भारतको छत्तीसगढमा मुठभेड, १० जनाको मृत्यु
नयाँ दिल्ली : भारतको छत्तीसगढको नक्सलवादी प्रभावित सुक्मा जिल्लामा भएको भिडन्तमा १० नक्साली मारिएको भारतीय प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार उक्त स्थानमा मुठभेड अझै जारी छ ।
प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै घटनास्थलबाट ठूलो परिमाणमा हतियार पनि बरामद गरेको जनाएको छ ।
बस्तरका आईजी पुलिस सुन्दरराज पीले भने, 'सुकमा जिल्लाको कोन्टा र किस्टाराम क्षेत्रमा नक्सालीहरु भएको सूचनाको आधारमा जिल्ला रिजर्व गार्ड र सीआरपीएफ जवानहरूको संयुक्त टोली पठाइएको थियो। उक्त क्षेत्रको कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदारको जंगल पहाडमा उनीहरुसँग भिडन्त भएको थियो।'
प्रहरीका अनुसार हालसम्म १० शंकास्पद माओवादीको शव फेला परेको छ । यसका साथै घटनास्थलबाट इन्सास राइफल, एके-४७, एसएलआर लगायतका धेरै हतियार बरामद भएको बीबीसी समाचारमा उल्लेख छ । खोजी अभियान अझै जारी रहेको जनाइएको छ।
छत्तीसगढमा यस वर्षको जनवरीदेखि प्रहरीले भिडन्तका विभिन्न घटनामा दुई सयभन्दा बढी नक्सलवादी मारेको दाबी गरेको छ ।