कोरला नाकाको तिब्बती भूमि लिजीमा मुस्ताङीको स्टल
![कोरला नाकाको तिब्बती भूमि लिजीमा मुस्ताङीको स्टल](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_CoEjKQGyXX_8lOEtrON1q.jpg)
जोमसोम : उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाको तिब्बती भूमि लिजीमा तिब्बती व्यापारीहरूको व्यावसायिक स्टलसँगै उपल्लो मुस्ताङीले समेत व्यावसायिक स्टल राखेका छन्।
चीन पक्षले उपल्लो मुस्ताङीलाई त्यहाँ आएर व्यापार गर्न मार्ग प्रशस्त गरेसँगै कोरला नाकाको तिब्बती भूमि लिजीमा नेपाल पक्षबाट मुस्ताङीले स्टल राखेर व्यापार गर्न सुरु गरेका हुन्।
कोरोना कहरको जोखिम देखाउँदै चीन पक्षले लगातार ४ वर्षसम्म बन्द गरेको कोरला नाका गत कात्तिक २७ गते औपचारिक रुपमा खुल्ला गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण लगत्तै खुला गरिएको कोरला नाकामा उपल्लो मुस्ताङीले मात्रै सीमापार अनुमतिपत्र पाएका छन्।
नाका खुलेसँगै उपल्लो मुस्ताङका नागरिकले चीनको लिजी पुगेर दैनिक उपभोग्य वस्तु आयात गर्न सुरु गरिएको थियो। चीनले बाह्रै महिना उपल्लो मुस्ताङीलाई कोरला नाका खुल्ला गरेसँगै त्यहाँका नागरिकले चीनको तिब्बती भूमि लिजीबाट आफूलाई चाहिने जति सामान ल्याउन थालेका छन्। कतिपयले भने व्यावसायिक प्रयोजनका रुपमा ठुलो परिणाम चिनियाँ सामान ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेका छन्।
कोरला नाका खुलेको ७ महिनापछि वैशाखदेखि नेपाल पक्षबाट पनि कोरला नाकाको तिब्बती भूमि लिजीमा व्यावसायिक स्टल राखेर व्यापार गर्न सुरु गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
उनले सीमापार पास पाएका दर्जन नेपाली व्यापारीले स्थानीय उत्पादनका साथै चाउचाउ,चामल, मदिरा, पिठो, बिस्कुट र गलैंचा आदि लगेर बिक्री गर्ने गरेको सुनाए। उता चीनको तिब्बती भूमि लिजीबाट मुस्ताङले खाद्यान्न, लत्ता कपडा, कस्मेटिक सामान, कृषि उपकरण, किराना सामान र लत्ताकपडा आदि आयात गर्ने गरेको प्रजिअ पन्तले बताए।
उत्तरी चीनको कोरला नाका औपचारिक रुपमा खुला भएसँगै हालसम्म जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका १ हजार ५२० जनालाई सीमापार पास वितरण गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)