विराटनगरको मुनालपथमा भीषण आगलागी
![विराटनगरको मुनालपथमा भीषण आगलागी](https://annapurnapost.prixacdn.net/media/albums/aagolagi_brt_1_f0MtbfDzaf_uPe2bUnyPv.jpg)
विराटनगर : कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-२ मुनालपथमा भीषण आगलागी भएको छ। इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा दिउँसो करिब २ बजेतिर आगलागी सुरु भएको हो। बिजुलीबाट चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको भाबिया इन्टरनेशनलमा आगलागी भएको प्रहरीले जनाएको छ।
भाबिया इन्टरनेशनलसँगै बजाजको सोरुम पनि छ। आगोले इलेक्ट्रिक पसल पूर्णरूपले जलेको छ। सोरुममा पनि क्षति पुगेको छ। पूर्वतिरबाट हावा चलेका कारण आगो नियन्त्रणका कठिनाइ भइरहेको छ। दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। तर, नियन्त्रणमा आउन सकिरहेको छैन।
आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन। आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरू पनि जलेको छ। ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।
आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका छन्। विराटनगर महानगरपालिकाको दमकललाई घटनास्थल पुग्न नै करिब १ घण्टा लागेको स्थानीय बताउँछन्। यद्यपि, विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगालागीको कारण यकिन भइनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
यसैबीच राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ। राजमार्गको पूवतर्फ रहेको पसलमा आगो लागेको हो। जसका कारण पूर्वतर्फको लेनमा सवारीसाधन सञ्चालन हुन सकिरहेको छैन। घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले ‘डाइभर्ट’ गरेर पश्चिमतर्फको लेनबाट सवारीसाधन सञ्चालनमा सहजीकरण गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)