![आपतमा परेका नागरिकलाई गाउँपालिकाको मलम : नि:शुल्क बस सेवाबाट गाउँ ल्याउँदै आँबुखैरेनी](https://annapurnapost.prixacdn.net/media/albums/Anbu-khaireni_eYsXmrrJz1_3eNQjudw6Z.jpg)
बसले काठमाडौँको सामाखुसीदेखि पालिका भवनसम्म नि:शुल्क सेवा दिनेछ
गोरखा : दशैँका बेला काठमाडौँबाट घर फर्कने क्रममा सवारी साधन नपाएर हैरानी खेपिरहेका आफ्ना नागरिकहरूका लागि आँबुखैरेनी गाउँपालिकाले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । चाडबाडका बेला घर फर्कन चाहने पालिकाबासीहरूका लागि शनिबारदेखि नि:शुल्क बस सेवा सञ्चालन गरेको पालिकाले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिका स्थायी घर भइ रोजगारी एवं पढाइको सिलसिलामा काठमाडौं बसोबास गर्दै आएका आफ्ना नागरिहरूका लागि नि:शुल्क बस सेवा सञ्चालन गरिएको आँबुखैरेनी गाउँपालिका वडा नं–३ का वडाअध्यक्ष दिनेश केसीले बताए । पालिकाको आर्थिक सहयोग तथा आँबुखैरेनी समाज काठमाडौंको समन्वयमा बस सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
काठमाडौंमा गाडी नपाएर तथा महंगो भाडाको मारमा परेका यात्रुलाई गाउँपालिकाले बसको व्यवस्था मिलाउँदा धेरै राहत महशुस स्थानीयले बताएका छन्। ‘पालिकाले आँबुखैरेनी समाजका अध्यक्ष, सचिव र कोषाध्यक्षको नम्बर आफ्नो वेबसाइटमा राखिदिएको छ ।
काठमाडौं बसोबास गर्दै आएका पालिकाबासीहरूले वेबसाइटमार्फत उहाँहरूलाई वा पालिकामा सम्पर्क गरेर नि:शुल्क बस सेवा प्राप्त गर्न सक्नुहुन्छ’, उनले भने,‘नि:शुल्क बस सेवा अब दुई दिन (असोज २२ र २३) गतेसम्म मात्र सञ्चालन हुनेछ। बसले काठमाडौँको सामाखुसीदेखि पालिका भवनसम्म नि:शुल्क सेवा दिनेछ ।’
नि:शुल्क बस सेवाको पहिलो दिन शनिबार ४३ जना पालिकाबासीहरूले सेवा लिएको उनले बताए। ‘पहिलो दिन ८० प्रतिशत विद्यार्थीहरू थिए,अन्य रोजगारीका लागि काठमाडौं बसेकाहरूले पनि सम्पर्क गरिरहेको भन्ने सुनेको छु,'उनले भने ।
नि:शुल्क बस सेवा कार्यक्रमका लागि करिब १ लाख खर्च हुने अनुमान पालिकाको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)