अरुण उपत्यकाको संकलनमा रहेको मारुनीको अंश– सुकी जालिन् गंगाजी, सुकी जालिन् यमुना, सुकी जाला सातै समुद्र, सुक्दैन माया जुनीभर।
एकातिर खेतीपातीको चटारो अर्कातिर प्राकृतिक विपत्तिको सामना। बर्खामासमा दैनिक जीवन कष्टकर हुन्छ। खोलानालामा बाढी आइरहेको हुन्छ। ठाउँठाउँमा पहिरो गइरहेको हुन्छ। बाटोघाटो चिप्लो भएर पैदलयात्रामा कठिनाइ हुन्छ। कतै जान नपाएर मानिस भित्रभित्रै गुम्सिइरहेका हुन्छन्। छट्पटाइरहेका हुन्छन्। विरह, वेदना र कुण्ठाले मन भारी भइरहेको हुन्छ। लामा र पट्यारलाग्दा दिनहरूले भरिएका वर्षा ऋतुको समाप्तिसँगै शरद ऋतुको आगमन हुन्छ।
खेतीपातीबाट पनि फुर्सद मिलेको हुन्छ। प्रकृतिमा मादकता छाउन थाल्छ। आकाश स्वच्छ र निर्मल भएर चम्किइरहेको हुन्छ। करेसाबारीमा मगमग बास्ना छोड्दै सयपत्री, मखमली गोदावरी फुलिइरहेका हुन्छन्। हाटबजारहरूमा मान्छेको चहलपहल बढ्न थाल्छ। यो ऋतुले दसैं, तिहारजस्ता चाडपर्वको बहार पनि लिएर आइरहेको हुन्छ। मानिसमा खुसीको सञ्चार हुन थाल्छ। मानव हृदय शारदीय चन्द्रमा झैं उज्ज्वल भएर चम्किन थाल्छ। रञ्जकताको अनुभूति हुन थाल्छ। शरद ऋतुको आगमनसँगै लोकमस्तिष्कबाट झंकृत भएर उठेको गीत हो, मारुनी। यतिखेर गाउँ, पाखा, कुनाकन्दरा यस्तै गीतहरू गुञ्जिन थाल्छन् : -
श्रीखण्ड काठहको मादलु है मेरो
नाचन मेरी मारुनी
आँगनीमा छमछम...
मारुनी ऋतुकालीन, पर्वकालीन, संस्कार गीत, गाथा र नृत्यको श्रेणीमा पर्छ। मारुनीलाई बुझ्दा लोकगाथा, लोकगीत र लोकनृत्य तीनै विधालाई बुझ्न आवश्यक छ। लोकगीत लोक र गीत दुई शब्दको योगबाट निर्मित छ। लोकमा प्रचलित, लोकद्वारा रचित एवं संरक्षित गीत नै लोकगीत हो। यसमा शास्त्रीय नियमको बाध्यता हुँदैन। यसको उद्भवको स्रोत भनेको मानवीय संवेदना हो। मानिसको सुखदुःखमा लोकको छन्दवद्व वाणीद्वारा जे उत्पन्न हुन्छ, त्यो नै लोकगीत हो। यसमा व्यक्ति विशेषको छाप नभए सिंगो समाजको छाप भेटिन्छ। श्रुति, स्मृति र मौखिक परम्परामा जीवित लोकगीतमा शिष्ट साहित्यिक कवितामा झैं रचनागत सतर्कता नभए पनि यो श्रुति माधुर्यले ओतप्रोत हुन्छ।
मारुनीको अर्काे आकर्षक पक्ष भनेको नृत्य हो। लोकगीत झैं लोकनृत्यको पनि कुनै सिर्जनकर्ता व्यक्तित्वको छाप नभएर सिंगो समाजको छाप हुन्छ। सर्वगम्य, सर्वसुलभ र सर्वग्राह्य हुन्छ। लोकनृत्य लोकको जीवित हृदयको धड्कन हो। आदिकालमा भोजनको खोजमा जंगल–जंगल भौंतारिरहेका मानिसले प्रकृतिको रचनागत प्रक्रियाका लागि अवलोकन गरे। हावाका झोकाले झुमिरहेका वृक्षका हाँगा, बादल, बिजुली, वर्षात्का ध्वनिहरूलाई अनुभूत गरे। बुरुक बुरुक गर्दै उफ्रिएका मृग शावकका चाल, स्वाँकार गर्दै घस्रिएका सर्पहरूका चाल, ओल्लो ढुंगाको कापबाट पल्लो ढुंगातिर फुत्रुक्क उफ्रिँदै नाघिरहेका भ्यागुताहरूका चाल, मयूरका नाच देखे। यस्ता प्रकृतिका मनोहर कलाबाट प्रेरणा लिए। अनुसरण गरे।
यसरी लोकनृत्य जन्मिए। लोकनृत्य प्रकृतिको अनुकम्पाद्वारा सिर्जित नृत्य हो। जुन भूभागका प्रकृतिको छटा जस्तो छ, वास्तवमा लोकनृत्य पनि त्यस्तै छ। यही कारण पहाडमा बस्नेको नृत्य अलि मन्द र मैदानमा बस्नेको अलि तीव्र झैं देखिन्छ। प्रकृतिको गर्भबाट जन्मिएको नृत्य भएकाले यसमा शास्त्रोक्त सूत्र निर्धारित छैन। यसको उर्वरभूमि भनेको ग्रामीण परिवेश हो। यसमा ग्रामीण जीवनको साँचो चित्र देख्न सकिन्छ।
लोकमा मारुनी गाथाको रूपमा पनि चर्चित छ। जनसमूहको व्यापक अनुभव, उनीहरूको आकांक्षाको लामो र क्रमिक कथात्मक अभिव्यक्ति नै गाथा हो। एक वाक्यमा भन्नुपर्दा आख्यानात्मक गीत नै गाथा हो। हाम्रो आर्यबर्त गाथाको दृष्टिकोणले महत्त्वपूर्ण छ। वेद, पुराण, उपनिषद्मा गाथाहरूको प्रभाव देख्न सकिन्छ। यसका तत्त्वहरू ऋग्वेदका स्तुतिमा पनि देख्न सकिन्छ। गाथा भनेको आख्यानात्मक गीत हो भन्ने कुरालाई यसले छर्लंग पार्छ।
लोकसाहित्यको जनजीवनसँग गहिरो रूपमा जोडिएको लोकप्रिय विधा हो, लोकगाथा। यसमा कुनै पनी स्थानको आञ्चलिकता झल्किनुका साथै रहनसहन, रीतिरिवाज, भेषभूषा आदिको दृष्टिगोचर गर्ने अवसर पनि प्राप्त हुन्छ। यसको ऐतिहासिकता भने सधैं सन्दिग्ध रहेको पाइन्छ। लोकगाथामा ऐतिहासिक पात्रको नाम त हुन्छ तर उसको वास्तविक जीवन र कथानात्मक भने फरक हुन्छ। गाथामा इतिहास साधन हुन्छ तर साध्य हुँदैन। गाथाकार गाथा रचेर लोकलाई सुम्पिएर ओझेल हुन्छ। अर्काे गाथाकारले त्यसमा केही जोड्छ। यसरी गाथा लम्बिँदै जान्छ। कथानकता लामो हुन्छ। गाथालाई जनसाधारणद्वारा रचित महाकाव्य भनेर बुझ्न सकिन्छ।
मारुनी यस्तै गीत, गाथा, नृत्यको त्रिवेणी संगम हो। विशेषतः मारुनी शरद ऋतुको गाइतिहारे औंसीदेखि सुरु भएर पूर्णिमासम्म गाउँदै नाच्ने परम्परा छ। तर कतिपय स्थानमा भने दसैंको कालरात्रिदेखी सुरु गरेर धान काटेर थन्काएपछि फुकाउने प्रचलन छ। मारुनी पश्चिममा नृत्य र पूर्वमा गाथा, नृत्य दुवैको रूपमा अधिक रूपमा चर्चित छ। पश्चिममा मारुनी नाच्दा पश्चिमकै लयमा गीत गाइन्छ, पूर्वमा मारुनी नाच्दा पूर्वेली लयमै गाइन्छ। मारुनी गाथा पूर्वी पहाडमा नै अधिक फस्टाएको पाइन्छ।
मादलको तालमा पौराणिक कथामा आधारित गीतहरू गाएर नाचिने मारुनीलाई नेपालका प्रायः सबै जातजातिले अपनाएको पाइन्छ। विशेषतः कुमाल, मगर, खस आर्यहरूमा अधिक प्रचलित छ। मारुनी बन्धन बाँधेर सुरु गर्ने र फुकाएर अन्त गर्ने प्रचलन छ। प्रायः आजभोलि स्टेजमा मारुनी भन्दै जुन नृत्य प्रस्तुत गरिन्छ, ती वास्तविक मारुनी नभएर मारुनी लयमा आधारित गीत र मारुनीका झैं भेषभूषा बनाएर नचाइएका नृत्य मात्र हुन्। मारुनी नाचका निम्ति त २ वा ३ जना मारुनी, एकजना पुरुसुंगे, मादले, बढीमा २० जना गायकको समूह अर्थात् गर्रा हुनुपर्ने परम्परा छ।
मारुनीमा नृत्य प्रस्तुत गर्दा विधिपूर्वक गर्नुपर्छ। मारुनी यस्तो हुन्छ भनेर शिक्षा दिनु अलग कुरा हो तर एकपटक मारुनी बाँधेर फुकाएपछि, मारुनीका वस्त्र, लाखेले लगाउने मुकुण्डो मन्दिरमा लुकाएपछि विधि पूरा नगरी मारुनी नाच्नु हुँदैन। गुरु मादल बजेको सुनियो भने पनी अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ। बजारीकरणको युगमा संस्कृतिको पनि व्यापारीकरण भने हुँदै गइरहेछ। जुन गम्भीर र सोचनीय विषय हो।
मारुनी नाच्दा सर्वप्रथम पुरुषलाई चोलो, फरिया, पटुकी, टिकी, नातो, झुम्के बुलाकी आदि लगाएर सिँगारिन्छ। यसो गर्दा कम उमेरका केटाहरूलाई बढी प्राथमिकता दिइन्छ। मारुनी मादलेसँग घुमीघुमी नाच्ने काम गर्छ। मारुनीसँगै नाच्ने अर्काे पात्र पुरुसुंगे हुन्छ। उसले महिलाको कपडा लगाइनु आवश्यक छैन। तीनजना मादले एकजना मारुनी भएको अवस्थामा उसलाई मादलेसँग नचाइन्छ। उसले हाउभाउ, चाल र ताललाई मिलाउनुपर्ने हुन्छ। मारुनी गुरु परम्परामा आधारित नृत्य हो।
मारुनीलाई सही दिशा प्रदान गर्न गुरुको मुख्य भूमिका हुन्छ। गुरुलाई नृत्यको लय, ताल सबै जानकारी हुनुपर्छ। ऊ एकपटक गुरु भएपछि सधैंको गुरु हुन्छ। त्यसैले उसलाई मारुनीको सबै राग, रागिनी कण्ठस्थ हुनुपर्छ। मारुनीमा अर्काे महत्त्वपूर्ण भूमिका मादलेको हुन्छ। यिनीहरूको मुख्य काम भनेको कम्मरमा मादल भिरेर मारुनीसँग घुम्दै नाच्नु हो। मादल बजाउनेमा पनि एउटा छुट्टै एकजना गुरु मादले हुन्छ। जसले गीत अनुरूप मादलको ताल झिक्छ। अरू मादलेले त्यसलाई पछ्याउँछन्। उसले गीतको लय बिग्रिएमा मादल बजाएरै संकेत गर्छ।
त्यस्तै, मारुनी नाचमा अनेकौं हाउभाउले मनोरञ्जन दिने लाखे, झिल्के, ल्वाङे, ढँटुवारे, पाङ्दुरे आदि हुन्छन्। लाखेले विशेष किसिमको मुकुण्डो, बांगिएको लौरो टेक्दै, उटपट्याङ र उरन्ठेउला हाउभाउ प्रदर्शन गर्दै दर्शकलाई हँसाउने काम गर्छ। कतैकतै उसले दर्शकसँग पैसा मागेको पनि देख्न पाइन्छ तर उसलाई ज्यादा जिस्कायो भने देउता चढेर बहुलाउँछ भन्ने पनि आम मान्यता छ। मारुनी गीतमा प्रयोग हुने प्रमुख लोकबाजा मादल नै हो। गुरु मादल चाहिँ अलि ठूलो र बलियो हुन्छ। यसमा अर्काे प्रमुख बाजा खाँकर हो। यो पित्तल जस्तै धातुबाट बनेको हुन्छ।
पाउमा लगाउँदा घुँघरु झैं छमछम आवाज आउँछ। यसलाई मादले, मारुनी, पुरुसुंगेले पाउमा पहिरिएका हुन्छन्। त्यस्तै, मारुनी नाचमा अत्यावश्यक बाजामा मुजुरा र कर्ताल हो। मारुनीमा मुजुरा बजाउनेलाई मुजुरे, कर्ताल बजाउनेलाई कर्ताले भनिन्छ। तर कहीँकहीँ मारुनी नाच्दा बाँसुरी, हर्मोनियम बाजा पनि बजाइन्छ तर मूलबाजाको सामु अरू बाजा फिक्का हुन्छन्। गुरुले यी सबै चाँजोपाँजो मिलाइसकेपछि मारुनी गीत र नाचमा प्रवेश गरिन्छ। जुन स्थानमा मारुनी देखाइने हो, उक्त स्थानका मानिसले मारुनी टोलीलाई फूलमाला लगाएर स्वागत गर्छन्।
मारुनी नाचमा सोरठी, चुड्का, चरित, झ्याउरे, ख्याली, डाँडी, मझौटा आदि गरेर अनेकौं रागका गीत गाउने चरणहरू हुन्छन्। समला, झ्याउरे, मसले, पैसाझारे, ख्याम्टा आदि गरेर मारुनीका सयभन्दा बढी राग रागिनी हुन्छन्। मारुनी नाच सुरु गर्दा सर्वप्रथम मादलेहरूले विशेष तालको मादल बजाएर ठोकन राख्छन्। यसरी ठोकन राख्दा उनीहरूले पाँच मिनेट जति कहिले मन्द त कहिले तीव्रगतिमा मादल बजाउँछन्। ठोकन यति महत्वपूर्ण छ कि मारुनी ठोकन नै राखेर फुकाइन्छ। गीतको सुरूवातमा संगीतकी आराध्यदेवी सरस्वती माताको आराधना गरिन्छ। सरस्वती माताको स्तुति गाइन्छ : -
सरस्वतीलाई चढाउँ प्रभु बासमती फूल
बासमती फूल है है गजामती फूल
सोइ दिशा घुमिफिरी अलक जगाए मैले
सरस्वती माताज्यूको शरण तुम्हारो
शरण तुम्हारो आए रक्षे हमारो।
यसरी सरस्वती वन्दना गाउँदा, देवी बाँध्दा भने नाच्ने प्रचलन छैन। श्री गणेश, दियो, कलश, घरका चार सुरका देउता, आकाशका देउता, धर्तीका देवीदेवता आदिको पुकारा गरिन्छ। अरुण उपत्यकाको संकलनका यी गेडाहरू सुन्दा यही आभास हुन्छ : -
श्री गणेश चन्द्र सूर्य तारामण्डललाई
फूलै अक्षता चढाई जाउँला रक्षेमा हमारो
शरण है लेउ गुरु, वरण है लेउ गुरु
फूलै अक्षता चढाई जाउँला रक्षेमा हमारो
धर्ती है मातालाई, धर्ती है पितालाई
फूलै अक्षता चढाई जाउँला रक्षेमा हमारो
शरण है लेउ गुरु वरण है लेउ गुरु
फूलै अक्षता चढाई जाउँला रक्षेमा हमारो
यसरी देवीदेवता जुहारेपछि बन्धन बाँध्ने काम सुरु हुन्छ। बन्धन बाँध्दा देवीदेवता, मारुनी, मादले, लोकबाजा सबैलाई बाँधिन्छ भन्ने अरुण उपत्यकाको संकलनमा रहेका यी गेडाहरूले प्रस्ट पार्छ। ठेट लोकलवजमा प्रस्तुत गेडाहरूमा बाँधलीको
अर्थ बाँधौं भन्ने बुझाउँछ।
बाँधली हो सखी बाँधली हो
कुलै देव पितृदेव बाँधली हो
बाँधली हो सखी बाँधली हो
थानी देव इष्टैदेव बाँधली हो
तेत्तीस कोटी देवदेवी बाँधली हो
बाँधली हो सखी बाँधली हो
झ्याली झ्याम्टा मुजुरेलाई बाँधली हो
बाँधली हो सखी बाँधली हो
मादले र मारुनैलाई बाँधली हो
एवंरीतले मारुनी बन्धन बाँधिन्छ, जसलाई मारुनी बाँध्ने शशी पनि भनिन्छ। एकादश रुद्रको स्वरूपको प्रतीक रुद्राक्षको माला पहिरिँदै शशी बाँधिन्छ भन्ने नवीनकुमार खड्काको संकलनमा रहेका यी गेडाहरूले छर्लंग पार्छ : -
एकै र मुखे रुद्राक्ष माला हो
गला है भिरौंला सखी गला है भिरौंला
जन्तरै बाँधौला, मन्तरै बाँधौला
जुरावन्ती नारी हो सखी शरण।
यसै प्रकारले गीत दुईमुखे, पाँचमुखे आदि रुद्राक्षको चर्चा गर्दै अगाडि बढ्दै जान्छ। जति रुद्राक्ष प्रचलित छन्, त्यसमा गएर टुंगिन्छ। त्यस्तै मारुनी सिँगार्दा अर्काे बन्धन बाँध्ने गीत गाइन्छ : -
शिरै क्यारे पछ्यौरी त
ए राजै सृष्टिको थपनी
हाहै आङै क्यारे पछ्यौरी त
स्वामीकै जपनी
स्वामीकै जपनी लै लै स्वामीकै जपनी।
त्यस्तै लोकमा प्रचलित यी गेडाहरूमा सिँगारपटारका समानको पनि चर्चा भएको पाइन्छ : -
असनतोक पसनतोक पसलमा गएर
मारुनीको दुपट्टा सारी किनेर ल्याइदिउँला
शिरमा शिरबन्दी नयाँमा ल्याइदिउँला
हाई हाई नयाँमा ल्याइदिउँला।
मारुनीमा पौराणिक कथाका गीतहरू भने गाथाको रूपमा चर्चित छन्। पौराणिक कथाहरूमा पनि रामायण, महाभारत कृष्ण चरित्रका गाथाहरू गाउने अधिक प्रचलन रहेका छन्। शरद याममा दसैं–तिहार झैं पर्व पर्छन्। त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा विजयादशमी मनाइन्छ भने १४ वर्ष वनवास सकेर भगवान् राम माता सीता र भाइ लक्ष्मणसहित अयोध्या फर्किएको खुसीयालीमा अयोध्यावासीले दीपावली मनाएको भन्ने लोक किंवदन्ती छ। तिहारमा नरक चतुर्दशी र गोवद्र्धन पूजा पनि पर्छ।
- मारुनी एउटा महासागर हो, यसका कयौ भँगाला छन्। मारुनी झैं लोकगीत गाथा, नृत्यहरू हाम्रा परम्पराका संवाहक हुन्। यिनले हाम्रो सभ्यता, संस्कृति र संस्कारलाई जीवित राखेको छ। इतिहास र समाज चियाउन यस्ता गाथाहरूभित्र प्रवेश नगरी हुँदैन।
- मारुनीमा डाँडी गीत गाइन्छ। यसमा नाच्न, गाउन, बजाउन विशेष सीप चाहिन्छ। डाँडी गीत विरहिणी डाँडी, शिशुपाल डाँडी विभिन्न शाखामा विभाजित हुन्छन्। डाँडी गाएपछि झुमरी गाइन्छ। विशेषतः यस्ता गीत एउटै वाक्यलाई दोहोर्याएर, तेहेर्याएर गाइन्छ। डाँडी नगाई झुमरी गाउन मिल्दैन।
- मारुनी नाचमा सोरठी, चुड्का, चरित, झ्याउरे, ख्याली, डाँडी, मझौटा आदि गरेर अनेकौं रागका गीत गाउने चरणहरू हुन्छन्। समला, झ्याउरे, मसले, पैसाझारे, ख्याम्टा आदि गरेर मारुनीका सयभन्दा बढी राग रागिनी हुन्छन्। मारुनी नाच सुरु गर्दा सर्वप्रथम मादलेहरूले विशेष तालको मादल बजाएर ठोकन राख्छन्।
भगवान् कृष्णले भौंमासुर नामक नरकासुर राक्षसलाई वध गरेर हजारौं महिला र बालबालिकाको रक्षा गरेको खुसीयालीमा नरक चतुर्दशी र इन्द्रको क्रोध स्वरूप धर्तीमा बर्सिएको मुसलधारे वर्षा रोक्न गोवद्र्धन पर्वत उठाएको दिनको सम्झनामा गोवद्र्धन पूजा मनाइएको भन्ने कथा छ। असीम परमार्थ, पुरुषार्थले भरिएका राम, कृष्ण सनातन धर्मका आधार स्तम्भ पनि हुन्। यसैले पनि तिहार
प्रचलित मारुनी र सोरठी गाथामा रामायण र महाभारतका गाथा गाइन्छ। रामायणलाई आधार मानिएको यी गेडाहरूमा राम वनवासको सूचना पाएपछि राम र लक्ष्मणबीचको संवादलाई कलात्मक रूपले प्रस्तुत गरिएको छ : -
बाहिर बस्यो लक्षुमन, भित्र पस्यो राम
हेर दाजु रामचन्द्र देहलीको थाम
हेर भाइ लक्षुमन लेख्यो वनवास
त्यस्तै, अरुण उपत्यका सांस्कृतिक समूहद्वारा मारुनी नाच्दा गाइने पूर्वेली सोरठीमा पनि रामायणका पात्रहरूको चर्चा छ : -
पूर्वैमा दिशा हौ गड्याङ गुडुङ हो
ए हौ पश्चिमै दिशा परिमा गयो हौ
बिजुलीको बाण
लंकै जो मार है हौ हनुमान वीरले
पालंका जो मार हौ
हौ भाइ लक्षुमण।
रामायण झैं कृष्ण चरित्रका गाथाहरू पनि त्यत्तिकै आकर्षक र सुन्दर हुन्छन्। यसमा देवकी वसुदेवका विवाह, भगवान् कृष्णको जन्म, कंसासुरको वध आदि कथालाई लोकलवज र लयका साथ प्रस्तुत गरिन्छ। यी गेडाहरूमा भगवान् कृष्णका मातापिता वसुदेव र देवकीको विवाह हुँदाको प्रसंगलाई यसरी प्रस्तुत गरिएको छ। गीतको आरम्भ गर्दा ‘नचरी लैजाउ हरिजीको दुवारैमा’ भन्दै हा हाको राग अलापिन्छ। ठेट लोक लवजमा प्रस्तुत गेडाहरूमा ऋषिलाई रिखी भनेर सम्बोधन गरिएको छ भने पूर्वलाई पुरव भनेर भनिएको छ। खस र गोर्खा मिश्रित भाषामा तिम्रोलाई तुम्हारो भनिएको छ : -
हा हा किन आयो रिखी, किन आयो रिखी
तुम्हारै घरमा किन आयो रिखी
हा हा पुरवै दिशाका सोह्रमा रिखी
देवकीको चेली हेरुँन आयो
हा हा कामधेनु गाईको रूपै गरी
बरु हेरन पो आयो।
मारुनीमा डाँडी गीत गाइन्छ। यसमा नाच्न, गाउन, बजाउन विशेष सीप चाहिन्छ। डाँडी गीत विरहिणी डाँडी, शिशुपाल डाँडी विभिन्न शाखामा विभाजित हुन्छन्। डाँडी गाएपछि झुमरी गाइन्छ। विशेषतः
यस्ता गीत एउटै वाक्यलाई दोहोर्याएर, तेहेर्याएर गाइन्छ। डाँडी नगाई झुमरी गाउन मिल्दैन। मारुनी नृत्यको विशेष आकर्षण भनेको समला र ख्याली नृत्य हो। ख्याली र समला मारुनीले हातमा थाली लिएर नाचेको पाइन्छ। ख्यालीबारे कुनै इतिहास वा वंशावलीमा उल्लेख छैन। यो मौखिक रूपमा लोकपरम्पराबाटै पुस्तान्तरण हुँदै आएको पाइन्छ। ख्यालीहरू पनि दग्गा ख्याली, रामायण ख्याली, शृंगार ख्याली, रामायण ख्याली, विरहिणी ख्याली विभिन्न प्रकारका हुन्छन्। नवीनकुमार खड्का र साथीहरूको स्वरमा रहेको ख्यालीको गेडा यसप्रकार छ : -
आकाशैमा हेरिरहुँ हो झिलिमिली नि तारा
धरतीमा परी गयो रात
रण जिती आउनु स्वामी हंसी मुख
मारौंला बात
सुरुमा आ... हा हा... को थेगोमा लेग्रो तानेर लस्काएर गाइने यस्ता गीतमा बीचबीचमा समूहले भुइँ भुइँ छोडका कोरस स्वर निकाल्छन् : -
छतिवन काठहकी मादलु है मेरी सपनीमा ब्युँझाइदिने
किन रोयौ न्याली चरी बिर्से माया सम्झाइदिने
हमारी मामैजैको वायुपंखी घोडा मेरा लेखी
बिजुलीको वाण
के को महाराजै हो हवेलीमा पर्यो घमासान।
यसका तालहरू भने आठ मात्राको हुन्छ। यसमा गाइने गीतमा कथनसँगै ख्याल ठट्टा पनि हुनेगर्छ। सायद, त्यसैले पनि यसलाई ख्याली भनिएको हो भन्ने अनुमान गरिन्छ। मारुनीमा अत्यधिक प्रचलित ताल समला ताल हो। समलाबिनाको मारुनी नुनबिनाको अचार जस्तै हुन्छ। तिहारको देउसी होस् या सांस्कृतिक कार्यक्रमहरू, प्रायः यही तालको गीतमा नृत्य गरेको पाइन्छ। यसका ख्याली, गर्रा, विरहणी गरेर चौध राग रागिनी हुन्छ। प्रायः समला शृंगार रसले ओतप्रोत हुन्छ। यसको ताल तबलाको कडवा तालसँग मिल्दोजुल्दो हुन्छ। प्रायः मारुनी नाच्दा मारुनीलाई नै समला भनेर सम्बोधन गरेको पाइन्छ। यसमा पनि अक्सर हातमा थाली लिएर नै नाचेको पाइन्छ। अरुण उपत्यकाको संकलनमा रहेको यी गेडाले यही भाव दर्शाउँछ : -
आगो पार्ने दर्शन ढुंगा, रक्सी पार्ने पैनी नि
मलाई पनि फकाइदेऊ न दिदी समलाकी बहिनी नि
खोला वारि खोला पारि बनकेराको घारी नि
केलाई भनी साँच्यांै नानी जोबनको भारी नि।
त्यस्तै, मारुनी गीतमा नै विशेष पहिचान बनाएकी हीरादेवी वाइबाको स्वरमा रहेको यी गीतका गेडाले पनि यही आशय व्यक्त गर्छ : -
राम्री त राम्री कति सारो राम्री गोरी समला
मार्यौ नि नानी अखियाको गाजलुले।
उनको समला तालका गेडाहरू आज पनि जनजिब्रोमा झुन्डिएका छन् : -
धनकुटाको डाँडै डाँडा चली गयो हुलाकी
सासूलाई जाबी सालोलाई जाबी
सालिमाज्यूलाई झुम्के बुलाकी।
यही गेडा लोकमा भने यसरी भिजेको थियो, जसलाई हालै अरुण उपत्यकाले स्वर भरेको छ
धनकुटाको डाँडैडाँडा चली गयो हुलाकी
मान्छे हेर्दा पुतली जस्ती लाइदिउँ कि झुम्के बुलाकी
समलाका अरू लोकमा यसरी भिजेको पाइन्छ।
टुकुर टुकुर हिँड्ने छोरो बिर्के टोपी शिरैमा
ए मेरी सासू, नबगाउन आँसु किन बस्छ्यौ
पिरै पिरैमा।
छम छम मारुनी हो घिन्ताङ घिन्ताङ मादलु
मादलुको स्वरै मीठो मारुनीको आँखै गाजलु।
कुनै समलाको अन्त्यमा भने च्याट्टै, ठ्याक्कै जस्ता थेगो प्रयोग गरेको पाइन्छ। हीरादेवी वाइबाको स्वरमा रहेको पुरानो समला गीतका केही गेडाहरू
लाहुरे दाइ छाडेर नजाउँ च्याट्टै
बाटो र मुनि बाटो र माथि लाहुरे दाइ
फूल फुल्यो चुहाको च्याट्टै
हजुरले लाको दौरा र सुरुवाल लाहुरे दाइ
के विधि सुहाको च्याट्टै !
यस प्रकारले मारुनी गीत, गाथा र नृत्यहरू अगाडि बढ्दै जान्छ र चरम उत्कर्षमा पुग्छ। अन्त्यमा, फुकाउने र आशिष दिने गीत गाउँदै विधिवत् रूपमा मारुनी विसर्जन हुन्छ। मारुनी फुकाउँदा यस्ता गीत गाइन्छ। लोकमा प्रचलित भाषामा लोकद्वारा रचित गेडाहरूमा मर्दलाई मरिद भनिएको छ : -
हिजो थियौ जनन, आज मरिद
आङको चोली खोलेर राख
हिजो थियौ जनन, आज मरिद
फुकाउने गीत गाएपछि आशिष दिने गीत गाइन्छ। अरुण उपत्यकाको संकलनमा रहेका यी गेडाहरूमा यसरी आशिष दिएको पाइन्छ : -
दिउँन वरदान लै लै दिउँन वरदान
कृष्णजी दाता, सरस्वती माता दिउँन वरदान
धन नहुनेलाई धनको वर, जन नहुनेलाई जनको वर
कृष्णजी दाता सरस्वती माता दिउँन वरदान।
आशिष दिएर फूलपाती दिँदै यस्ता गीत गाइन्छ : -
भीमा रानीले हिँडेको बाटो
ठाउँठाउँमा पानीको पोखरी ठाउँठाउँमा
भीमा रानीले हिँडेको बाटो
ठाउँठाउँमा दूधको पोखरी ठाउँठाउँमा
भीमा रानीको काखै उज्यालो, कोखै उज्यालो
श्याम सुन्दर बालालाई, पुरवै पश्चिम
उत्तर दक्षिण चारै दिशा देखाइदेऊ।
मारुनी एउटा महासागर हो, यसका कयौ भँगाला छन्। छोटो लेखका यसका सबै पाटामाथि प्रकाश पार्नु कठिन छ। मारुनी झैं लोकगीत गाथा, नृत्यहरू हाम्रा परम्पराका संवाहक हुन्। यसले हाम्रो सभ्यता, संस्कृति र संस्कारलाई जीवित राखेको छ। चाहे हामीले विज्ञानमा जति प्रगति हासिल गरौं, चन्द्रमा नै किन नपुगौं तर इतिहास र समाज चियाउन यस्ता गाथाहरूभित्र प्रवेश नगरी हुँदैन। यी गाथाभित्र प्रकृतिको सुन्दरताको साथै महत्त्वको पनि वर्णन गरिएको हुन्छ। यस्ता लोकसाहित्यले मानिसलाई प्रकृति र पर्यावरणप्रति सचेत रहँदै त्यसको रक्षा गर्न पनि सिकाउँछ।
गीत, गाथा र नृत्यको उद्देश्य भनेको मनोरञ्जनमात्र होइन। यसका माध्यमबाट अनुभवको आदानप्रदान, मानवताको शिक्षा, सत्कर्मको महत्त्व अनुचित कार्यबाट दूर रहने शिक्षा पनि प्रदान गरिएको हुन्छ। यी गाथाहरू लोकका धड्कन हुन्। संस्कृतिका धरोहर हुन्। मारुनीमा गुरुको प्रधानता हुन्छ तर आजभोलि पुस्तान्तरण हुन नसकेर गुरुको निधनसँगै लोप हुने दिशातर्फ उन्मुख भइरहेछ।
सर्वप्रथम मारुनीजस्ता गाथाहरू जीवित रहन पुस्तान्तरण हुनु जरुरी छ। सनातन धर्मका देवीदेवतालाई नजुहारी यो गाथा अगाडि बढ्नै सक्दैन। यस्ता गाथा जोगाउनलाई धर्मान्तरणलाई रोकेर वैदिक सनातन धर्मलाई जोगाउनु पर्छ। अन्त्यमा, अरुण उपत्यकाको संकलनमा रहेको यी गेडासँगै बिट मार्दछु :
सुकी जालिन् गंगाजी, सुकी जालिन् यमुना
सुकी जाला सातै समुद्र, सुक्दैन माया जुनीभर...।