कालीकोटका विद्यालयमा गत वर्ष हावाले उडाएको छाना अझै बनेनन्
![कालीकोटका विद्यालयमा गत वर्ष हावाले उडाएको छाना अझै बनेनन्](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_cmwD848Bve_4ie8hn6CrG.jpg)
कालीकोट : जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरूको छाना हावाहुरीले उडाउनु नौलो कुरा होइन। कालीकोटका धेरै बस्तीमा टिनले छाएका घरहरू छन्। ती घरहरूको छाना हावाहुरीले कहिल्यै उडाउँदैन। तर विद्यालयका छाना प्रत्येक वर्ष उडाइरहेको हुन्छ। सरकारले बजेट हाल्छ फेरि विद्यालयका छाना हावाले उडाउँछ।
सार्वजनिक सम्पतिमाथि उपभोक्ता समितिले चरम लापरबाही गरेका कारण यस्तो अवस्था आएको शिक्षा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले बताए। उनले भने, ‘शनिबार चलेको हावाहुरीले जिल्लाका ९ वटै स्थानीय तहमा रहेका धेरैजसो विद्यालयका छाना उडाएको छ। गएको वर्ष हावा हुरीले उडाएका कतिपय विद्यालयका छाना अझै बनाउन सकिएको छैन। फेरि यो वर्ष पनि हावा हुरीले विद्यालयका छाना उडाएको खबर आएको छ। ’
यस्तै पलाँता गाउँपालिका-५ मा रहेको कर्णाली मावि टिनको छाना उडाएको छ। शनिबार चलेको भीषण हावाहुरीले एक्कासि विद्यालयको छाना उडाएको हो। विद्यालयको छाना उडाउँदा विद्यार्थीलाई पठनपाठनमा बाधा पुग्नुका साथै गर्मी छल्न गाह्रो भएको छ।
विद्यार्थीहरू चर्को घाममा बसेर अध्ययन गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक बेचन बहादुर शाहीले बताए। उनले भने, ‘विद्यालय बन्द भएको दिन चलेको हावाहुरीले विद्यालयको छाना मात्र उडायो। मानवीय क्षति भने भएन। अब विद्यार्थीहरूलाई चौरमा बसालेर पढाउनुपर्ने बाध्यता आएको छ। सम्बन्धित निकायको समयमै ध्यान गएको खण्डमा शिक्षक विद्यार्थीलाई सहज हुने थियो।’
शिक्षक मिमराज बिष्टले कालीकोटका विद्यालयहरूका छाना हावा चल्ने बित्तिकै उडाउने अवस्थामा रहेको बताए। उनले भने, ‘प्रत्येक वर्ष कर्णाली मावि टिनको छाना मात्रै नभई पलाँता गाउँपालिकामा रहेका प्रायः विद्यालयका छाना हावाहुरीले उडाउने गर्छ।’
विद्यालय बनाउने उपभोक्ता समितिले जिम्मेवार भएर बनाउने भएको भए यस्तो अवस्था आउने थिएन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज बमले तत्काल सरोकारवाला निकायसँग पहल गरेर विद्यालयको छाना छाउने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)