विद्यार्थी खोज्दै घरदैलोमा शिक्षक
![विद्यार्थी खोज्दै घरदैलोमा शिक्षक](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_jmrGwWrUpQ_3M9C7qmeTq.jpg)
कालीकोट : कालीकोटका सामुदायिक विद्यालयहरूले औपचारिक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन्।
शैक्षिक सत्र २०८१ का लागि विद्यालयमा विद्यार्थीको संख्या बढाउनका लागि भर्ना अभियान सञ्चालन गरिएको छ। जिल्लाको सबैभन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालयका शिक्षकहरू विद्यार्थी भर्नाका लागि प्रत्येक समुदायको घरमा पुगेर घरदैलो गर्दै विद्यार्थी भर्ना गर्न अनुरोध गरेका छन्।
विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्नका लागि अभियान सुरु गरेको बताए। उनले भने, ‘गत वर्षदेखि नेपाली र अग्रेजी दुवै माध्यमबाट विद्यालयमा पठनपाठन हुन्छ। जनप्रतिनिधिका छोराछोरी र शिक्षकका छोराछोरीहरू समेत हाम्रै विद्यालयमा पढ्छन्। पढाइको गुणस्तरमा कमी छैन। त्यसैले सबै अभिभावकले गाउँमै रहेको विद्यालयमा आफ्ना बालबालिकाहरू पढाउनुपर्छ।ֹ’
विद्यालयका प्रधानाध्यापक बरालका अनुसार अंग्रेजी र नेपाली दुवै भाषामा कक्षा सञ्चालन भएकाले स्थानीयबासीलाई जानकारी दिनका लागि पनि अभियानलाई केन्द्रित गरेको हो। जिल्लाको रास्कोट नगरपालिकामा रहेको बडिमालीका माध्यमिक विद्यालयले गएको आर्थिक वर्षमा पनि विद्यार्थी भर्ना अभियान सुरु गरेको थियो। अभियानपछि ७५ जनाभन्दा बढी नयाँ विद्यार्थी विद्यालयमा थपिएका खेलकुद शिक्षक जीवनकुमार शाहीले बताए।
यस वर्ष पनि विद्यालयले अन्य विद्यालयका विद्यार्थी तान्ने योजना बनाएको छ। रास्कोट-५ का वडाअध्यक्ष मन तिरुवाले भने, ‘विद्यालयले नयाँ शैली अपनाएर आफ्नो विद्यालयमा विद्यार्थीको चाप बढाउने योजना बनाउनु भनेकै शिक्षामा गुणस्तर आउनु हो।’ एसईई दिने विद्यार्थीहरूका लागि बडिमालिका माध्यमिक विद्यालयले रात्रिकालीन कक्षा सञ्चालन गरेर विद्यार्थीको क्षमता अभिवृद्धि गरेको थियो।
शिक्षक प्रेम शाहीले अघिल्लो वर्षको भर्ना अभियान पनि निक्कै प्रभावकारी भएको बताए। जिल्लाका अन्य माध्यमिक विद्यालयले पनि भर्ना अभियान सुरु गरेका छन्। खाँडाचक्र नगरपालिका-१ को बालविकास निम्न माध्यमिक विद्यालय र वडा नम्बर ८ को जनप्रभात माध्यमिक विद्यालय सेरावाडाले घरदैलो अभियान सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले विद्यार्थी भर्ना अभियान सुरु गरेको बताए।
उनले भने, ‘शैक्षिक सत्र २०८१ बाट बस सेवा सञ्चालन गर्ने तयारी समेत गरेका छौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यार्थी भर्ना अभियान चलाउन निर्देशन गरेकाले अन्य विद्यालय पनि अभियान चलाउने तयारीमा छन्। कालीकोटमा ७६ मावि छन्। सञ्चालनमा रहेका माविमध्ये केहीले भने विद्यार्थी तान्न अभियान चलाउने गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)