन्डेसनसँग जोडिए र त्यसयता संगीत सिकाउने शिक्षकका रुपमा कार्यरत छन्। 

‘म संगीतबाट टाढिन नसकेका सन्दर्भमा त्यही काम पाएँ। प्रवासमा आएर संगीत नै सिकाउन पाउँदाको खुसीलाई साधारण शब्दमा मात्र व्यक्त गर्न म सक्दिन। अहिले यो सामान्य सुनिए पनि केही वर्षपछि यसको नतिजा देखिनेछ कि यसबाट अमेरिकामा पनि धेरै नेपाली कलाकार उत्पादन हुनेछन् र आफ्ना प्रतिभा प्रस्फुटन गरेर देखाउने छन्’, उनले भने। 

रेडियो नेपालमा २०६० मा बालगीत, २०६१ मा उपत्यकाव्यापी बालगीत प्रतियोगिता, २०६६ र ६७ मा जागरण गीत, २०७० मा आधुनिक गीतमा उत्कृष्ट भएका गायक पौडेलले देश छाडेर पनि संगीत छाड्न सकेका छैनन्। उनले पछिल्लो तीन वर्षमा तीसको हाराहारीमा गीत तयार गरेका छन्। नेपाल आउँदा प्रायः गीत लिएर नै यहाँ आउँछन्। 

विविध कारणले प्रवास जानु परे पनि गीतसंगीतप्रतिको आफ्नो सक्रियतालाई उनले घट्न दिएका छैन। यतिखेर पनि उनले १० वटा गीत लिएर आएका थिए उत्पादन गर्न। तर, गीतिसङ्ग्रह नभई एक/एक गीत सार्वजनिक गर्ने योजना उनले बनाएका छन्।

गायक पौडेल आफू गीतसंगीतमा निरन्तर सक्रिय रहने योजनाअनुरुप नै अघि बढेका छन्। नेपालमा रहँदा नै गीतसंगीतमा सक्रिय गायक पौडेलले अमेरिकामा रहेका नेपालीलाई दैनिक तीन कक्षामार्फत नेपाली गीतसंगीतप्रति आकर्षित गरिरहेका छन्। 

नेपाली गीत संगीतप्रतिको यो मोह र लगावबाट उनले यस क्षेत्रलाई योगदान त दिएकै छन्। यसका अतिरिक्त उनले पछिल्लो समय नेपाली संगीत उद्योगलाई पनि टेवा दिन थालेका रुपमा पनि बुझ्न सकिन्छ। किनभने उनी हरेक वर्ष गीत रेकर्डिङ तथा उत्पादनका लागि नेपालमा आउने गरेका छन्। उनले यस वर्ष यहाँ आएर ३० वटा गीत उत्पादन गरे। यो उनको नियमित कार्यक्रम जस्तै बनेको छ। 

नेपालीहरूले अमेरिकामा गीत या म्युजिक भिडियो उत्पादन गर्न महँगो पर्ने गर्दछ। साथै कतिपय कलाकार यसैका लागि नेपालमै आउने अवसर प्राप्त नगर्न पनि सक्छन्। कलाकारहरूले मान्ने गरेको यो झन्झटलाई गायक पौडेलले दूर गरिदिएका छन्। 

यसबाट सुरुमा सानो ‘भोल्युम’ मा भए पनि नेपाली गीतसंगीत उद्योगले व्यवसाय प्राप्त गर्न सकेको छ भन्न सकिन्छ। गायक पौडेलले अमेरिकामा रहेका नेपालीको गीतसंगीत उत्पादनको चाहलाई नेपालमा ल्याएर साकार पारिदिने र यहाँको ‘म्युजिक इन्डस्ट्री’ लाई थोरै भए पनि ‘बिजनेस’ दिने योजना निरन्तर नै रहने योजना बनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.