स्थानीय विवादले पर्यटन विकासमा बाधा, गाँठो फुकाउँदै प्रदेश सरकार

स्थानीय विवादले पर्यटन विकासमा बाधा, गाँठो फुकाउँदै प्रदेश सरकार
सुन्नुहोस्

दाङ : दाङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको बाह्रकुने दहको विकास गर्नका लागि ४ वर्षअघि लुम्बिनी प्रदेश सरकारले ६ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गर्‍यो। 

दहमा रहेको ताललाई ठूलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयहरूको असहमतिका कारण लक्षित काम हुन सकेन। तर दुई वर्षसम्म काम सम्पन्न गर्ने गरी चयन भएको योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद भने थप भइरहेको छ।

बाह्रकुने दहमा पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चार वर्षअघि छनौटमा रहेको योजनालाई निरन्तरता दिन वर्तमान प्रदेश सरकारले चासो राखेको छ। यहाँ निर्माण हुने भनिएका संरचनाहरूको निर्माणमा भइरहेको ढिलाइ बारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिँचाइ मन्त्री सीता चौधरीले जानकारी लिन स्थलगत अनुगमन समेत गरेका छन्।

मंगलबार दह परिसरको स्थलगत अनुगमन गर्दै विवाद नहुने ढंगबाट काम गर्न उनीहरूले सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। ‘प्रदेश सरकारबाट छनौटमा परेको यो योजनाको काम स्थानीयहरूको विमतिका कारण ढिलाई बन्दै आएको अवस्था रहेछ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेले भने ‘जिल्लामा पर्यटकहरू भित्र्याउन सकिने बाह्रकुने दहको विकासका लागि कसरी काम गर्न सकिन्छ ? कसरी चार वर्षअघि बनेको योजना अनुसार काम गर्न सकिन्छ ? भन्ने विषयमा छलफलका लागि मुख्यमन्त्री ज्यूलाई समेत स्थलगत अनुगमन गराएर समस्याको निकासका लागि पहल गरेका हौँ, स्थलगत अध्ययन र छलफलबाट यो कामलाई गति दिने र यो वर्ष भित्रै योजना निर्माणको काम सम्पन्न गर्ने सहमति भएको छ।’

मन्त्री न्यौपानेका अनुसार चार वर्षअघि बनेको योजना अनुसार दह परिसरमा तालको आकार फैलाउने भन्ने थियो। तर दहको आकार बदलिँदा बाह्रकुनेको ऐतिहासिक महत्व नासिने भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। यही विरोधका कारण चार वर्ष अघिको डीपीआर अनुसार काम नहुने भएकाले काममा विलम्ब हुँदै आएको थियो। तर वर्तमान सरकारले दह परिसरमा रहेको तालको आकार नफेरिने गरी बाँकी कामहरू गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। त्यसका लागि कानुनी बाटो सहज बनाउने काम सरकारले गर्ने भएको छ। ‘यहाँ स्थानीय स्तरमा विवाद नहुने गरी तपाईंहरूले काम अगाडि बढाउनुस्,’ मुख्यमन्त्री आचार्यले भने ‘काम गर्दा आइपर्ने कानुनी जटिलतालाई सरकारले फुकुवा गर्छ।’ प्रदेशको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन रहेकाले पर्यटन क्षेत्रको विकासमा कसैले पनि विलम्ब गर्न नहुने उनको भनाई थियो।

निर्माण पक्षले पनि दह परिसरको विकासका लागि बनेको गुरुयोजना अन्तर्गत यसै वर्ष भित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री न्यौपानेका अनुसार अब यो पर्यटकीय स्थलमा पार्क, मन्दिरसँगै ड्याम निर्माणको काम हुने छ। डुंगा सञ्चालन गर्ने गरी ड्याम निर्माण हुने छ भने जंगली जनावर अवलोकन गर्न सकिने गरी पार्क निर्माणको काम यसै वर्ष सम्पन्न गरिने छ।

घोराही १३ मा रहेको बाह्रकुने दह दाङको प्रमुख धार्मिक गन्तव्य मध्यको एक हो। जिल्लाको प्रमुख पिकनिक थलोसँगै धार्मिक महत्व बोकेको यो स्थलमा आन्तरिक पर्यटकहरूको भिड रहने गर्दछ। यहाँ माघमा ठूलो मेला समेत लाग्ने गर्दछ। आन्तरिकसँगै बाह्य पर्यटकलाई समेत भित्र्याउन सकिने गरी यो दह क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना बनाएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.