सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दाङ : सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।
कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र वर्ष १५ की सिर्जना बस्नेत छन्। कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको बाटोमा मृत्यु भएको हो।
त्यस्तै घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सिर्जना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारका लागि कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको बताए। घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको उनको भनाइ।
दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो। साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिए पनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !