अहिंसा : सुख प्राप्तिको एउटा मार्ग

अध्यात्म

अहिंसा : सुख प्राप्तिको एउटा मार्ग

जसरी भोलिको दिन सधैं हुन्छ तर कहिल्यै आउँदैन। त्यसरी नै खुसीको अपेक्षा सधैं हुन्छ तर भोलिको दिन झैं सरिरहन्छ।

संसारमा सबैले खुसी मन पराउँछन् र खुसी हुन चाहन्छन्। मान्छेले खुसी हुनकै लागि धन सम्पत्ति आर्जन गर्छ। आफूसँग अनेक सुखसहेलका माध्यम सामग्रीहरू हरसम्भव जोड्ने प्रयत्न गर्छ। खुसी भई रमाउन आफन्त साथीभाइ इष्टमित्रसँग नाता जोड्दै र तोड्दै आपसमा लेनदेन सहयोग आदानप्रदान गर्ने गर्छ। यसरी आफ्नो उमेर सँगसँगै र समयको बहावसँगै मानिस निरन्तर खुसीको लालसामा हरेक नयाँ दिनको तलास गरिरहेको हुन्छ। जसरी भोलिको दिन सधैं हुन्छ तर कहिल्यै आउँदैन। त्यसरी नै खुसीको अपेक्षा सधैं हुन्छ तर भोलिको दिन झैं सरिरहन्छ।

संसारमा खुसी व्यक्ति पाउन साँच्चिकै गाह्रो छ। बरु खुसी पाउने आसमा उसले गरेका विविध कर्मको बोझ सो व्यक्तिमा ऋण झैं थपिँदै र थपिँदै गइरहेको हुन्छ। खुसीको गन्तव्यमा लागिरहँदा उसले गरेका व्यवहार र कर्मले उसलाई जीवनको उत्तरार्धमा झनै बेखुसी बनाइदिन्छ। खुसी त नटुंगिने गन्तव्य र सीमाविहीन चिज रहेछ। उदाहरणका लागि खुसीलाई कचौराभरि सम्झ्यो भने कचौरा जत्रै गाग्री जत्रो सम्झ्यो भने गाग्री जत्रै समुद्र जत्रो सम्झ्यो भने समुद्र, आकाश सम्झिए आकाश र त्योभन्दा पर सम्झिए अझ पर कहिल्यै तृप्त नहुने अतृप्त रहेछ।

मनुष्यसँगै यस धर्तीमा जीवजन्तु पशुपक्षी सबै बाँचिरहेकै छन्। तिनीहरू कति खुसी छन् वा छैनन् भन्ने कुराको यकिन त गर्न सकिँदैन तर ती बाँच्नका लागि मात्र संघर्ष गरिरहेका छन्। आजको भन्दा पनि अहिलेको भोक कसरी मेटाउने भन्ने विषयमा मात्र तल्लीन देखिन्छन् र भोलिको लागि कुनै संग्रह गरेका छैनन्। भोलिको बेवास्ता गर्ने प्राणीहरू पनि शदियौंदेखि बाँचिरहेका छन् र मनुष्यको भन्दा उनीहरूको संख्यात्मक गिन्ती धेरै छ।

महाभारतमा भगवान् श्रीकृष्ण अर्जुनलाई उपदेश दिँदै भन्नुहुन्छ : ‘जे भयो राम्रो भयो, जे हुँदैछ राम्रो हुँदैछ, जे हुन्छ त्यो पनि राम्रो हुन्छ, तिम्रो के गयो र तिमी रोइरहेका छौ, तिमीले के ल्याएका थियो र हरायो, तिमीले के पैदा गरेका थियौ र नष्ट भयौ, तिमीले जे लियौ यहीबाट लियौ तिमीले जे दियौ त्यहीबाट दियौ, जो तिम्रो आज छ हिजो कसैको थियो र भोलि कसैको हुनेछ।’ यस उपदेशलाई राम्रोसँग मनन गर्न सक्यो र शत्मार्गमा हिँड्न सक्यो भने पनि जे जति कुराले मनुष्यलाई दुःख दिइरहेको छ ती दुःखहरू नष्ट हुन्छन्। दुःख नष्ट हुनु भनेको सुखको मार्गमा चल्नु हो। मान्छेका आवश्यकताहरू कुनै न कुनै रूपमा पूरा भइरहेका हुन्छन् यदि पूरा हुँदैनन् त ती केवल चाहनाहरू मात्र हुन्। खुसी आवश्यकता पूरा हुनुलाई मान्नुपर्छ न कि चाहना।

कतिपय मांशाहारी प्राणीहरूले आफ्नो जीविकोपार्जन गर्नका लागि अरूको शरीरमाथि आक्रमण गर्नुपर्ने बाध्यता छ। प्रकृतिमा देख्न सकिने गजबको कुरा के छ भने कुनै एक जीवले बाँच्न पनि अर्को जीवलाई आक्रमण गर्छ र आफ्नो जातिलाई बचाइराख्छ। उदाहरणका लागि बाघले जति नै भोक लागे पनि बाघलाई मारेर खाँदैन। यहाँनिर मानवले अन्य प्राणीबाट पनि जीवन जिउने कला सिक्नुपर्ने देखिन्छ। मानव सभ्यतालाई र इतिहासलाई वर्तमानदेखि भूतसम्म फर्केर हेर्ने हो भने मानवले अन्य जीवजन्तुको हत्या हिंसाले नपुगेर आफ्नै मानव समुदायको हत्या, हिंसा गरेको देखिन्छ। आखिर यो केका लागि जीवनयापन गर्नका लागि वा खुसीयाली ल्याउनका लागि बडो गम्भीर र सोचनीय विषय देखिन्छ।

विश्वविजेता अलेक्जेन्डर महान, जुलियस सिजर वा अशोक जो कोही आफ्नो शरीरसम्म लान नसकेर गएको इतिहास छ। एउटा मनुष्य बालक, वयस्क र वृद्ध हुँदा समय र उमेरअनुसार सोच विचारहरू फरकफरक हुने गर्छन्। जीवनको अन्तअन्ततिर पुगेपछि हरेक व्यक्तिलाई सुखको खोजीमा आफूले गरेका विविध कर्महरू सम्झेर पश्चाताप र दुःख लाग्ने गर्छ। त्यही कुरा उमेर र क्षमता हुँदै बोध गर्न सकेको खण्डमा आफ्ना कर्महरू सुधार गरी पश्चाताप गर्नु पर्दैन थियो।

मानिसको जीवनलाई गहिरिएर हेरौं। जब बच्चाको रूपमा मानिस जन्मन्छ तब उसलाई सुखदुःख केही कुराको ज्ञान हुँदैन। जब उसलाई भोक लाग्छ निद्रा लाग्छ वा कुनै असहज महसुस हुन्छ, त्यतिबेला ऊ रुन कराउन थाल्छ। जब उसको गाँस, बास र कपासको राम्रो प्रबन्ध हुन्छ। हाँसीखेली रहन्छ। वास्तवमा मानवका आवश्यकताहरू भनेका यति मात्र हुन्। तर जब त्यही बालक ठूलो हुँदै जान्छ, उसले यस समाजबाट नयाँ नयाँ चिज सिकिराखेको हुन्छ र थप चाहनाहरू महसुस गर्दै आफ्ना आवश्यकताहरू ठान्छ र ती आवश्यकताहरू पूरा गर्ने प्रयासमा तल्लीन हुन्छ।

गाँस, बास र कपासमा खुसी भइरहेको ऊ खुसीयालीको नयाँ स्वरूप विलासी जीवनशैली र धनसम्पत्ति मानसम्मान जम्मा गर्ने कुरामा देख्छ। र सो प्राप्तिका लागि अनेक दौडधुप र जुक्तिहरू लगाउने गर्छ। यस धर्तीमा मानव भई सर्वश्रेष्ठ प्राणीको रूपमा जन्म लिन पाउनु नै सबैभन्दा ठूलो र खुसीको कुरा हो। सायदै यस धर्तीमा कुनै मनुष्य भोकै सुतेको होला नाङ्गै हिँडेको होला वा बेघर रहेको होला। यदि छ भने पनि मनुष्यकै कारणले रहेको छ। तर यस धरतीमा अन्य प्राणीहरूलाई ती कुराहरू सधैं भाग्यमा हुँदैन। जंगलको राजा मानिने सिंह पनि कैयौं दिनसम्म भोकभोकै बाँचिराखेको हुन्छ। 

बुद्धिजीवी प्राणी मानव भएर जन्मिसकेपछि सुख प्राप्तिका लागि वा जीवनलाई सहज बनाउन नयाँनयाँ सिर्जना र विकासको पथमा लाग्नु स्वाभाविकै हो। यस क्रममा विभिन्न उतारचढाव र द्वन्द्व हुने गर्छ। प्रसिद्ध वैज्ञानिक चाल्र्स डार्विनले स्ट्रगल फर सर्भाभल एन्ड सर्भाइभल अफ द फिटेस्ट भन्नुभएको छ। मानिस जन्मँदा र मर्दा एक्लो भइकन पनि सामाजिक प्राणी हो। समाजमा बस्दा रहँदा, बोल्दार व्यवहार गर्दा सामूहिक निर्णय र सबैलाई मान्ने हुने कार्यहरू गर्नुपर्छ। यो निकै कठिन कार्य पनि हो। किनभने जसरी हरेक व्यक्तिका अनुहार फरक छन् जुम्ल्याहा बच्चाका समेत हातका अंगुठा छाप फरक हुन्छ। त्यसरी नै मानिसको बुद्धि र सोचाइ फरकफरक हुन्छ।

जब मानिसलाई आफूले सोचेजस्तो अरूले मान्दैन तब रिस उठ्न थाल्छ र डर धम्की त्रास आदिको उपयोग गरी सहमतिमा ल्याउने कोसिस गर्छ। जुन उसको लागि र अरूका लागि दुःखको कारण बन्ने गर्छ। जतिसुकै फरक सोच र धारणा भए पनि एउटै समाजमा रहने हुँदा समाजका नीति नियम र आस्थालाई सही दिमाग भएको व्यक्तिले स्वीकार गरेको हुन्छ। तसर्थ तिनै कुराहरूमा आधारित रही उचित तर्कको सहयोगले निर्णयबिन्दुमा पुग्नुपर्छ। यसका लागि बोली र व्यवहारमा नन्भायोलेन्स पद्धतिको उपयोग गर्नुपर्छ।

नन्भायोलेन्स भनेको जस्तोसुकै परिस्थितिमा पनि तन, मन, धन, वचन र कर्मले अरूमाथि अन्याय नगरी हानिनोक्सानी नगरी शान्तिपूर्ण तरिकाले समाधानको बाटो निकाल्नु भनेर बुझ्न सकिन्छ। यो कार्य पूरा हुनको लागि लामो समय लाग्न सक्छ तर एक दिन अवश्य पूरा हुन्छ। तर चाँडो सहमतिमा ल्याउनका लागि भायोलेन्सको प्रयोग गरिएमा त्यसले अझ बढी समस्याहरू ल्याई दुःखका लागि थप कामहरू थपिदिन्छ। मनुष्य जगत् खुसी रहोस् भनेर हरेक धर्ममा अहिंसाको पालना गर भनेर पाठ सिकाइरहेको छ। 

भायोलेन्स विनाशको प्रतीक हो। जसरी आगोले आफ्नो बिरानो भन्दैन त्यसरी नै भायोलेन्सले एकछिनलाई अरूको विनाश गरेको देखिए पनि दीर्घकालमा आफ्नै विनाश गरेको हुन्छ। सुखलाई निरन्तरता दिन अवलम्बन गर्न सकिने धेरै उपायमध्ये आफ्नो जीवनलाई अहिंसात्मक तरिकाबाट निर्देशित गर्नु पनि एक महŒवपूर्ण कार्य हो। यो कार्य भनेजस्तो गर्न कठिन छ तर असम्भव भने छैन। परिपक्वको दिमाग भइसकेका व्यक्तिहरूलाई यो कुराको अभ्यास गर्न कठिन हुन सक्छ तर ससाना कलिला बालबालिकालाई अहिंसात्मक जीवनशैलीमा जिउने कलाको विकास गराउन सकियो भने उनीहरूलाई यही कुराको आदत भई सुखको मार्गमा चल्न सहज हुन्छ।

यसरी आजका कलिला बालबालिकाबाट भोलिको समाजलाई अहिंसात्मक बनाउँदै खुसी व्यक्तिहरूको समाजको रूपमा रूपान्तरण गर्न सकिन्छ। जसरी चुरोट खाने व्यक्ति होस् वा रक्सी पिउने व्यक्ति वा कुनै कुराको लत लागेको व्यक्ति होस्। जस्तोसुकै परिस्थितिमा पनि उसले आफ्नो लतलाई निरन्तरता दिइरहेको हुन्छ। त्यसैगरी आफ्नो जीवनमा अहिंसाको लत लागेको व्यक्ति जस्तोसुकै परिस्थितिमा पनि आफ्नो अहिंसाको आदतलाई पूरा गरेरै छोड्छ। हत्या हिंसा आतंकले आक्रान्त भएको आजको परिवेशमा मानव समाजले अहिंसाको आदत पार्नु अति आवश्यक छ जुन सुख प्राप्तिका लागि ज्यादै महत्वपूर्ण हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.