सरकारी घनचक्करमा हारेको विजय

भुइँमान्छे

सरकारी घनचक्करमा हारेको विजय

जन्मभूमि । जो–कोहीलाई प्यारो हुन्छ । ‘देश छाडेर परदेश जाने रहर कसको छ र ?’ ‘अवश्य पनि कसैको हुन्न ।’ जे गराउँछ, बाध्यताले गराउँछ । र त भीमकाय जहाजहरू भरिभराउ युवा लिएर विदेश उडिरहेको छन्, सुईय, सुईय...! परिवारलाई छाडेर विदेश हानिनुको मुख्य कारण हो, गरिबी । कोही मलेसिया त कोही साउदी अरब उडिरहेका छन् । उनीहरूको साझा लक्ष्य र उद्देश्य छ, धन कमाएर गरिबीलाई जित्ने । जसका निम्ति लाखौं युवा ४५ डिग्री तापक्रममा पनि बिरानो भूमिमा पसिना चुहाइरहेका छन् ।

तिनै श्रमिक परिवारजनको घरको मियो भाच्चिँदा कस्तो बिल्लीबाठ हुन्छ ? व्यक्त गर्ने शब्द नै हुँदैन । भोग्नेलाई मात्रै थाहा होला, पीडामय जीवन । महोत्तरीको भंगाहा नगरपालिका–४, थारूटोल बनराका ४६ वर्षीय विजयकुमार महतो यस्तै पीडासँग झन्डै १६ महिनादेखि संघर्ष गर्दै आएका छन् । वैदेशिक रोजगारीका क्रममा पाँचौं तलाबाट खस्दा उनी बेहोस भए । जो अझै बेहोसी जीवन बाँचिरहेछन् । पीडाको पहाड उक्लिरहेछन् । 

विजय थला पर्दा परिवारजनको टेक्ने धरती भासिएको छ, समाउने लठ्ठी भाँचिएको छ । उपचार खर्च अभावले विजय जीवन–मरणको दोसाँधमा छटपटाइरहेछन् । अर्कोतर्फ, उपचार खर्चले गरिबीको दलदलमा फसेका छन् उनको परिवारजन । अब कसैले ऋण, अइचोपैंचो नै पत्याउँदैन । तिर्न सक्ने अवस्था नरहेपछि पत्याउने कसले ? एक किसिमले उनको परिवार झन्डै सडकमा आइपुगेको छ । ऋण, अभाव र पीडाले विजयको जिन्दगी चिमोटिइरहन्छ रातदिन । पाँच वर्षअघि विजय साउदी अरब उडेका थिए । रियाद किङडम फर टे«निङ एन्ड कन्ट्र्याक्टिङ एलएलसी कम्पनीमा काम गर्न । उनी क्रेन चालक भएर परदेशमा पसिना बगाउँदै थिए । विजय विदेश जानुको एउटै उद्देश्य थियो, टन्न धन कमाउने अनि गरिबीलाई तह लगाउने । तर, भइदियो ठीक उल्टो । उनले न कमाउन सके, न त जिन्दगी नै खुसी भयो ।

२०७६ माघ ८ गते प्लेनको सिँढी चढेर उनी उडे । २०८१ जेठ २० गते उनी एयरहोस्टेजको सहारामा बेहोसी अवस्थामा ह्विलचेयरमा स्वदेश फर्किए । कामको सिलसिलामा विजय अचानक पाँच तल्लाबाट खसेका थिए । टाउको फुट्यो । होस गुम्यो । शरीरसँगै सारा सपना चकनाचुर भए । विदेशमा पनि उपचार भयो । ‘घरैमै राखेर उपचार गर्नू’ भन्दै कम्पनीले जहाज चढाएर जेठमा फर्काइदियो । परिवारजनले देशको जेठो अस्पताल वीरमा पुर्‍यायो । विजयलाई फिजियोथेरापी गराउनुपर्ने र सोका लागि अन्यत्र लैजानुपर्ने भयो । अन्त लैजाँदा महिनाको डेढ लाख खर्च लाग्ने भयो । तिर्न सक्ने कुरै भएन । किनभने विजय नै परिवारको एकमात्र टेको थिए । परिवारले जनकपुर अस्पताल लग्यो । जहाँ ६ महिना राखियो । यसबीच उनले कमाएको ८ लाख ७० हजार खर्च भयो । वैदेशिक रोजगारको सिलसिलामा अंगभंग वा दुर्घटना परेर घाइते भए सरकारले पीडितलाई ७ लाखसम्म उपचार खर्च दिन्छ । कात्तिक ८ गतेदेखि १० लाख दिने नियम बनाएको छ । घाइतेको अवस्था हेरेर उपचार खर्च दिन्छन् । उपचार सुविधा पाउन पीडित परिवारले साउन २७ गते भंगाहा नगरपालिकाको रोजगार शाखाबाट सबै प्रक्रिया पूरा गर्‍यो । वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा पत्र पठायो । असोज १३ गते बोर्डमा निवेदन दर्ता भयो । ‘उपचार खर्च आउला, आउला’ भन्दै बोर्डको फोन कुर्‍यौं तर आएन’, विजयका काका शिवकुमारले पीडा सुनाए ।

खर्च पाउन पनि झमेलै झमेला छ । बोर्डका कर्मचारीका अनुसार सबै कागजपत्र स्थानीय तहबाट आएकै छैन । पालिकाका रोजगार संयोजक भने ‘पठाइसकेको’ बताउँछन् । यस्तै घनचक्करमा विजयको उपचार प्रभावित भइरहेछ । पुरानो अस्पतालको रिपोर्टले नहुने बोर्डले जवाफ दिँदा पीडित परिवार कागजात जुटाउन भौतारिरहेको छ । ‘उपचार खर्च अभाव भयो’ भनेर काका शिवकुमार हारगुहार गरिरहेका छन् ।

विजयको टिनले छाएको घर । खाटमा पल्टिरहेका थिए उनी अनि पीडाले छटपटाइरहेका पनि । पेट र घाँटमा नली लगाइएको छ । घाँटीमा इन्फेक्सन भएर घाउ भएको छ । तर, उपचार खर्च जुटाउन नसकेर अस्पताल लान सक्ने अवस्था रहेनछ । अति समस्या र पीडाले सायद विजय मुखबाट औषधि खानसमेत सक्दैनन् । घाइते श्रीमान्लाई धर्ती टेकाउन सोनादेवी महतो हरसम्भव प्रयास गरिरहेकी छन् । तर, सहयोग र साथ कतैबाट नपाउँदा उनको मन रोइरहको छ रातोदिन । ‘ श्रीमान्लाई उपचार खर्च जुटाइदिनुस् । उहाँ निको भए हाम्रो संसारै उज्यालो हुन्छ’, सोनादेवीले घर आउने र भेटिने सबैसँग हात जोड्दै भनिरहन्छिन्, ‘विदेशमा कमाएको  उपचारमै सकियो । अब एक सुको नि छैन । कसरी उपचार गराउने ? ’ महोत्तरी र धनुषा देशमै नम्बर १ छ, युवालाई वैदेशिक रोजगारीमा पठाउनेमा । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वर्षमा आठ सयभन्दा बढी श्रमिक रोजगारको क्रममा अंगभंग र घाइते हुन्छन् । वर्षमा सयौंको मृत्यु हुन्छ । यसले श्रमिकहरूको पीडादायी अवस्थालाई प्रस्टै चित्रण गर्छ । तर, सरकार र यहाँ नेताहरूलाई यो दृश्यले मन पोल्दैन । श्रमिकको अंगभंग, दुर्घटना र बिरामी अनि निधन हुँदा उनीहरूको जीवनैमात्रै संकटमा पर्दैन । परिवारजनकै बिचल्ली हुन्छ । भंगाहाका विजय त एउटा उदाहरण मात्रै हुन् ।

विदेशमा दुर्घटना हुँदा खबर सजिलै कहाँ प्राप्त हुन्छ र ? सजिलो पनि छ, लुकाउन खोजे लुक्छ पनि केही समय । तर यत्रो ठूलो घटना लुकाएर पनि कसरी लुक्छ र ? नियमित सम्पर्क भइरहे पनि केही दिनदेखि सम्पर्क भएन परिवारको विजयसँग । धेरैतिर फोन हानेपछि साँझ परिवारजनले विजय दुर्घटना परेको खबर प्राप्त गरे । सोनादेवीले विगत सुनाइन्, ‘कतिले विजय सधैंका लागि बिदा लिइसक्यो सम्म भने । तर, पछि लडेर होस गुमेको अनि प्राण बाँकी रहेको सुनाए । अलि मन शान्त भयो ।’

रुँदै सोनादेवी दुःखको व्यथा पोख्छिन्, ‘पाँच तलाको छत ढलान हुँदै थियो । कंक्रिट मेसिन जाम भयो । माथि उनी के पुगेका थिए । ओखलढुंगाका साथीले दोखाले रिमोट थिचिदिए । मेसिनको भाइब्रेसनले विजय स्वाठ्ठै पाँच तलाबाट भुइँमा पछारिए । मृत्यु भयो भनेर २४ घण्टासम्म अस्पताल नै लगिएन छ । पछि साउदी अरबकै अस्पतालमा उपचार भयो ।  जेठमा नेपाल नै पठाइदियो ।’
अहिले उपचार खर्च जुटाउन नसकेपछि विजयको जीवनघर न घाटको बन्दो छ । विजय नेपाल आएको ६ महिना भयो । न कम्पनीले क्षतिपूर्ति दियो, न त वैदेशिक रोजगार बोर्डबाट उनले उपचार खर्च पाएका छन् । एउटा भुइँमान्छेलाई सरकारका निकायहरूले पीडामाथि पीडा दिइरहेका छन् । एक प्रकारले विजयको घाउमा प्रक्रियाको बहानामा नुनचुक लगाइरहेका छन् । के सरकार यसकै लागि हो ? युवाको पसिनाबाट भित्रिएको रेमिट्यान्सबाट देशमात्रै चलाउने कि विजयजस्ता पीडितको पीडामा मलहमपट्टी पनि लगाउने सरकार ? 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.