बीआरआई परियोजना कार्यान्वयन नभएकोप्रति चिनियाँ मन्त्रीको चिन्ता

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्र बैठक

बीआरआई परियोजना कार्यान्वयन नभएकोप्रति चिनियाँ मन्त्रीको चिन्ता

 काठमाडौं : जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकका लागि तीनदिने औपचारिक भ्रमणमा सोमबार नेपाल आइपुगेका छन्।

काठमाडौं आएलगत्तै उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, मन्त्री सुनले बीआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग छलफल गरेका थिए। मन्त्री सुनले लामो समयदेखि बीआरआई परियोजनामाथि नेपालले ठोस कदम नचालेको गुनासो गर्दै उक्त परियोजना कार्यान्वयनका लागि ठोस कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए।

बीआरआई परियोजना कार्यान्वयनका लागि चीनले दबाब दिँदै आइरहेको छ। प्रधानमन्त्री र चिनियाँँ  मन्त्री सुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, द्विपक्षीय बैठकमा समेत चीनले बीआरआई परियोजना कार्यान्वयनको विषय उठाउने तयारी गरेको पाएका छौं। 

उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वएसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार उनी आजदेखि काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुने छन्।

मन्त्रालयका अनुसार परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुने भनिएको छ। 

बैठकको नेतृत्व नेपालका तर्फबाट सचिव लम्साल र चिनियाँँ पक्षबाट उपविदेशमन्त्री सुनले नै गर्ने छन्। परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार बैठकका लागि नेपाली पक्षले एजेन्डा तयार पारिसकेकोे छ। 

नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन , कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ। 

यस्तै, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पुन एकपटक छलफल हुने भएको छ। व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय भइसके पनि हालसम्म एक पटक पनि बैठक बस्न सकिरहेको छैन। नेपाल–चीन व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने यसअघिनै भइसकेको सम्झौता भए पनि कार्यान्वयनको चरणमा गइनसकेकाले उक्त विषय कहाँ पुग्यो भन्ने विषयमा पनि छलफल हुने भनिएको छ। 

मन्त्रालय स्रोतका अनुसार सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँँ लगानीका परियोजनालाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ। 

यसअघि नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो। बैठकले तात्कालीन अवस्थामा भएका निर्णय तथा समझदारी कार्यान्वयनका स्थितिका साथै अन्य थप द्विपक्षीय मुद्दामा छलफल भएको थियो। बैठकमा नेपालको नेतृत्व तात्कालीन परराष्ट्र सचिव भरतराज पौड्यालले र चीनको नेतृत्व उपविदेशमन्त्री सुन वेइडोंगले नै गरेका थिए। १४ औं बैठकले भने कोरोना महामारीपछिका सन्दर्भमा सहकार्य र समझदारीलाई अभिवृद्धि गर्न नेपाल र चीनबीच द्विपक्षीय संयन्त्रका सबै संयन्त्र क्रियाशील गराउने सहमति भएको थियो।

भ्रमणका क्रममा चिनियाँँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी असार १२ गते काठमाडौंबाट प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री सचिवालयका अनुसार दाहाल सँगको शिष्टाचार भेटमा सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रबद्र्धन र चिनियाँँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराएका थिए। 

उपविदेशमन्त्री सुनले उक्त अभियानले नेपालको आर्थिक–सामाजिक विकासमा थप टेवा पुग्ने सक्ने कुरा राखेका थिए। सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीे सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री दाहालले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताएका थिए। 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक र सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति प्रशंसा पनि गरेका थिए।

पछिल्लो समय चिनियाँ अधिकारीको नेपाल आगमन बाक्लियो 

पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरू बाक्लिएका छन्। असार ४ गते पनि सिचुवान प्रान्तको उपप्रमुख एवं पब्लिक सेक्युरिटिज विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको थियो। 

त्यसैगरी दुई साता अगाडि मात्र चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेङ गत बुधबार लुम्बिनी पुगेर फर्किएका थिए। मन्त्री चेनसँगै नेपालका लागि चिनियाँँ राजदूत छन् सोङ, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला व्युरो प्रमुख हुआंग झिहुई पनि उक्त टोलीमा सहभागी थिए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.