प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधार (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका हुन्। प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। 

प्रधानमन्त्रीले संसदमा राखेको प्रस्तावमाथि छलफल गर्न सभामुखले दुई घण्टाको समय निर्धारण गरेका छन्। 

संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए।

असार १७ गते राति संसदमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सरकार निर्माण गर्ने सहमति गरेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।

तर,उनले विश्वासको मत पाउने संभावना भने छैन। हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सीट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले सँग ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सीट पुग्ने अवस्था छ।  एमाले सांसदमध्ये सभामुख देवराज घिमिरेले बराबर मत नभएमा मतदान गर्न पाउने छैनन् भने  सांसद टोपबहादुर रायमाझी निलम्बित छन्।  

प्रचण्डसँग नेकपा माओवादी केन्द्रको (३२),रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मत मात्रै छ। प्रमुख दुई ठूला दल कांग्रेस र एमालेमात्रै नभइ सरकारमा रहेका साना दलले पनि प्रचण्डको विपक्षमा मत हाल्ने निर्णय गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल),जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। 

उनको पक्षमा माओवादी केन्द्र,रास्वपा र नेकपा एसले मात्रै मत दिने निर्णय गरेका छन्।

यस अगाडि २०८१ जेठ ७ गते चौथो पटक प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिएका थिए। त्यतिबेला उनले  राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७  मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ। एक सांसद भने तटस्थ बसे। बैठकमा १५८ मत खसेको थियो। प्रचण्डले तेस्रो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७  मत र विपक्षमा ११०  मत खसेको थियो। 

प्रचण्डले त्यसअघि दोस्रो पटक २०७९ पुस २६ गते पहिलो पटक र  चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये  २६८ जनाले प्रचण्डलाई मत दिएका थिए।  दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसपछि एमालेको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेका थिए। उनले पुन:कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए। उनलाई समर्थन दिएको एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले प्रधानमन्त्री बनेको १८ महिनाको अवधिमा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.