मोबाइल पसल फोडेर ३ करोडभन्दा बढीको चोरी

मोबाइल पसल फोडेर ३ करोडभन्दा बढीको चोरी

विराटनगर : मोरङको उर्लाबारीमा सोमबार बिहानका राति पसल फोडेर ३ करोडभन्दा बढीको मोबाइल चोरी गरिएको छ। 

प्रहरीका अनुसार सटर फोडेर चोरीमा संलग्नले पसल नै रित्त्याइदिएको पाइयो। पसलमा महँगो मूल्य पर्ने मोबाइलहरू थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले उर्लाबारी नगरपालिका–७ का योगराज कार्कीले उर्लाबारी–५ मा सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलमा चोरी भएको जानकारी दिए। पसल खोल्न जाँदा सटर फोडेर चोरी गरेको देखेपछि कार्कीले नै प्रहरीलाई सोमबार बिहान ९ बजेतिर घटनाको जानकारी गराएका हुन्। 

मोबाइल पसल पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको थियो। चोरीमा संलग्नको पहिचान हुन नसकेको उनको भनाइ छ। ‘चोरीको प्रकृति हेर्दा ठूलै गिरोह संलग्न रहेको अनुमान छ। पसलमा महँगा मोबाइलहरू रहेछन्। सबै मोबाइल चोरी भएका छन्। सटरको ताला फुटाएर चोरी गरिएको छ। चोरीमा संलग्नको पहिचान भइसकेको छैन। विभिन्न कोणबाट अनुसन्धान अघि बढाएर घटनामा संलग्नको खोजी तीव्र पारिएको छ,’ जोशीले भने। 

पसल सञ्चालकले ३ करोड मूल्य बढीको मोबाइलहरू पसलबाट चोरी भएको जानकारी प्रहरीलाई दिएका छन्। उर्लाबारी–७ घर भएका कार्कीका अनुसार आईफोन, रेडमी, ओपोलगायत विभिन्न ब्राण्डका ४ सय ५० भन्दा बढी मोबाइलहरू पसलमा राखिएको थियो। 

पसलमा रहेका मोबाइलको संख्या यकिन नभएको उनले बताए। ‘पसलमा कतिवटा मोबाइल थिए भनेर काम गर्नेहरूलाई थाहा छ। मलाई त्यो थाहा हुन सकेन। तर, ४ सय ५० वटाभन्दा धेरै नै थिए। ३ करोडभन्दा बढी मूल्य बराबरको चोरी भएको छ। पसलमा राखिएको नगद पनि चोरी भयो,’ कार्की भन्छन्। 

यद्यपि, चोरी भएका मोबाइलको संख्या र मूल्य प्रहरीले यकिन गर्न सकिरहेको छैन। डीएसपी जोशीका अनुसार एउटै मोबाइल २ लाख मूल्यसम्मका रहेको पाइएको छ। ‘जम्मा ३ करोड मूल्य माथिका ४ सय ५० वटाभन्दा बढी मोबाइल थिए भनेर पसल सञ्चालकले प्रहरीलाई जानकारी दिनु भएको छ,’ उनी भन्छन्, ‘प्रहरीबाट संख्या र मूल्य यकिन गर्ने काम भइरहेको छ।’ 

मोबाइलको संख्या र मूल्य यकिन नभए पनि ठूलो मूल्य बराबरको चोरी भएको पाइएको डीएसपी जोशीले बताए। उनका अनुसार पसलमा सीसी क्यामेरा पनि थियो। तर, क्यामेराको फुटेजबाट चोरको पहिचान गर्न प्रहरीलाई गाह्रो परिरहेको छ। 

चोरीमा संलग्नको खोजी एवं पहिचानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी मोहनविक्रम दाहाल र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सइ चूडामणि पौडेलको नेतृत्वमा संयुक्त टोली परिचालित छ। चोरीमा संलग्न गिरोहको खोजीमा प्रहरीको विशेष टोलीसमेत परिचालित रहेको जानकारी जोशीले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.