नारायणीमा ३ महिनादेखि एमआरआई सेवा बन्द

नारायणीमा ३ महिनादेखि एमआरआई सेवा बन्द
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा विगत ३ महिनादेखि एमआरआई सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन्। सञ्चालनमा आएको ५ महिनापनि नबित्दै एमआरआई मेसिनको बाँकी भुक्तानीका विषयमा अस्पताल प्रशासन र आपूर्तिकर्ता बीचको विवादका कारण एमआरआई सेवा ३ महिनादेखि बन्द भएको हो। 

संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत चीनबाट ३० करोड रुपैयाँमा खरिद गरि ल्याएको थ्रीटेस्लाको एमआरआई मेसिन अस्पतालमा जडान गरी गत कात्तिक महिनादेखि सञ्चालनमा ल्याइएको थियो। 

तर मेसिनको बाँकी २० प्रतिशत रकम अस्पतालले आपूर्तिकर्ता कम्पनी हेल्थ केयर प्रालिलाई भुक्तानी नगरेपछि मेसिन उत्पादक चिनियाँ कम्पनीले मेसिनको सफ्टवेयर अपडेट (अद्यावधिक) नगर्दा मेसिन गत वैशाखदेखि बन्द हुन पुगेको हो।

त्यसअघि पनि उक्त एमआरआई मेसिन आपूर्तिकर्ता कम्पनीले २०७९ चैतमै चीनबाट खरिद गरेर ल्याए पनि बजारमा हिलियम ग्याँस नपाइएको भन्दै अस्पतालमा जडान नगरिदिँदा ८ महिनासम्म त्यसै थन्क्याएर राख्नु परेको थियो। गत असोज २३ मा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत वीरगन्ज आएका बेला एमआरआई मेसिनको उद्घाटन गरेका थिए। उद्घाटन गरिएको तीन हप्तापछि २०८० कात्तिक १४ गतेदेखि एमआरआई सेवा सुरु गरिएको थियो। 

तर सेवा सुरु भएको ५ महिनापनि नबित्दै मेसिनको बाँकी रकम भुक्तानीको विषयमा आपूर्तिकर्ता कम्पनी र अस्पताल प्रशासन बीचको विवादले गत वैशाखदेखि मेसिन बन्द हुन पुगेको हो। जसको मारमा अस्पतालमा उपचारका लागि आउने बिरामी परेका छन्। 

नारायणी अस्पतालको एमआरआई सेवा ३ महिनादेखि अवरुद्ध हुँदा बिरामीहरू बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य छन्। नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिरिरहेका छन्।

नारायणी अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले भने आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिको बदमासीका कारण एमआरआई सेवा तीन महिनादेखि बन्द हुन पुगेको बताए। आपूर्तीकर्ता कम्पनीले मेसिनको सफ्टवेयर अपडेट नगरिदिएका कारण गत वैशाखदेखि नै मेसिन बन्द रहेको उनले बताए। उनले भने,‘उसलाई तिर्नु पर्ने बाँकी २० प्रतिशत रकम अस्पतालसँग तयारी अवस्थामा छ। तर उसले मेसिन खरिद गरी ल्याए बापतको ५ प्रतिशत कर नेपाल सरकारलाई अहिलेसम्म बुझाएको छैन। त्यही कारण बाँकी २० प्रतिशत रकम अस्पतालले उसलाई भुक्तानी नदिएको हो।’ 

आपूर्तिकर्ता कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरी अस्पतालले बाँकी रहेको रकम भुक्तानी गरिदिएमा त्यसको जिम्मेवार आफू हुने भएकाले बाँकी भुक्तानी नगरेको उनले बताए। निमित्त मेसु हकले भने,‘उसले सरकारलाई तिर्नुपर्ने कर जुन दिन तिर्छ त्यही दिन उसलाई तिर्नु पर्ने बाँकी २० प्रतिशत रकम अस्पतालले भुक्तानी गरिदिन्छ।’

सफ्टवेयर अपडेट गरेर मेसिन सुचारु गर्नका लागि अस्पताल प्रशासनले दुई हप्ता पहिले नै आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिलाई पत्र काटिसकेको उनले बताए। उनले भने,‘तर अहिलेसम्म उसले रेन्सपोन्स दिएको छैन। अब यस बारेमा अस्पतालले अर्को एक्सन छिट्टै लिन्छ।’  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.