पहिरो जोखिमका १२ परिवारलाई सारियो सुरक्षित स्थानमा
जाजरकोट : पहिरोको उच्च जोखिममा रहेका जाजरकोट जुनीचाँदेका १२ घरपरिवारका ६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्लाको जुनीचाँदे गाउँपालिका—३ स्याँला गाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए। उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल टाँगेर राखिएको डीएसपी पाण्डेले जानकारी दिए।
जुनीचाँदे गाउँपालिका—३ स्याला बस्ने शीतला टमटा, सरा टमटा, सुनिता चदरा, झुपा तिरुवा, पुतला टमटा, शर्मिला टमटा, पुतला नेपालीलगायत परिवारका ६५ जना विस्थापित भएका हुन्। प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तत्काल जोखिम रहेको जानकारीका आधारमा ती घरपरिवारहरूलाई सुरक्षित स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको जानकारी दिए।
यसअघि पनि भेरीका वडा नम्बर १ र ३ का दर्जन बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। भूकम्पले हल्लाएको जाजरकोटको जमिनमा जतिखेर पनि पहिरो गएर क्षति पुर्याउन सक्ने भन्दै स्थानीय प्रशासनले जोखिममा रहेका बस्तीको अवस्था हेरेर जोखिम हुन नदिन तत्काल सुरक्षित स्थानमा सार्ने रणनीति लिएको छ। ठूलो पानी परेको अवस्थामा धेरै बस्तीहरू बग्न सक्ने भूगर्भविद्ले चेतावनी दिएका छन्। जाजरकोटमा हालसम्म बाढीपहिरोमा परी दुई जनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन्।