बेगखोलाको मोटरेबल पुल लक्ष्यअघि नै निर्माण
![बेगखोलाको मोटरेबल पुल लक्ष्यअघि नै निर्माण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_5Fif8EiO8w_kCVKTnJibB.jpg)
बेनी : राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा लक्ष्यअघि नै मोटर चल्ने पक्की पुल निर्माण भएको छ।
ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेको अवस्थामा सडक विभागको पुल महाशाखामार्फत सञ्चालित बेगखोला मोटरेबल पुल लक्ष्यअघि नै सम्पन्न हुन लागेको हो। ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि २०७८ असार २९ गते बिओकेआई/हिमालयन जेभी र सडक विभागको पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयबीच भ्याट सहित ८ करोड ३० लाख ६८ हजार ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
हिमालयन इञ्जिनियरिङका इञ्जिनियर आभाश सापकोटाले २०८१ असार मसान्तसम्मको ठेक्काको म्याद भएपनि हस्तान्तरण गर्ने तयारी गरेको जानकारी दिए। ‘गत असोज महिनादेखि पुलमा सवारी साधन वारपार गर्न थालेका थिए,’ उनले भने ‘३५० मिटर लामो पहुँचमार्ग निर्माण सकिएको छ। कालोपत्रे गरेर वैशाख १५ गतेभित्र हस्तान्तरण गर्ने तयारीमा छौं।’
पुल महाशाखाको पश्चिम सेक्टरका इञ्जिनियर आशिक रिजालका अनुसार ११ मिटर चौडाइ भएको पुल डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो।
डिजाइन तयार पार्न एक वर्ष लागे पनि आर्थिक रुपमा असहज अवस्थाका बाबजुद पर्याप्त निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघि नै पुल निर्माण गर्न सफल भएको इञ्जिनियर सापकोटाले बताए। २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवत जावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।
रघुगंगा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले पुल बनेसँगै बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवत जावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको बताए। निर्माण व्यवसायीले इच्छाशक्ति देखाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश बेगखोलाको पुलले दिएको उनको भनाइ छ।
पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत महभीर र पोखरबगरस्थित कालीगण्डकीमा यसअघि २ वटा मोटरेबल पुल निर्माण गरेको छ। १९ करोड रुपैयाँको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण भएको हो। गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएको छ। ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्।
२०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत सेतोखोलामा थप एक वटा मोटरेबल पुल निर्माण सुरु भएको आयोजना प्रमुख धु्रबकुमार झाले बताए। यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)