शिक्षासेवी शिवाकोटीका नाममा स्मृतिग्रन्थ

शिक्षासेवी शिवाकोटीका नाममा स्मृतिग्रन्थ

काठमाडौं : नन्दप्रसाद–जानुका फाउन्डेसनले शिक्षासेवी एवं राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको जीवन–वृत्तान्त समेटेर स्मृतिग्रन्थ प्रकाशनमा ल्याएको छ। उक्त कृति ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’को सोमबार कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायतले काठमाडौंमा विमोचन गरेका छन्। 

इतिहासमा सम्झनुपर्ने तर नसम्झिरहेका पात्रहरूलाई खोजी–खोजी ल्याउनुपर्ने धारणा महामन्त्री थापाले व्यक्त गरे। ‘तपाईंहरू (फाउन्डेसन)ले नन्दप्रसाद शिवाकोटीको इतिहासलाई खोजेर ल्याउनुभएको छ।  यो कर्मले हामी (कांग्रेस)लाई सोचेको कुरा गर्न थप प्रेरित गरेको छ’, थापाले भने, ‘अब हामी देशभरि यसरी चाहिँ एकप्रकारले नेपाली कांग्रेसमा ठूलो योगदान पुर्‍याउनुभएको तर कहीं न कहीं उहाँहरूलाई हामीले स्मरण नगरिरहेको नन्दप्रसादजस्ता पात्रहरू खोज्ने क्रममा निर्णय पनि गरिसकेका छौं। 

उनले कांग्रेसको फोहर सफा गर्न यस्ता पात्रहरूलाई खोज्न आवश्यक रहेको बताए। ‘कांग्रेसभित्रको फोहर थोरै छ। सफाको अंश धेरै छ। तर, त्यो सफाको अंशको चर्चै कम हुने भयो, इतिहासमा लुप्त भएको कारण’, उनले भने, ‘हामीले यति धेरै नन्दप्रसादहरू खोज्दै ल्याउनुपर्नेछ। चर्चा गर्नुपर्नेछ। फोहर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्नेछ।’

कृतिमा थापाको ‘इतिहास बिर्सिंदा भविष्यले पनि बाटो बिराउँछ’ शीर्षक आलेख समेटिएको छ। कांग्रेसकै अर्का नेता डा. शशांक कोइरालाको ‘बीपीको परीक्षणमा खरो उत्रिएपछि नन्दप्रसादजी जिल्ला सभापति हुनुभयो’ शीर्षक आलेख ग्रन्थमा पढ्न सकिन्छ। राजनीति खण्डमा यीसहित पाँच, व्यक्तित्व र योगदान खण्डमा २८ वटा लेखमा शिवाकोटीको चर्चा गरिएको छ। खण्ड ‘ग’मा तस्बिर राखिएका छन्। 

१९७२ सालमा जन्मिएका शिवाकोटीको अग्रसरतामा २००५ सालमा दोलखामा पाठशाला सुरु भएको जनाइएको छ। यस्तै उनी २०१६ सालमा तत्कालीन क्षेत्र ११ मा पार्टी सभापति चयन भएको ग्रन्थमा उल्लेख छ। उनै शैक्षिक तथा राजनीतिक व्यक्तित्व शिवाकोटीको निधन २०३५ सालमा भएको थियो। उनको स्मृतिमा निकालिएको कृतिको सम्पादन संकेत कोइराला र अजयबाबु शिवाकोटीले गरेका हुन्। उनीहरूले सम्पादकीयमा लेखेका छन्, ‘यो स्मृतिग्रन्थ एक जना व्यक्ति नन्दप्रसाद शिवाकोटीमा केन्द्रित भएजस्तो देखिन सक्छ। तर, वास्तवमा यो ग्रन्थ नन्दप्रसादजस्ता अनेक नन्दप्रसादहरूको कालखण्डको नलेखिएको इतिहासको उत्खनन हो।’ 

विमोचन कार्यक्रममा सहभागी वक्ताले सामाजिक परिवर्तनमा नन्दप्रसादले पुर्‍याएको योगदानको चर्चा गरेका थिए। फाउन्डेसनले प्रजातन्त्र सेनानीद्वय दुर्गाप्रसाद उप्रेती र नेत्रबहादुर बस्नेतलाई सम्मान गरेको थियो। २५ हजार नगद राशिको पुरस्कार पत्रकार शम्भु गौतमलाई प्रदान गरिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.