मौलिक संस्कृतिको संरक्षण गर्न पुर्ख्यौली नृत्य प्रतियोगिता
![मौलिक संस्कृतिको संरक्षण गर्न पुर्ख्यौली नृत्य प्रतियोगिता](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_d4MtqbqqRq_oPVMh6M5Ri.jpg)
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पुर्ख्यौली नाच प्रतियोगिता आयोजना गरिएको छ। अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुर्ख्यौली प्रतियोगिताले भुरुङ गाउँमा सांस्कृतिक उत्सव छाएको छ।
पुन, मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि पुर्ख्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो। भूमे पूजाको अवसरमा अन्नपूर्ण गाउँपालिका–२ को वडा कार्यालयले बिहिबार देखि भुरुङ गाउँमा आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ समूहले सहभागिता जनाएका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५, दोस्रो हुनेलाई ६० हजार र तृतीय हुनेलाई ४५ हजार रुपैयाँको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने प्रतियोगिताका मूल संयोजकसमेत रहेका वडा अध्यक्ष ओमप्रसाद फगामीले जानकारी दिए।
उनका अनुसार, शनिबार सम्म चल्ने प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइ मार्ने समूह, भाका तथा शब्द छनौट, पोशाक, अनुशासनको विद्यामा नगद प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ। ‘पुर्ख्यौली नाच पुन, मगर समुदायमा पुर्खौदेखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाच युवा पुस्ताले अगाडि बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो’, उनले भने ‘नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्यमका रुपमा हामीले यो प्रतियोगिता अघि बढाएका हौँ।’
प्रतियोगितामा सहभागी पुर्ख्यौली नाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवती, बालबालिका र वृद्धवृद्धा समेतले सहभागिता जनाएका छन्।
प्रतियोगितालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष भारतकुमार पुनले बताए। स्वदेश तथा विदेशमा रहेका भुरुङता तोपानीवासीको नेतृत्वमा प्रतियोगिता सम्पन्न गर्न १९ लाख रुपैयाँ सहयोग जुटेको आयोजकले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)