सुनथराली विमानस्थल उद्घाटनको २ महिना बित्यो, उडान सुन्य
![सुनथराली विमानस्थल उद्घाटनको २ महिना बित्यो, उडान सुन्य](https://annapurnapost.prixacdn.net/media/albums/suntharali-airport_dRuaJgpjFr_kv1g0mYFE5.jpg)
कालिकोट : कालिकोटको एक मात्र सुनथराली विमानस्थल वर्षौंपछि उद्घाटन भयो, तर विमान भने आएन। औपचारिक रुपमा उद्घाटन भएको २ महिना बितिसक्दा पनि अझै उडान सुन्य नै छ।
स्थानीय बिमला कठायत भन्छिन्,'शिलान्यास भएको ३८ वर्षपछि बल्लतल्ल निर्माण सम्पन्न भएको विमानस्थल एक वर्षपछि औपचारिक रूपमा उद्घाटन भए पनि प्लेन फर्केर आएन।'
उद्घाटन सत्रमा तत्कालीन मन्त्रीद्वय, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तत्कालका लागि हप्तामा एक दिन उडान भर्ने बताएका थिए।
फागुन १४ गते सोमबार मन्त्रीद्वयले सुनथराली विमान स्थलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै हप्तामा एक दिन अवश्य उडान भर्ने प्रतिबद्धता गरे पनि आजसम्म फर्केर हवाईजहाज नआएको बताए।
नरहरीनाथ गाउँपालिका-१ का दमन विष्टले कोटवाडा स्थित सुनथराली विमान स्थलमा बोलेको कुरा मन्त्रीद्वको हावाको बेलुन जस्तै उडेर अलपत्र परेको गुनासो गरे। उनले विमानस्थल बन्न चार दशक लाग्नु, निर्माण सम्पन्न भएको विमानस्थल औपचारिक उद्घाटन गर्न आठौँ पटकसम्म सूचना गर्दै स्थगित हुनु नै शंकास्पद भएको बताए।
मन्त्रीले गरेको प्रतिबद्धता, भाषण बालुमा पानी खनाए जस्तै भयो। नरहरीनाथकै सम्झना विष्टले भनिन्, 'आज दुई महिना पुग्न लाग्दा कम्तिमा पनि नौ हप्तासम्म एउटा पनि हवाइजहाज नआउनु दु:खद कुरा हो।'
साप्ताहिक उडान भर्न समस्या भएमा केही महिना यात्रु नपाएमा उक्त विमानको शुल्क गाउँपालिकाले समेत व्यवस्थापन गर्ने छलफल चलेको थियो। तर मन्त्रीहरूले विमान सुचारु भएमा यात्रुको चाप बढ्ने भन्दै सुरुमा हप्तामा एउटा र त्यसपछि बढाउने आश्वासन दिनु राम्रो नभएको गुनासो गरिन्।
मन्त्री निकट राजनीति दलका स्थानीय नेता अहिले मन्त्रीद्वयको कुरा बचाउनका लागि सरकार फेरिनुलाई दोष दिंदै आएका छन्। यता नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले सबै प्रक्रिया पूरा भए पनि नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएका कारणले रोकिएको बताए।
उनले भने, 'नेपालगन्ज कालिकोट, सुर्खेत कालिकोट र धनगढी कालिकोटको भाडादर समेत कायम भएको तर प्राधिकरणले अनुमति नदिएका कारणले उडान हुन नसकेको हो।'
प्राधिकरणले अनुमति दिएमा जुनसुकै कम्पनीका विमानले नेपालगन्ज कालिकोटका लागि प्रतिव्यक्ति पाँच हजार ५ सय ५१ रुपंयाँ तिर्नुपर्ने छ। सुर्खेतबाट आउने यात्रुले तीन हजार ९सय १ रुपियाँ र धनगढीबाट कालिकोट आउने यात्रुले पाँच हजार २ सय ४९ रुपैयाँ भाडा तिर्नु पर्ने दररेटमा उल्लेख छ। तर हवाईजहाज नआउँदा भाडादरको के काम भन्दै स्थानीय आक्रोषित छन्।
सामाजिक अभियान्ता हिक्मतजंग मल्लले नागरिकलाई सेवा दिन नसक्ने कुनै पनि तहका सरकार जनताको पक्षमा नभएको गुनासो गरे।
एर्पोट निर्माण खर्च
एक अर्बभन्दा बढी निर्माण खर्च भएको विमानस्थलमा कालोपत्रे गर्न भ्याटसहित १४ करोड, ९३ लाख पाँच हजार रुपैयाँ खर्च भएको छ। विमानस्थल उद्घाटन हुँदा यहाँका नागरिक निकै उत्साहित थिए। विमानस्थल नजिकै घर भएका अग्रबहादुर विष्टले आपत्कालीन अवस्थामा हवाईजहाज चढ्न पाउने अवसर जुरेको भन्दै खुशी भए पनि हवाइजहाज नआउँदा दु:खी छन्।
सुनथराली विमानस्थल निर्माणको क्रममा २०५८ सालमा कामदारसहित ३२ जनाको तत्कालीन राज्य पक्षले एकै ठाउँमा ज्यान लिएको थियो। विमानस्थल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर ४ जनाको घटना स्थलमा मृत्यु भयो।
विमानस्थल निर्माणको क्रममा रगतको खोला बगे पनि नियमित रुपमा नभइ हप्ताको एक पटक भए पनि चिलगाडी आउनु पर्छ भन्दै स्थानीय नागरिकले माग गरेका छन्।
सुनथराली विमानस्थल, कोटवाडाका आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक इन्जिनियर रत्नबहादुर श्रेष्ठले विमानस्थलको लम्बाई ६ सय ४० मिटर र २० मिटर चौडाइ रहेको बताए। उनले भने विमानको टर्निङ प्याप ५०० वर्गमिटरका दुई वटा छन्। यस्तै, ट्याक्सी (वय) रुट २५ मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ। विमानको पार्किङ क्षेत्र ७० मिटर लम्बाई र ३० मिटर चौडाइ छ। कोटवाडा विमानस्थलमा दुवै तर्फबाट अवतरण तथा उडान गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)