पर्यटकले भरियो घोडेपानी–पुनहिल
![पर्यटकले भरियो घोडेपानी–पुनहिल](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_legmdMeGMl_3FIq56B9ZY.jpg)
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्रमा पर्यटकको घुइँचो लागेको छ। ढकमक्क लालीगुराँस फुलेर रंगिएको घोडेपानी–पुनहिलको पृष्ठभूमिमा सूर्योदय, हिमशृङखला र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न पर्यटकको लर्को लागेको हो।
सडक यातायातको सुविधा, अनुकूल मौसम र प्रचारप्रसारका कारण पर्यटकको आगमन बढेको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए। ‘पोखरेबगर हुँदै घोडेपानी नजिकैको बस्ती चित्रेसम्म सडक स्तरोन्नति र कालोपत्रे भएपछि पोखरादेखि बस सञ्चालन भएको छ,’ उनले भने ‘आमसञ्चार माध्यम र पर्यटकहरूले लालीगुराँसको जंगलको तस्वीर र दृश्य सार्वजनिक गरेपछि प्रचारप्रसार हुँदा पर्यटक आगमन वृद्धि भएको हो।’
२७ वटा होटल रहेको घोडेपानीमा दैनिक १ हजार जना बास बस्न सक्छन्। साना ठुला सबै होटलमा पाहुनाले भरिएका घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली पुनले बताइन्। ‘वरपरका गाउँका बासिन्दादेखि देशका विभिन्न सहरबाट गुराँसको सौन्दर्यमा रमाउन घोडेपानी आउनेको लर्को लागेको छ,’ उनले भनिन् ‘अग्रिम कोठा बुक नगरी आउने पाहुनालाई बास पाउन गाह्रो हुन थालेको छ।’
जाडो हटेर वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ। चैत–वैशाख गुराँस फुल्ने याम हो। यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन्। विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा ३२ प्रजातिका छन्। घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरूमा उल्लेख छ। लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो।
एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयबासीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले बताए। बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा गएका छन्।
पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न पाउँदा रमाइलो महसुस भएको काठमाडौंका मिसन तिवारीले बताए। बेनीबाट साथीहरूसँग घोडेपानी घुम्न गएका महेन्द्र सुवेदीले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रंगिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ। घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ। समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जंगल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्।
२०८० को वैशाखदेखि चैत महिनासम्म ३१ हजार ४३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ। चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरण सहितको अभिलेख र तथ्यांक राख्दै आएको छ। गत वर्ष २५ हजार २७९ जना पर्यटक भित्रएका र ६ हजार १६० जना घोडेपानी हुँदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए। सबैभन्दा बढी चैत महिनामा ५ हजार ८४९ जना पर्यटक घोडेपानी आएका छन्। २०७९ मा २६ हजार ३०१ जना पर्यटकले घोडेपानी घुमेका थिए। कोरोना अघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए।
अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन्। म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ। पोखरादेखि घोडेपानीमा दैनिक बिहान ९ बजेट बस छुट्ने गर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)