टाटा मोटर्स नै मार्केट लिडर

अटो उत्सव

टाटा मोटर्स नै मार्केट लिडर

टाटाको बलियो पक्ष भनेको उत्पादनसँगै त्यसको सम्पूर्ण आवश्यक सोलुसन पनि ल्याउँछौं।

सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड (एसटीपीएल) ले नेपालमा टाटा मोटर्सका कार तथा व्यावसायिक गाडी वितरण गर्ने आधिकारिक कम्पनी हो। एसटीपीएल नेपालको सबैभन्दा ठूलो अटोमोबाइल वितरक हो। सिप्रदी ट्रेडिङले टाटाका सबै प्रकारका युटिलिटी भेहिकल र कारहरू बिक्री गर्दै आएको छ, चाहे त्यो प्यासेन्जर होस् वाकमर्सियल।

टाटा मोटर्सले सिप्रदीसँगको साझेदारीमा सन् १९८२ मा नेपालमा कमर्सियल भेहिकल निर्यात सुरु गरेको थियो। सिप्रदी ट्रेडिङले आफ्नो बलियो सेल्स एन्ड सर्भिस डिस्ट्रिब्युसन नेटवर्कका साथ टाटा मोटर्सका सम्पूर्ण गाडीहरूलाई सेवा प्रदान गर्न सफल भएको छ। गाडी प्रदर्शनीको कुम्भमेला नाडा अटो शो नयाँ संस्करणमा टाटाले आयोजकको भूमिका पनि निर्वाह गर्दैछ। यसै सेरोफेरोमा केन्द्रित भई सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश।


नेपालमा सवारीसाधनहरूको बजार कस्तो छ ? त्यसमा टाटाको योगदान कति छ ? 

मुख्यतया सरकारको पुँजीगत खर्च घट्दा त्यसको असर व्यावसायिक गाडीको खरिद बिक्रीमा परेको छ। किनभने पुँजीगत खर्च घट्नेबित्तिकै त्यसको असर निर्माण उद्योगमा पर्‍यो र निर्माण उद्योगमा असर गर्दा ठूला–ठूला ट्रकलगायतका सवारीको बिक्रीमा पनि असर गर्‍यो। फेरि यता, यात्रु बोक्ने बसलगायतका सवारीसाधनको चर्चा गर्ने हो भने त्यसमा अलि–अलि बढावा भइरहेको छ। अझ यसमा सरकारले विद्युतीय सवारी (ईभी) लाई प्रवद्र्धन गर्ने नीति लिँदा यात्रु बोक्ने ईभी सवारीको व्यापार राम्रोसँग नै बढिरहेको छ।

आइस भेइकल (पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन) को व्यापार भने अति नै भयावह छ। सरकारको ईभी प्रवद्र्धन नीतिले गर्दा पनि होला यात्रु बोक्ने सवारीमा उपभोक्ताको प्राथमिकतामा ईभी सवारी नै पर्न थालेको छ। समग्रमा बजार उस्तै देखिए पनि आइस भेइकलको व्यापार घट्दो छ। यसले देशको समग्र राजस्व संकलनमा असर भने पक्कै पारिरहेको छ।टाटा मोटर्सको सवालमा मुख्य बिजनेस भनेको कमर्सियल बिजनेस हो। सामान्यता कमर्सियल भेइकलको उद्योग नेपालमा हेर्ने हो भने प्रतिवर्ष १३ देखि १४ हजारको व्यापार छ। तर, अहिले गतवर्षको तथ्यांक हेर्ने हो ३५ सयदेखि ४ हजारको व्यापार सीमित भएको छ। अहिले यसको बजार संकुचित हुँदै गइरहेको छ। करिब ७० प्रतिशत नै यसको व्यापार खस्किएको छ।

यात्रु बोक्ने सवारीको बिक्री नै बढी भइरहेको छ। टाटा मोटर्सको पनि यात्रु बोक्ने सवारीमा पनि ईभीका गाडी नै बढी बिक्री भइरहेको आइस भेइकलको तुलनामा। यात्रु बोक्ने सवारीमा हाम्रो ईभीको हिस्सा करिब ९५ प्रतिशत छ भने आइस भेइकलको करिब ५ प्रतिशतमात्रै छ। 

टाटाका उत्पादनहरू अरूभन्दा भिन्न कसरी छन् ? सामान्यता टाटाका जुनसुकै उत्पादन ल्याउँदा पनि हामीले यहाँको वातावरणलाई ठीक हुन्छ कि हुँदैन र यहाँको एप्लिकेसनलाई ठीक हुन्छ कि हुँदैन भनेर हेरेका हुन्छौं। हामीले त्यसको पूरा अध्ययन गरेर र यहाँ ल्याएर पनि त्यसको टेस्ट गरेर मात्र लिएर आउँछौं। हामीले जुन उत्पादन यहाँ लिएर आउँछौं। त्यो नेपालको लागि एकदम नै ठीक हुन्छ। यसले समग्र पर्फमेन्समा नै राम्रो असर गरेको छ।

अर्को, टाटाको बलियो पक्ष भनेको  उत्पादनसँगै त्यसको सम्पूर्ण आवश्यक सोलुसन पनि ल्याउँछौं। हामीले उपभोक्तालाई के विश्वास दिलाइरहेका छौं भने टाटाको गाडी जहाँ पनि बन्छ र यसको सामान जहाँ पनि पाइन्छ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म हेर्ने हो भने सबै स्थानमा आफ्नै वर्कसप छ र स्पेयर्स पाट्र्स पनि पाउने च्यानल बनाएका छौं। त्यतिमात्र नभएर सबै टाटाको बनाउने नेपालकै पनि मेकानिकहरूलाई धेरैभन्दा धेरै 

तालिमहरू दिइरहेका हुन्छौं। कम्पनीका कामदार मात्र नभएर नेपालमा भएका मेकानिकले पनि टाटाको गाडी बनाउन सक्छन्। यसले उपभोक्तालाई के विश्वास दिलाएको छ भने टाटाको गाडी किने भने मलाई केही समस्या हुँदैन यसको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले सबै हेर्दिन्छ भन्ने छ। 

विद्युतीय गाडीतर्फ सबैको आकर्षण बढिरहँदा टाटाको योजना के छ ? 

सबैभन्दा पहिला उपभोक्तालाई गाडीमात्र बेचेर उनीहरू खुसी हुँदैनन्। मुख्य भनेको मोबिलिटी सोलुसन हो। त्यो भनेको के हो भने गाडी र गाडीसँग जोडिने जति पनि इकोसिस्टम छ, त्यो निर्माण नगरिकन गाडीमात्र बेच्यो भने उपभोक्ताले गाडी किन्ने स्थिति हुँदैन। 

त्यही भएर टाटाले सुरुदेखि नै इको सिस्टम तयार गरेर गाडी भित्र्याएको छ। यदि यसो नहुने हो भने उपभोक्ताबीच नकारात्मक सोच लिएर आउँछ। यसमा सबैभन्दा पहिला चार्जिङ स्टेसन चाहिन्छ। नेपालभरिका हाइवेमा हामीले चार्जिङ स्टेसनको कभरेज गर्‍यौं। प्रत्येक ६०–७० किलोमिटरमा फास्ट चार्जिङ हुनुपर्छ र नेपालभरी ईभी गाडी बनाउन सक्ने वर्कसप हुनुपर्छ भन्नेमा ध्यान दियौं। अहिले २६ स्थानमा डीसी फास्ट चार्जिङ स्टेनि छ। यो अझै थप्दै पनि छौं। एसी चार्जर सयौंको मात्र छन् र थपिँदै पनि छन्। ईभीको वर्कसपको कुरा गर्दा यो अर्को नर्मल वर्कसपभन्दा फरक हुन्छ।

यसमा हाइभोल्टेज हुने हुनाले जति पनि सामग्री हुन्छ, त्यसमा करेन्ट नलाग्ने गरी तयार गर्नुपर्छ। त्यसपछि अर्को इकोसिस्टम भनेको ब्याट्री रिपियर सेन्टर हो। ईभीमा सबैभन्दा महँगो भनेको नै ब्याट्री हो। सामान्यता ईभी गाडीको मूल्यमा ५० प्रतिशतसम्म हिस्सा ब्याट्रीको नै हुन्छ। र भोलि त्यो ब्याट्री मेन्टेन गर्न सकिएन र बनाउन सकिएन भने त्यसको भार त एकदम ठूलो हुन्छ। यी सबै इको सिस्टम तयार पछि मात्रै गाडी लिएर आएर बिक्री गर्न थालेका हौं। यसपछि जुन किसिमको ग्राहकको सन्तुष्टि पायौं यसले टाटाको ईभी बजारमा ठूलो आकर्षण बढाएको हो। यसले माग पनि बढायो र बढ्दै गएको छ।

टाटाको उत्पादनको पोर्टफोलियो एकदम नै फराकिलो छ। टाटाले प्रत्येक सेगमेन्टमा प्रोडक्ट ल्याइरहेको छ। अहिले सबैभन्दा इन्ट्री सेगमेन्टमा टियागो सञ्चालन गर्‍र्यौं। त्यसपछि पन्च ल्याएका छौं। एसयूभी सेगमेन्टमा नेट्रोन छ। अहिले कर्भ ईभी ल्याउँदै छौं। भारतमा लन्च भइसकेको अब नेपालमा ल्याउने तयारी भइरहेको छ। सबै लक्षित वर्गलाई हुने गरी उत्पादनहरू छन्। यसमा हाम्रो लक्ष्य इकोसिस्टममा गाडी भित्र्याउने र ग्राहकको अनुभवलाई प्राथमिकतामा राख्ने भन्ने छ। 

चिनियाँ सवारीसाधन उत्पादनकर्ताहरूको पकड मजबुद बन्दै गइरहेको अवस्थामा प्रतिस्पर्धाको बजारलाई कसरी हेर्नुभएको छ ? 
भारतबाट नेपाल भित्रिएका ईभी गाडीमा टाटा मोटर्स नै लिडिङमा छ। चिनियाँ उत्पादनहरू हाम्रो टेरेन र वातावरण मिल्दो हुँदैन। हाम्रो टेरेनलाई सुहाउँदो र हाम्रो एप्लिकेसनलाई मिल्ने भनेको भारतीय उत्पादन नै हुन्। त्यसमा हामीले हेर्ने भनेको उत्पादन आफैंमा केही फरक नदेखिएला।

भारतीय र चिनियाँ उत्पादनको प्रविधि करिब–करिब उस्तै नै हुन्छ। फरक के मात्र हुन्छ भने कम्पनीले दिने सेवा। सेवामा हामीले फरकपन ल्याउने हो। यसमा हामी लागिरहेका छौं। मुख्य भनेको ग्राहकलाई दिन लाइरहेको उत्पादन र सेवाका अनुभव लगानी गरिरहेका छौं। यसले गर्दा नै चिनियाँ उत्पादनभन्दा हाम्रा उत्पादन फरक देखिन्छ। त्यसले गर्दा चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न धेरै नै सजिलो हुन्छ। 

टाटाको रिसेलिङ भ्यालु राम्रो छैन भन्छन्, यसले कम्पनीको व्यापारमा कस्तो प्रभाव पारेको छ ? 
रिसेलिङ भ्यालु भनेको ग्राहकले त्यसलाई कसरी लिन्छ भन्ने हो। मागको आधारमा गाडीको रिसेलिङ भ्यालु भर पर्ने हुन्छ। हाम्रो अहिलेको व्यापार हेर्ने हो भने धेरै जसो सेगमेन्टमा हामीमार्केट लिडर छौं।

उदाहरणका लागि टियागो ईभी हेरौं। यो ह्याच सेगमेन्ट हो, यसमा ५३ प्रतिशतहाम्रो बजार हिस्सा छ। यसको मतलब यसको भ्यालु छ। पहिला ८–१० वर्षअघिका गाडीहरूको रिसेलिङ मूल्य कम थियो होला। तर, अहिले प्रविधिको विस्तारसँगै नेपालमा टाटाको उपस्थिति बढ्दै गएको छ। अहिले हामी गाडी (कार र कमर्सियल भेइकल) मामार्केट लिडर हौं।

ग्राहकको हामीप्रति विश्वास हुनेबित्तिकै रिसेल भ्यालु बढिरहेको छ। यस्तै कुनै भेरियन्टको माग बढी हुँदा त्यसको रिसेल भ्यालु बढी हुन सक्छ भने कुनै भेरियन्टको डिमान्ड नै कम छ भने त्यसको रिसेल भ्यालु स्वत :  कम हुने भयो। यो व्यावहारिक पक्ष हो र यो हामीलाई मात्रै नभई सबै कम्पनीलाई लागू हुन्छ। ईभीको सन्दर्भमा भने प्रविधि चाँडो चाँडो अपग्रेड हुँदा रिसेल भ्यालुमा असर गर्न सक्छ। 

यस उद्योगले अहिले भोगिरहेको समस्या के हुन् ? सरकारको नीति उद्योगको सहजतका लागि उपयोगी पाउनुभएको छ ? 
हामीले भोगेको समस्या भनेको नीतिगत स्थिरता नै हो। नीति स्थिर नहुँदा कसरी दीर्घकालीन योजना बनाउने भन्नेमा नै यो समग्र उद्योग समस्यामा परेको छ।

ईभीकै कुरा गर्दा यसमा इकोसिस्टमको कुरा आउँछ र त्यो भन्ने बित्तिकै लगानी धेरै गर्नुपर्ने हुन्छ। यदि भोलि सरकारको नीति परिवर्तन भयो र अहिलेको मागअनुसार ईभीको बिक्री भएन भने अहिले इकोसिस्टममा गरेको लगानी त डुब्छ। यसका लागि सरकारले दीर्घकालीन नीति लिनपर्‍यो। यस्तै ड्राइभिङ डिसिपिलनमा सरकारले राम्रा नीति लिए पनि त्यसको लागू र अनुगमन पनि ध्यान दिन जरुरी छ। यसले व्यावहारिक समस्या निम्त्याएको छ। 

नाडा अटो शोमा आयोजकको रूपमा टाटा मोटर्स रहेको छ, यसको उद्देश्य के होला ? 
यस पटक सहभागी पनि धेरै छन्। सरकारले पनि ईभीलाई प्रवद्र्धन गरेको भएर होला अलि ईभीमय हुने देखिन्छ। धेरै जसो ईभीकै स्टल हुनेछन्। चार पाङ्ग्रेमा त अझ बढी स्टल छन्।

दुई पाङ्ग्रेमा पनि राम्रो उपस्थित हुने देखिन्छ। अर्को भनेको नाडामा पहिलो पटक बाहिरका पनि अटो एसोसियसनहरूलाई आउनका लागि अनुरोध गरेका छौं। 

प्रस्तुति  :  सुनिता कार्की 


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.