प्रसारण लाइनमा विस्तारमा स्थानीयको अवरोध
जनकपुरधाम : गौशाला नगरपालिका-१ रामनगरस्थित उद्योग विद्युत् व्यवस्थापनका लागि विस्तार गरिएको ३३ केभी प्रसारण लाइनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन्। नगरपालिका-१ इटाटारमा स्थापित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजका लागि विस्तार गर्न लागेको ३३ केभीको लाइनमा रामनगरका स्थानीयवासीले अवरोध गरेका हुन्।
बर्दिबास-४ माईस्थान गौशाला चोक भएर जंगल हुँदै रामनगर गाउँबाट पेपर मिल्सका लागि ३३ हजार केभीको विद्युत् प्रसारण लाइनले वातवरणीय प्रभाव, शारीरिक जोखिम, वृक्षहरूको कटान तथा जीवजन्तु तथा वन्यजन्तुमा समेत प्रतिकूल प्रभाव पर्ने भएकाले गाउँ बस्तीभन्दा परबाट विद्युत्को तार नलगी गाउँबाटै ल्याउन खोजेपछि स्थानीयले अवरोध सिर्जना गरेको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोले बताइन्।
उनले भनिन्, ‘३३ केभीको विद्युत्को प्रसारण लाइनमुनि घर बनाउन नपाइने, घरको नक्सा पास नहुने तथा लाइनिङ क्षेत्रको जग्गा कौडीको भाउमा परिणत हुने भएकाले गाउँलेले अवरोध गरेका हुन्। गरिब दिन दुःखी बस्ने गाउँघरमा भएको घर र जग्गालाई पनि विद्युतीकरणको नाममा कौडी नबनाउने भएकाले अवरोध गरिएको हो। जसमा मेरो पनि समर्थन छ।’
विद्युत् प्राधिकरणले बर्दिबासदेखि इटाटार उद्योगसम्म बिजुली लैजान पोल गाडे पनि रामनगर बस्तीमा अवरोधका कारण तार टाँग्न सकेको छैन। बस्ती हुँदै जाने प्रसारण लाइनलाई सार्न माग गर्दै अवरोध पुर्याएपछि गत शनिबार सुरक्षाकर्मी परिचालन गरिएको थियो।
बर्दिबासदेखि उद्योगसम्म १३ किलोमिटरमध्ये १० किलोमिटर क्षेत्रमा काम सकिए पनि तीन किलोमिटर क्षेत्रमा अवरोध छ। अवरोधका क्षेत्रमा करिब सय घर पर्ने हुँदा अवरोध भएको वडा नम्बर १ वडाध्यक्ष नवीनकुमार साहले बताए।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तार टाँग्ने बेलामा स्थानीयले अवरोध गरेको सूचना पाए पनि विषयवस्तु किन र केका लागि अवरोध भएको बारे आधिकारिक हिसाबले नआएको बताए। उनले भने, ‘यथार्थ के हो ? बुझ्दैछौं, समस्या समाधानतिर लाग्छौं।’
स्थानीयवासीको स्वास्थ्यमा असर पर्ने भएकाले प्रसारण लाइन अन्तैबाट खोला किनार भएर लैजान भनिएको स्थानीय तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता नरेश कुशवाहाले बताए।
पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नांगो तार टाँग्न अवरोध गरेपछि स्थानीयसँग तारलाई बेरेर वा अन्डरग्राउन्ड गरेर लैजाने विकल्पमा पनि छलफल गर्न सकिने बताए। पोखरेलले भने, ‘प्रत्यक्ष रूपमा असर नहुने भए पनि अप्रत्यक्ष रूपमा तारमुनिको जग्गा जग्गाको मूल्यांकन घट्ने, घरजग्गाको नक्सापास नहुने, सुरक्षा जोखिम बढ्ने लगायतको समस्यालाई मध्यनजर गरेर विकल्पको बाटो खोज्नुपर्ने हुन्छ।’
उद्योग वाणिज्य संघ गौशालाले विद्युत प्रसारण लाइनको अवरोध हटाउन सहयोग गर्न अपिल गरेको छ । गौशालाका अध्यक्ष रामराजा प्रसाद साहले, ‘सिमित व्यक्तिको अवरोधले उद्योग सञ्चालमा अवरोध आपत्तिजनक छ।’ विद्युत प्रसारण लाइन क्षेत्रमा पर्ने रामनगरका स्थानीयबासी ३३ केभी प्रसारण लाइनले स्वास्थ्यमा नकारात्मक असर पर्ने बताउँछन्। तारबाट निस्कने विकिरणले मानिस र गाईवस्तुलाई भौतिक रूपमा असर पर्ने भनाइ छ।
उनीहरूले मर्मत जटिलता बढ्ने, वातावरणीय प्रभाव, प्राविधिक ह्रास, विद्युतीय चुम्कीय विकिरण, शारीरिक जोखिम, रुख वृक्ष कटान, भूमि तथा घर प्रयोगमा प्रभाव, दृश्य प्रदूषण जस्ता क्षेत्रमा प्रभाव पर्ने प्राविधिकहरू बताउँछन्।