दुई महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन
![दुई महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_VTryVWyN2v_Ie5x5bJwSx.jpg)
जोमसोम : गत असार १७ गतेदेखि बन्द (पोखरा-जोमसोम) हवाई उडान सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ। यसअघि मौसम प्रतिकूलता तथा पर्यटकीय अफ सिजनका कारण नियमित हवाई उडान सेवा ठप्प रहेको थियो।
बिहीबारदेखि समिट एयरलाइन्सले उडान भरेको छ। पहिलो दिन एकै जहाजले ५ वटा उडान भरेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख केशव लम्सालका अनुसार मनसुन समाप्तिसँगै अनुकूल मौसम सुरु भइसकेकाले हवाई सेवा सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार हवाई सेवामार्फत ८५ जना भारतीय पर्यटक र ५ जना नेपाली मुस्ताङ आइपुगेको उनले बताए।
मनसुन तथा प्रतिकूलतासँगै समिट र तारा एयरले दुई महिनाअघि पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित गरेका थिए। मनसुनका कारण पोखरा-जोमसोम हवाई सेवा बन्द गरिए पनि आपतकालीन हेली उद्धार भइरहेको थियो भने भीआईपी पर्यटकले हेलिकोप्टर चढेर मुक्तिनाथको दर्शन गर्न आउने गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)