श्राद्ध के हो ? किन गरिन्छ ?
धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबिस पक्ष हुन्छन्। चौबिस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष (बोलीचालीको भाषामा सोह्रश्राद्ध तथा पार्वण श्राद्ध) भनिन्छ। दिवंगत सबै पितृको कल्याण उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्रश्राद्ध हो।
एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले पनि सोह्रश्राद्ध भनिएको हो। यसपालिकोे पितृपक्ष सोह्रश्राद्ध असोज २ गते सुरु भई १६ गते समापन हुँदैछ ।
फलतः दिवंगत सबै पितृको कल्याण उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्रश्राद्ध हो। सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व मनाइन्छ। यस बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतघ्न हुन् भनेर श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ। यस श्राद्धमा चारजना ब्राह्मण चाहिने भएकाले ब्राह्मणको प्रतीकस्वरूप कुशको ब्राह्मण थापिएको हो। पार्वण श्राद्ध गर्दा विगतमा चारजनै ब्राह्मण राखेर पूजा गर्ने परम्परा थियो। श्राद्ध गर्दा दुवैपट्टि राखिने दुई÷दुई ब्राह्मणलाई क्रमशः विश्रदेव र पितृब्राह्मण भनिन्छ। तसर्थ पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिएपछि सुरु हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ।
ब्राह्मण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिन्छ। त्यसपछि चारै ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकटदान गरी पिण्डदानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन बनाई पितृको नाम लिइन्छ। श्राद्धका लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर गर्नु उत्तम हुन्छ। नभए पवित्र तीर्थस्थल, गंगाको तीरमा गएर पनि गर्ने चलन छ। घरमै भए भूमिमै गर्नुपर्ने नियम छ त्यो पनि अपराह्नमा।
महालय श्राद्ध के हो ? किन गरिन्छ ? यो श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुरामा विस्तृत अध्ययन गर्न नसके पनि सामान्य मानिसले जानकारी लिई व्यवहारमा उतार्न भने सक्छ। सामान्यतः महालय श्राद्ध भनेको आफ्नो गच्छेअनुसार श्रद्धाका साथ गरिने कार्य भन्ने बुझिन्छ। यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन। पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ। देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राह्मणहरूलाई जो दान दिइन्छ, त्यो दानलाई महालय श्राद्ध भनिन्छ। यसबारे के प्रस्ट हुन्छ भने पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो। यसमा पनि श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ। यसमा शुद्ध मन्त्र उच्चारणसहित श्राद्ध गर्नुपर्छ भनिएको छ। ‘पितृहरूलाई शुद्ध मन्त्र शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ’ भनिएको छ। श्राद्धकल्पका अनुसार पनि प्रेत र पितृलाई आफूलाई मनपर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो।
हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन्। तथापि भविष्य पुराणमा भने श्राद्ध १२ वटा भएको उल्लेख छ। यसमा भन्ने हो भने आश्विन कृष्णपक्ष पूरै १५ दिनको पितृपक्ष हो। त्यसैले यसलाई सोह्र श्राद्ध भनिन्छ। सोह्रश्राद्ध सुरु हुनुअघिको दिन पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा १६ दिन भने यसमा पूरा हुन्न। जुन चतुर्दशीका दिन शस्त्रास्त्रले हताहत भई मरेकाका लागि मात्र गरिन्छ। सामान्यः दिनहरूमा यो लगभग १३.१४ दिनको हुन्छ। एकदिन मघायुक्त तिथि पर्नाले छोराहरू हुनेले पितृपक्ष भए पनि त्यो दिन पिण्डदान गर्दैनन्। जुन मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानि हुन पुग्छ।
यसपालि मघा द्वादशीका दिन परेको छ, असोज १३ गते आइतबार। यसमा छोरा हुनेले मघातिथिको साटो अन्यतिथि खोजी सोह्रश्राद्ध गर्छन् वा औंसी, एकादशीमा गर्छन् वा सिदा तर्पणबाटै बिसर्जन गर्छन् पितृलाई। यस्तै, अर्को पाँच प्रकारको श्रद्धा रहेको छ। यो श्रद्धा भने आजकल धेरै प्रचलनमा छ। यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौं पार्वण श्रद्धा हो।
एकोदिष्ट श्राद्ध जुन पितृहरूलाई वार्षिक रूपमा मृततिथिमा गरिन्छ, लाई भनिन्छ। यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ। वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ, यो खासगरी सोह्रश्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझ्नुपर्छ। जसलाई पार्वण श्राद्धको नामले बुझिन्छ। आफ्ना पितृहरूको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ। औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ।
अन्त्यमा, हिन्दू समाजमा सोह्रश्राद्धको आफ्नै महत्त्व छ। मूलतः श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उदार गर्ने कार्य हो। यसरी, दिवंगत पितृहरूले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देह धारण गरेका हुन्छन्। तत् योनीका खानास्वरूप आआफ्ना दिवंगत पितृहरू तृप्त हुन्छन्। यसर्थ देवत्व प्राप्त गरेका पितृहरूले पनि सन्ततिबाट केही आशा गरेका हुन्छन् भनिन्छ। हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दसैं–तिहार हो। त्यसैले यी पर्व मनाउनुभन्दा पहिले आ-आफ्ना पितृलाई आदरसाथ श्रद्धापूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ भनिएको छ।
यसकारण परापूर्वकालदेखि नै यो संस्कार चलिआएको पाइन्छ। यसरी पितृपक्षमा बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ। सकिन्छ भने सोह्र दिनसम्म गच्छेअनुसारको विधान गर्नुपर्ने हुन्छ तर सकिँदैन भने कम्तीमा पनि बुबाको तिथिका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्छ। श्राद्ध गर्ने अघिल्लो दिन कपाल खौरने, लुगा तथा घरको सरसफाइ गर्ने, एक भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने गरिन्छ। यसै दिनलाई एकछाके अर्थात् हबिसे पनि भनिन्छ। एकछाके भनेको यस दिन अपराह्नपछि मात्र एक छाक खानुपर्छ। श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्मणलाई निमन्त्रण दिनुपर्छ।
दोस्रो दिन शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ। श्राद्धपछि ब्राह्मण, बन्धुवान्धव, भान्जाभान्जी र छोरीज्वाइँलाई खाना ख्याएपश्चात् दानदक्षिणा गरिन्छ। यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ। तर तिथि बिर्सर्ने र यो क्रम तोडिनु चाहिँ कदापि हुँदैन। यसर्थ, हाम्रो सनातन धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य पनि हो।