गाँठो नबल्झाइ सेवा प्रवाह गर्न मुख्यमन्त्रीको आग्रह
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाइ छिटोछरितो र सेवाग्राहीमुखी बनाउन कर्मचारीलाइ निर्देशन दिएका छन्।
निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा भएको शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री आचार्यले सेवाग्राहीले छिटोछरितो सेवा खोज्ने हुँदा सेवाग्राहीलाई कानुनी गाठो बल्झाएर हैन निकास दिएर सेवाप्रवाह गर्न आग्रह गरेका छन्।
कर्मचारीहरूले हुने कामलाइ पनि कानुनका नाममा जनतालाइ दुःख दिने परम्परालाई अन्त्य गर्न आग्रह गरे। उनले भने, ‘कानुनको गाठो पारेर जनताको कामलाइ आलटाल गर्ने होइन। यदि कही कतै कानुनको गाँठो परेको छ भने त्यो गाँठोलाई कसरी फुकाउन सकिन्छ त्यसको निकास दिने कुरामा जान जरुरी छ। मैले धेरै ठाउँमा देख्ने गर्छु। निकास खोज्नेभन्दा कामलाई बल्झाउनेतिर कर्मचारीहरू जाने तलदेखि माथिसम्मको परिपाटी छ यसको अन्त्य हुन जरुरी छ। आजको यो दिनमा सबै राष्ट्रसेवक कर्मचारीलाई भन्न चाहन्छु। हरेक क्षेत्रमा पारदर्शिता,र जनताको सेवाप्रति उत्तरदायी बन्न आजको यो दिनले प्रेरणा मिलोस्। अहिले कर्मचारीलाई समाजले हेर्ने दृष्टिकोण छ। त्यो परिवर्तनका निम्ति कर्मचारीले गर्ने कामले पुष्टि गरोस् भन्ने कामना गर्छु।’
उनले लुम्बिनी प्रदेश सरकारले छिट्टै विभिन्न तहमा १९ सय कर्मचारीको विज्ञापन खोल्ने बताए। संघीय सरकारले हस्तान्तरण गरेको स्वीकृति दरबन्दी अनुसार लुम्बिनी प्रदेश सरकार मातहत रहेका कार्यालयहरूमा ४ हजार ७८ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल २१ सय ७८ जना कर्मचारी मात्र कार्यरत रहेको र रिक्त रहेका १९ सय कर्मचारीको पदमा अब छिट्ट लोक सेवा आयोगमार्फत विज्ञापन खोलिने बताएका छन्। उनले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताए। कर्मचारी ऐन लागु हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै यस वर्ष स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन पारित भएपछि कर्मचारीको मनोवल वृद्धि हुने र कर्मचारीका समस्या समाधान हुने बताए।
कार्यक्रममा निजामती सेवा दिवसका अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या लगायत कार्यालय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !