दार्चुलाको भाइरल घटना : किन महाकालीमा हाम फालिन् धनिसाले?

दार्चुलाको भाइरल घटना : किन महाकालीमा हाम फालिन् धनिसाले?

धनगढी : शनिबार दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा एउटा किशोरीले हाम फालेको भिडियो एकएक भाइरल भयो। महाकालीको तटबन्धको छेउमा पिलर समातेर ती युवती उभिएकी छन् भने तटबन्धको माथि मानिसहरूको भीडभाड देखिन्छ। नदीको डिलमा उभिएकी ती किशोरीलाई प्रहरीले जोगाउन जानेवित्तिकै उनले महाकालीमा हाम फालेको र तलसम्म डुब्दै बगेको कारुणिक दृष्य भिडियोमा देखिन्छ।

को हुन ती महिला?
ती महिला दार्चुलाको महाकाली नगरपालिका-१ मा बस्ने २१ वर्षकी धनिसा कुँवर हुन्। उनको बुबा-आमा सहितको परिवार दुहु गाउपालिका-४ मा बस्छ। धनिसा महाकाली नगरपालिका-१ मा आफ्नो दिदी निर्मला कुँवरको घरमा बस्दै आएकी थिइन्। 

धनिसाले दुहुकै उमेश कुँवरसँग २०८० सालको भदौमा विहे गरिन्। यद्यपि उमेशका परिवारका सदस्य उनीहरूको आधिकारिक विहे नभएको बताउँछन्। उमेशका परिवारको कुरा कहाँनेर पुष्टि हुन्छ भने धनिसाले उमेशले आफूलाई जबरजस्ती घरमा ल्याएर बलात्कार गरेको उजुरी प्रहरीमा दिएकी छन्। 

अहिले उमेश धनिसाले हालेको बलात्कार मुद्दाकै कारण पुर्पक्षका लागि थुनामा छन्। तर धनिसाले केही महिनाअघि सार्वजनिक गरेको भिडियोमा उनले उमेशसँग विहे गरेको बताएकी छन्। उक्त भिडियोमा लेखेर पढेको स्पष्ट बुझ्न सकिन्छ। 

विहे भएको (अथवा उमेशले भगाएर ल्याएको) केही महिनामै उमेश र धनिसाबीच झगडा हुन थाल्यो। धनिसाले उमेशसँग विहे गर्छु भनेर आएपछि पनि, उनले पूर्वप्रेमीसँग फोन गर्ने गरेको विषयमा झगडा हुने गरेको पारिवारिक स्रोत बताउँछ। धनिसालाई उमेशले पिट्ने गर्थे। एक दिन त्यो कुरा प्रहरीकोमा उजुरी आयो। उमेशको घरमा पुगेको प्रहरीमाथि नै उनले चक्कु प्रहार गरेपछि उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो। 

अहिले उमेश कुँवर प्रहरीलाई ज्यानमार्ने उद्योग र धनिसालाई बलात्कार गरेको आरोपमा (पुर्पक्षका लागि) जिल्ला कारागार दार्चुलामा छन्। दार्चुलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंह भन्छन्, ‘धनिसा पछिल्लो केही दिनयता तनावमा थिइन्। उनको परिवारका सदस्यहरूले पनि उनी घर नआउने र भनेको नमान्ने गरेको बताएका छन्’ डीएसपी सिंह भन्छन्।

गत वर्ष उमेश कुवँरले गाउँ जाने क्रममा जबरजस्ती विहे गर्छु भनेर लगेछन्। बहिनीलाई बन्धक बनाएको बारे उजुरीपछि उमेशले निकै टर्चर गरेका थिए। त्यसबेलादेखि उनको दिमाग सन्तुलनमा थिएन। राति पनि बोल्ने, कोठामा बस्न मन नपराउने गर्थिन्।

किन हाम फालिन् महाकालीमा?
धनिसाले महाकालीमा हाम फाल्ने एकीन कारण भने पत्ता लागिसकेको छैन। प्रहरीले कारागारमा रहेका उमेशले केही भनेर आत्महत्या गरेकी त होइनन्? त्यसबारे पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। प्रहरीले उनीहरूबीच भएको कुराकानी, फोन रेकर्डहरू परीक्षण गरिरहेको छ।

शनिबार धनिसाले महाकाली नगरपालिका-४ रिङ्गलताल नजिक महाकालीमा हाम फालेकी हुन्। बेलुकी पख दार्चुलाको पुलघाटदेखि बंगाबगड लास्कुसम्म मान्छेको भीड नै हुन्छ। नेपाल-भारत जोड्ने झोलुङ्गे पुल पनि त्यहीँ नजिक भएको कारण पनि यो क्षेत्र व्यस्त हुने ठाउँ हो।

बाटोमा चिच्याउँदै आएकी उनी एकाएक महाकाली नदी छेउ पुगिन्। पक्की तटबन्ध लगाइएको क्षेत्रबाट भित्र प्रवेश गर्दै महाकाली किनारतर्फ गएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नजिकै रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थल गएर सम्झाउँदा बुझाउँदा पनि नमानेर उनले महाकालीमा हाम फालेकी थिइन्।

उमेशको आपराधिक यात्रा
०८० माघ ५ गते धनिसाले बन्धक बनाएर आफूलाई उमेशले बलात्कार गरेको भन्दै प्रहरीमा निवेदन दिइन्। प्रहरीले छलफलको लागि भन्दै उमेशलाई प्रहरी कार्यालय ल्याउने क्रममा उनले ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्ना र प्रहरी हवल्दार जयबहादुर खड्कामाथि माघ ७ गते चक्कु प्रहार गरे। 

चक्कु प्रहार गरी कुँवर फरार भए। उनलाई प्रहरीले फागुन २२ गते महाकाली नगरपालिका-४ खलंगा पुलघाटबाट पक्राउ गर्‍यो। पक्राउ गरेर अनुसन्धान भइरहेको बेला कुँवर फागुन २८ गते जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै भाग्न खोजे। प्रहरीले बयान लिने क्रममा उनी जिल्ला प्रहरीको पर्खाल नाघेर महाकाली नदीतर्फ हाम फालेर भागे।

कुँवरलाई रोक्ने क्रममा प्रहरी जवान सोहन चौधरीको मृत्यु भयो। कुँवरलाई महाकाली नदीबाटै प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले सरकारी वकिल कार्यालयमार्फत ०८० चैत १६ गते अपहरण तथा बन्धकी, कर्तव्य ज्यान र जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदालत दार्चुलामा मुद्दा दायर गरेको छ। अदालतले कुँवरलाई चैत १६ गते नै पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। अहिले उनी कारागारमा छन्।

उमेशबाट पीडित थिइन् धनिसा
महाकाली नदीमा बेपत्ता भएकी धनिसालाई सानैदेखि दिदी निर्मला कुँवरसँगै बस्दै आएकी थिइन्। गत वर्ष उमेश कुवँरले गाउँ जाने क्रममा जबरजस्ती विहे गर्छु भनेर लगेछन्। बहिनीलाई बन्धक बनाएको बारे उजुरीपछि उमेशले निकै टर्चर गरेका थिए। त्यसबेलादेखि उनको दिमाग सन्तुलनमा थिएन। राति पनि बोल्ने, कोठामा बस्न मन नपराउने गर्थिन्। निर्मलाले भनिन्, ‘आफूले सम्झाए पनि उनी कहिले कता कहिले कता जाने गरेकी थिइन्।’

‘दुई दिनदेखि कोठाबाट निस्केकी थिई। आफन्तको घर गएको होला सोचे। घट्नाबारे पछि मात्रै सुनेको’ उनले भनिन्, 'किन महाकाली नदीमा हाम फालिन् मलाई पनि थाहाँ छैन।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.