ट्राफिक कारबाहीबाट मुस्ताङमा १० महिनामै उठ्यो ३३ लाख ४३ हजार राजश्व
जोमसोम : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय गौरवको सडकले जोड्ने बेनी—जोमसोम—कोरला सडक सहज भएसँगै जिल्ला भित्रिने सवारी साधन बर्सेनि वृद्धि भइरहेका छन् । मुस्ताङमा सवारी साधनको आवागमन चाँप बढेसँगै यहाँको राजश्व संकलन समेत बढेको छ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनाको अवधिमा ३३ लाख ४३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालय चालु वर्षको साउनदेखि वैशाख महिनाको १० महिनामा ४ हजार ५४६ वटा सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका ईञ्चार्ज राजाराम मण्डलले जानकारी दिए ।
उनका अनुसार चालु वर्षको साउनदेखि माघ महिनासम्म ११४ वटा सवारी साधनदेखि ५ सय वटा सवारी साधन कारबाहीमा परेकोमा फागुनदेखि वैशाखसम्ममा ५ सयदेखि ९११ वटासम्म सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् । सबैभन्दा बेसी वैशाखमा सर्वाधिक राजश्व संकलन भएको उनले बताए ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङले मादक पदार्थ सेवन गरी सवारी चलाउने,सवारी मापदण्ड विपरित सवारी साधन चलाउने जथाभावी पार्किङ गर्ने,क्षमताभन्दा बढी यात्रु ओसोर पोसार गर्ने ,सवारी चलाउँदा आवश्यक कागजपत्र साथमा लिएर सवारी नचलाउने र बिना हेलिमेट मोटरसाइकल चलाउने आदीलाई कारबाही गर्दा उक्त परिमाण राजश्व संकलन गरेको हो ।
मुस्ताङमा सवारी नियम र सवारी मापदण्ड अनुसार सवारी सञ्चालन गर्न ट्राफिक कार्यालयले सरोकारवालालाई जानकारी गर्ने गरेको छ । मुस्ताङमा ट्राफिक प्रहरीले वैशाख २५ देखि वैशाख ३१ गतेसम्म ट्राफिक सप्ताह समेत गरेको थियो ।