बहिनीको बिहेमा आएका युवकको हत्यामा संलग्न पक्राउ
![बहिनीको बिहेमा आएका युवकको हत्यामा संलग्न पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_G52cOUPs3Y_fvXbacfhiK.jpg)
विराटनगर : बहिनी (ठुलीआमकी छोरी)को बिहेमा विराटनगर आएका युवकको हत्यामा संलग्नलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ।
उनका अनुसार भारततिर भाग्न खोज्दै गर्दा गणेशलाई सुनसरीको लौकहीबाट दिउँसो २:३० बजेतिर पक्राउ गरिएको हो। ‘हत्या गरेर फरार बनेका युवकले भारततिर भाग्ने योजना बनाएका रहेछन्,’ कार्कीले भने, ‘त्यही बेला नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।’
गणेशको खोजीका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली परिचालन गरिएको थियो। सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या गरेर गणेश फरार बनेका थिए। विराटनगर–४ इक्राहीका रामलोचन यादवको घरमा पाहुना आएका अक्लेशमाथि सामान्य विवादलाई लिएर गणेशले बुधबार राति १० बजेतिर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रामलोचन अक्लेशका ठुलोबुवा हुन्। अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन्। बहिनीको बिहेमा आएका अक्लेश र गणेशबीच सामान्य विवाद एवं भनाभन भएको प्रहरीले जनाएको छ। उनीहरूबीच के विषयमा विवाद भएको थियो भनेर प्रहरीले यकिन गरिसकेको छैन।
विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको एसपी कार्कीले बताए।
चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर सिकिस्त बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अक्लेशको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरेर शवलाई अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको छ। घटनामा संलग्न गणेशविरुद्ध भने कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)